चीन र भारतका लागि लीलामणी पौड्याल र दीपकुमार उपाध्याय राजदुत सिफारिस

 आवाज संवाददाता     १६ भाद्र २०७३, बिहीबार

चीनका लागि लीलामणी पौड्याल र भारतका लागि दीपकुमार उपाध्याय राजदुत सिफारिस

सरकारले चीन र भारतका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले चीनमा पूर्व मुख्य सचिव लीलामणी पौड्याललाई चीन र ओली सरकारले फिर्ता बोलाएका दीपकुमार उपाध्यायलाई पुन भारत पठाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण अघिनै उपाध्याय भारत गई जिम्मेवारी सम्हाल्ने छन् भने,  पौड्यालको संसदीय सुनुवाई हुने छ । त्यसैगरी मन्त्रिपरिषद् बैठकले सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ। उनी नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक हुन्।

त्यसैगरी बैठकले प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा डा. श्रीराम पौडेल, परराष्ट्र सल्लाहकारमा डा. ऋषि अधिकारी नियुक्त भएका छन्।

पौड्याल पूर्व मुख्य सचिव हुन्। उनी यसअघि ल्हासामा महावाणिज्यदूत पनि थिए। ओली सरकारले चीनमा महेन्द्रबहादुर पाण्डेलाई राजदूत सिफारिश गरेको भए पनि वर्तमान सरकारले नाम फिर्ता लिएको थियो।

दुई देशका मात्र राजदूत सिफारिश गरिएको विषयमा प्रवक्ता कार्कीले भने, निकट भविष्यमा प्रधानमन्त्रीको भारत भ्रमण हुन लागेको छ। चीन र भारतका राष्ट्रपतिको पनि नेपाल भ्रमण हुँदैछ। त्यसकारण नेपालको राजदूत हुन जरुरी भएकोले सिफारिश गरिएको हो।

बैठकले प्रतिनिधि सभा, प्रदेश सभा र राष्ट्रिय सभा निर्वाचनका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।