सदरमुकाम राखेको गाविस सम्पर्क कार्यालयमा स्थानीयको तालाबन्दी

 आवाज संवाददाता     १६ भाद्र २०७३, बिहीबार

दोलखा, १६ भदौ, भुकम्प पीडितले लामो समयसम्म अनुदान नपाएको र गुनासोको समेत सुनुवाइ नभएको भन्दै स्थानीयले सदरमुकाम चरिकोटमा रहेको शैलुङ्गेश्वर गाविस सम्पर्क कार्यालयमा तालाबन्दी गरेका छन् ।
बिहीबार दिउँसो स्थानीय राजनैतिक दलका प्रमुखहरु, स्थानीय नागरिकहरुले गाविसको सम्पर्क कार्यालयमा तालाबन्दी गरी जिविस दोलखा कार्यालयमा गुनासो फाराम फिर्ता गर्न माग गरेका छन् । “”राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भुकम्प पीडितहरुलाई अनुदान पनि उपलब्ध गराउन नसकेको र प्राविधिक कारण देखाउँदै सयौं भुकम्प पीडितको नाम छुटाएको छ” नेपाली काँग्रेसका गाउँ सभापति शिव थपलियाले भने “गुनासोको फाराम भरे तापनि लामो समयसम्म सुनुवाई नभएपछि गुनासो फाराम समेत फिर्ता माग गरेका हौं ।”
प्राधिकरण र व्यवस्थापन समिति विभिन्न नाममा भुकम्प पीडितहरुलाई झन पीडा दिने काम भएको अर्का माओवादी केन्द्रका नेता अरुण उप्रेतीले बताए । सरकारको ताकेतापछि जिल्लाभर भुकम्प पीडितसँग सम्झौता र अनुदान वितरणको काम भइरहे तापनि शैलुङ्गेश्वरमा कुनै पनि काम हुन सकेको छैन ।
सरकारले पटक पटक गाविस सचिवहरुलाई गाविसमै गएर काम गर्न निर्देशन दिए तापनि गाविस सचिवहरु भने अझै पनि सदरमुकाममा सम्पर्क कार्यालय राखेर काम गर्दै आएका छन् । गाविस सचिवहरु पनि जिविसले गाविसको दोहोरो जिम्मेवारी दिंदा उत्तर र दक्षिणतिरको एक गाविसबाट अर्को गाविस पुग्न २ दिनसम्म लाग्ने टाढा टाढाको जिम्मेवारी दिने गरेको गुनासो छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।