अटेरी प्रशासनलाई चुनौती दिँदै व्यापारी आफैंले गरे बजार बन्दको आह्वान

 आवाज संवाददाता     २१ बैशाख २०७८, मंगलवार

रवीन्द्र गौतम । दोलखा

बैशाख २१, दोलखा । दोलखाका मूख्य बजार क्षेत्रलाई बन्द गरेर कोरोना सतर्कतामा लाग्न पटकपटक अनुरोध गर्दा समेत दोलखाका प्रमुख जिल्ला अधिकारीले अटेर गरेपछि व्यापारी आफैंले बजार बन्दको आह्वान गरेका छन् ।

दोस्रो लहरको कोरोना संक्रमणको दर उच्च हुँदै गएको र संक्रमणले मृत्यु नै भईसकेपछि व्यापारीहरुले लिखित सुझाव पेश गर्दा पनि प्रमुख जिल्ला अधिकारीले बजार बन्द गर्न अटेर गरेपछि दोलखा उद्योग बाणिज्य संघ र दोलखा चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ती प्रकाशित गरि बुधबारबाट आफैंले एकहप्ता बजार बन्दको आह्वान गरेका हुन् । दोलखामा सक्रिय संक्रमितको संख्या २७ पुगेको छ भने एक युवतीको मृत्यु समेत भईसकेको छ ।

व्यापारीका ति दुई संघले औषधीजन्य पसल बाहेकका व्यवसाय बिहान ११ बजेपछि बन्द गर्न आह्वान गरेका हुन् । दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठ र दोलखा चेम्बर अफ कमर्शका अध्यक्ष विष्णु श्रेष्ठद्धारा हस्ताक्षरित आह्वानपत्रमा जिल्लाभरका उद्योगी व्यवसायीलाई बिहान ११ बजेसम्म मात्र पसल व्यवसाय सञ्चालन गर्न अनुरोध गरिएको छ । उक्त समयमा पनि व्यवसाय सञ्चालन गर्दा पूर्णरुपमा स्वास्थ्य सावधानीका मापदण्ड अपनाउन समेत अनुरोध गरिएको छ । अत्यावश्यक सेवा दिने बाहेक सरकारी तथा गैरसरकारी संघसंस्था एक साताका लागि बन्द गर्न संघले आह्वान गरेको छ ।

बैंक तथा सहकारीहरुलाई साप्ताहिक रुपमा समयतालिका मिलाएर भिडभाड नहुने गरी आलोपालो प्रणालीमा सेवा प्रवाह गर्नका लागि अनुरोध गरिएको छ । साथै अत्यावश्यक कामका लागी बाहेक एक साताका लागी आफ्ना यातायातका साधनहरु सञ्चालन नगर्न पनि सबै यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् । दोलखाका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) दोलखाको संयोजक बासुदेव घिमिरेले बुधबारको बैठकले निर्णय गरेको आधारमा के गर्ने भन्ने बारे भन्न सकिने बताए ।

उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शले जिल्लामा पीसीआर र एन्टीजेन प्रविधिबाट गरिने कोरोना परीक्षणको दायरा बढाउन माग गरेको छन् । स्थानीय निकाय तथा सम्बन्धित निकायहरुलाई जिल्ला प्रवेश गर्ने मुख्य नाका खरिढुंगा र किर्नेटार लगायतका नाकाहरुबाट भित्रिने यात्रुहरुको अनिवार्य स्वास्थ्य जाँच गरी कम्तिमा ५ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न आह्वान गरेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।