सहरी सुरक्षाका लागि चरिकोटको ५ स्थानमा फायर हाईड्रेन्ट

 आवाज संवाददाता     २४ बैशाख २०७८, शुक्रबार

रवीन्द्र गौतम । दोलखा

बैशाख २४, दोलखा । सदरमुकाम चरिकोटको मुख्य सहरी क्षेत्र सुरक्षाको लागि मुख्य बजारको विभिन्न ५ स्थानहरुमा फायर हाईड्रेन्ट स्टेशन निर्माण सुरु भएको छ ।

भीमेश्वर नगरपालिका–३ र ६ क्षेत्रमा पर्ने चरिकोट बजारको सातदोबाटो चोकदेखि बिचबजारसम्मको बिभिन्न ५ स्थानहरुमा फायर हाईड्रेन्ट स्टेशन निर्माण सुरु भएको हो ।

यूरोपेली युनियन अन्र्तगत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) नेपालको आर्थिक प्राविधिक सहयोगमा मानवअधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपालले शहरी विपद् जोखिम न्युनीकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि कार्यक्रममार्फत चरिकोटको ५ स्थानमा फायर हाईड्रेन्ट निर्माण सुरु गरिएको अन्र्तगत मानवअधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाका अध्यक्ष उद्धव पोखरेलले बताए ।

भूमीगत ट्यांकी, उच्च गतीको पानी फाल्न सक्ने क्षमताको मोटर र पाइप जडानको लागि युएनडीपीको २० लाख ३६ हजार ९३५ र भीमेश्वर नगरपालिकाको एकलाख ८६ हजार ४८८ गरी कूल रु. २२ लाख २३ हजार ४२७ को लागत लाग्ने अध्यक्ष पोखरेलले बताए ।

अव्यवस्थित शहरीकरण भएको चरिकोट बजारको मुख्य घना बस्ती भएको स्थानमा विभिन्न कारण हुनसक्ने आगलागी नियन्त्रणको लागि फायर हाईड्रेन्ट निर्माण सुरु गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

फायर हाईड्रेन्ट स्टेशन बनेपछि समुदायका स्वयमसेवकले नै आगलागी नियन्त्रण गर्न सक्ने तथा आपत्कालीन अवस्थामा दमकलमा पानी भर्न पनि सकिने अध्यक्ष पोखरेलले वताए ।

उच्च गतिमा पानी फाल्न सक्ने क्षमताको मोटर जडित फायर हाईड्रेन्टको लागि आवश्यक पानीको भूमीगत ट्याङ्की सातदोवाटोमा रहनेछ । सातदोवाटो चोकदेखि विचबजार तर्फ ३ सय २४ मिटरको दुरीभित्र ५ स्थानमा फायर हाईड्रेन्ट स्टेशन रहने अध्यक्ष पोखरेलले जनाए ।

विगत ३० बर्ष यताका आगलागीका घटनाको संकटासन्न क्षमता विश्लेषण प्रतिवेदनका आधारमा वडा नं ३ मा २५ र वडा नं ६ मा १३ गरी ३८ ओटा ठूला तथा साना आगलागी हुँदा एकको मृत्यु र ४ घाईते भएको तथ्याङ्क पाईएको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालका नगर प्राविधिक प्रमुख भेष पराजुलीले जानकारी दिए ।

आगलागीका घटनाले मानवीय क्षति सँगसँगै भौतिक तथा आर्थिक क्षति उच्च रहेको प्रतिवेदनमा पाईएको छ । नगरपालिकाको वडा नं ३ र ६ का टोल विकास समिति, युवा समुह, समुदायस्तरिय विपद् पूर्वतयारी प्रतिकार्य टोलीहरुलाई अग्नी नियन्त्रण सम्वन्धी तालिम समेत दिएर तयारी गरिएको अध्यक्ष पोखरेलले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।