मन्त्रीको स्वीच थिच्ने रहरले तामाकोसीको परीक्षण ४ दिन ढिला, कांग्रेसले गर्यो विरोध

 आवाज संवाददाता     १६ बैशाख २०७८, बिहीबार

रवीन्द्र गौतम । दोलखा

बैशाख १६, दोलखा । सरकारका मन्त्रीलाई स्वीच थिच्ने रहरले गर्दा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँधबाट डिस्याण्डरमा पानी पठाउने कार्य ४ दिन ढिला हुन पुगेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङलाई स्वीच थिच्ने रहले बाँधबाट डिस्याण्डर बेसिनमा पानी पठाउन पूर्वनिर्धारित कार्यतालिकाभन्दा ४ दिन ढिला हुन पुगेको हो । आयोजनाले बैशाख ५ गते सूचना जारी गरि मुख्य सुरुङमा पानी पठाएर परीक्षण गर्नको लागि १२ गतेलाई समय निर्धारण गरेकोमा मन्त्रीलाई स्वीच थिच्ने रहरले ४ दिन ढिला गरी बिहिबार पानी पठाउने कार्य सुरु भएको हो ।

आयोजना सम्वद्ध कम्पनी र कर्मचारीहरुलाई बैशाख महिनाभर हरेक मिनेटमा ‘गर या मर’को स्थितिमा रहेका बेला यस्ता ढिलाईले आयोजनाको लागत थप बढ्न सक्ने जानकारहरु बताउँछन् । स्वीच थिच्नकै लागि मात्र बिहिबार मन्त्रीद्वय गुरुङ र नेम्वाङ हेलिकप्टर चार्टर्ड गरेर आयोजनाको बाँधस्थल लामाबगर पुगेका हुन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता गणेश न्यौपानले मन्त्रीद्वयले पालैपालो स्वीच थिचेर डिस्याण्डरमा पानी पठाउने कार्यको थालनी गरेको बताए । बिहिबार मन्त्रीले थिचेको स्वीचले २ सय मिटर लम्बाईको ढिस्याण्डर बेसिनमा पानी भरिन २ दिन लाग्छ ।

आयोजना स्रोतका अनुसार डिस्याण्डर बेसिनबाट पठाएको पानी मुख्य सुरुङमा प्रवेश गर्नु अघि २ ओटा च्याम्बर पार गरेर जानु पर्ने हुन्छ । मुख्य सुरुङको विभिन्न स्थानमा अझै पनि सरसफाईको कामहरु भईरहेको स्रोतको दावी छ ।

राष्ट्रिय गौरबको ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाबाट बैशाख मशान्तसम्म ६ ओटा युनिटमध्ये पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादनको तयारी भईरहेको छ । यद्यपि आयोजनाले विद्युत उत्पादनको मिति भने सार्वजनिक गरिसकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि माथिल्लो तामाकोसीको काममा अनावश्यक ढिलाई भईरहेको भन्दै असन्तुष्टि जनाएका थिए ।

आयोजनाको काम नसक्दै लाखौं खर्च गरेर डिस्याण्डरमा पानी भर्ने स्वीच थिच्न दुई मन्त्री आएको बताउँदै नेपाली कांग्रेस दोलखाले विरोध जनाएको छ । काँग्रेस दोलखाका सचिवद्वय सन्तोष रिमाल र सूर्यबहादुर (बालकृष्ण) आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा नागरिकलाई निषेधाज्ञा लगाएर घरभित्र राखेको सरकार कोरोना संक्रमणविरुद्ध लड्नु पर्नेमा आयोजनालाई खर्चको बोझ थप्ने गरी हेलिकप्टर चार्टर्ड गरेर आउनु ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’को सज्ञा दिएका छन् ।

महामारीमा समेत उद्घाटन तथा शिलान्यासको पदीय उन्माद चढेको सरकार प्रति नेपाली कांग्रेस दोलखा खेद प्रकट गर्दै सशक्त खबरदारी गर्ने जनाएको छ । ‘आफ्नै जिल्लामा निर्माण भइरहेको गौरवको आयोजनामा सरकारमा बसेका बेला पानीको स्वीच थिच्ने कामको अनुगमनका नाममा फजुल खर्च गराउने दोलखाकै सांसदसमेत रहेका मन्त्री गुरुङको कदमको घोर निन्दा र भत्र्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।