खाद्यान्नको मूल्यबृद्धि, केही औषधीको अभाव

 आवाज संवाददाता     ६ जेष्ठ २०७८, बिहीबार

दोलखा, जेठ ६

दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्यबृद्धि भएको गुनासो आएपछि आज चरिकोट बजारमा अनुगमन गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालय दोलखाले चरिकोट बजारका दैनिक उपभोग्य वस्तु तथा औषधी पसलहरुको अनुगमन गरेको हो ।
कोरोना कहरका बिच उपभोग्य वस्तुहरुको अत्यधिक मूल्यबृद्धि भएको गुनासो आएपछि प्रदेश मन्त्रालयको निर्देशनमा सुरक्षा मापदण्ड अपनाएर बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय दोलखाका प्रमुख मिनबहादुर थिङले जानकारी दिए ।
अनुगमनको क्रममा दाल, चामल, तेल लगायतका उपभोग्यवस्तुको मूल्य बृद्धि भएको पाइएको संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए । चरिकोट बजारमा दैनिक उपभोग्य वस्तुहरुको स्टक हेर्दा त्यस्ता सामग्रीहरुको अभाव हुने अवस्था नरहेको पनि उनले जानकारी दिए । उनका अनुसार चरिकोटका औषधी पसलहरुमा जिङ्क ट्याब्लेट, प्यारासिटामोल र भिटामिन सीको अभाव देखिएको छ ।
खरिद र बिक्री बिलको तुलना गर्दा दाल, चामल, तेल लगायतका उपभोग्य वस्तुहरुको मूल्य उत्पादक वा कारखानाबाटै बृद्धि भएको देखिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख थिङले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।