माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको म्यान होलबाट पानी चुहियो

 आवाज संवाददाता     ५ जेष्ठ २०७८, बुधबार

आवाज सम्बाददाता

सुरुङ तथा पेनस्टक परीक्षणको क्रममा रहेको राष्ट्रिय गौरवको आयाजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको म्यानहोल( मानिस काम गर्न पेनस्टकमा पस्ने प्वाल) बाट पानी चुहिएको छ । सुरुङमा पानी पठाई करिब ६०० मिटर सम्म हेडमा पानी भर्दा म्यानहोलबाट पानी चुहिएको हो ।
म्यानहोलबाट पानी चुहिएपछि परीक्षण रोकी म्यानहोलहरुको मर्मत सम्भार कार्य भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रबक्ता डाक्टर गणेश न्यौपानेले बताए । तीनवटा म्यानहोलको निरीक्षण तथा मर्मत सम्भार शुक्रवार सम्ममा सकिने प्रबक्ता न्यौपानेको भनाई छ । म्यानहोल तथा गेटको निरिक्षण तथा मर्मत पश्चात आइतवारबाट सुरुङ तथा पेनस्टक मा पानी पठाई पूनः परीक्षण सुचारु गरिने आयोजनाले बताएको छ ।

सुरुङ तथा पेनस्टकमा पानी भर्ने काममा कुनै समस्या नआएमा जेठ अन्तिममा विद्युत उत्पादनको परीक्षण गर्न सकिने प्रबक्ता न्यौपानेले बताए । आयोजनाको प्रसारण लाइन अन्तर्गत सिँटीमा भाँचिएको टावर को निर्माण कार्य भइरहेको छ । यस्तै दोलखाको सहरेमा बाँकीरहेको मल्टिसर्किट टावरको निर्माण सकिई तार तान्ने चरणमा पुगेको छ । साथै रामेछापको फुलासीमा निर्माणाधिन सबस्टेशनको सिभिल संरचनाको काम सकिई उपकरण जडान भइरहेकोमा भारतीय मजदुरहरुमा कोरोना संक्रमण पुष्टी भएकोले हाललाई काम बन्द भएको आयोजनाले बताएको छ ।
आयोजनाबाट उत्पादिन विजुली फुलासी सबस्टेशनको काम नसकिएपनि सिधै ढल्केवार सम्म प्रसारण गर्न सकिने विकल्प आयोजना सँग रहेको प्रबक्ता न्यौपानेले बताए । यस्तै रोलवालिङ डाइभर्षनको निर्माण प्रकृया पनि आगाडि बढाइएको छ ।
प्रारम्भमा ६ वटा युनिटमध्ये एक युनिटबाट ७६ मेगवाट उत्पादन गरिने छ । भने पूर्ण क्षमतामा ६ वटै युनिटबाट विद्युत उत्पादन हुँदा ४५६ मेघावाट विद्युत उत्पादन हुने छ ।
२०६५ सालमा आयोजनाको निर्माण सुरु गर्दा निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख लागत अनुमान गरिएको थियो । तर हाल आयोजना निर्माण सम्पन्न हुने समयसम्म आयोजनाको लागत करिब ८० अर्ब पुग्ने अनुमान छ । भुकम्प, नाकाबन्दी, कोरोना संक्रमण, भारतिय ठेकेदार कम्पनी टेक्सम्याकोले समयमै सामान ढुवानी नगर्नु तथा समयमा काम नसक्नु जस्ता कारणले निर्माण अवधि लम्बिँदा ब्याज, मूल्य समायोजन, डलरको मुल्यमा भएको बृद्धि , प्रशासनिक खर्च आदिका कारण लागत बृद्धि भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको दावी छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।