‘दी कलर अफ डेमोक्रेसी’

 आवाज संवाददाता     १२ जेष्ठ २०७८, बुधबार

 राजन शर्मा सापकोटा

यो आलेख पढ्नुअघि तपाईँहरुको मनमा प्रश्न उब्जन सक्छ कि, किन लेखकले प्रजातन्त्रको बारेमा लेख्न यस्तो अनौठो विषयलाई छानेको होला ? प्रश्न उठ्नु पनि स्वभाविक नै हो । म आफैँ पनि प्रजातन्त्र यो हो र त्यो हो भनी लेख्न रुचाउने हैन । अझ मैले त यो आलेख तयार गर्नुअघि ‘द कलर अफ डेमोक्रेसी’का विषयमा गुगलमा के रहेछ भनेर हेरेँ । अनेकन सम्बन्धित पुस्तकहरु रहेछन् ।

ती पुस्तकहरुमा प्रजातन्त्रलाई रेसिजमसँग जोडेर विषयहरु उठान भएका रहेछन् । तर मेरो यो आलेख नितान्त फरक विषयमा हो । मैले यहाँ प्रजातन्त्रलाई कुनै निश्चित वर्ग, रङ्गभेद, समाज, राष्ट्रसँग वा अन्य केहीसँग जोड्न खोजेको होइन । मैले त यो प्रजातन्त्र भन्ने जुन भाव छ ‘अमूर्त भाव’ त्यसको रङ निकाल्न खोजेको हुँ । नितान्त हेर्न खोजेको मात्र हुँ । यो कस्तो रङको हुन्छ, हुन्थ्यो र हुनेछ भनी विचरण गरेको मात्र हुँ । चिरस्थायी सधैँ एउटै अथवा वा डाइनामिक रुपमा फरक कलरको । अझ भन्नु पर्दा सबैतिर समान वा असमान । फरक, नितान्त अलग वा समिश्रण सबै कलरको । मेरो उदेश्य किन्तु यो कालो, रातो वा निलो हुँदोरहेछ भनेर प्रमाणित गर्नु पनि होइन । मैले मेरा उमेरहरुमा तीस वर्ष प्रजातन्त्र देखेँ । मैले देखेको अवधिमा प्रजातन्त्र सधैँ छुन नसकिने रह्यो जस्तो लाग्छ । मलाई हुर्कँदै जादा लाग्थ्यो प्रजातन्त्र अमुक, अदृश्य, अमूर्त हुन्छ तर यो छुने हुनुपर्छ । तर मैले कहिल्यै त्यस्तो पाइँन । त्यसैले त आज यो अनौठो र एक प्रकारले अपारदर्शी प्रजातन्त्रका बारेमा लेख्न मन लाग्यो ।
मेरो मथिङ्गलमा एउटा अनौठो छाप रहेछ । अवचेतन अवस्थामा रहेको छाप । प्रजातन्त्रका ड्राइभर जनता नै हुन भन्ने लाग्थ्यो । बास्तवमा तीन दशक यो देख्दा हैन कि झैँ लागिरहेछ । त्यो कस्तो अमीट छाप । अझै इरेज हुन सकेन । मैले सानैदेखि पढेको अव्राहम लिङ्कनको प्रजातन्त्रको परिभाषा, सबैले जानेको परिभाषा । गलत झैँ लागिरह्यो । त्यो ‘बाई द पिपल, फर द पिपल…’ भन्ने वाला परिभाषा । कुनै एक मुलुकमा मात्र लागु नभएको हो कि, केही छुट्याउने-खुट्याउने अवस्थामै भइन म । मेरो देशमा पनि सत्तामा जनता नै पुग्छन । म यो या ऊ भन्दिन । जनता यहाँ जनता भएर पस्छ । आफू शासक भएर निस्किन्छ । मेरो प्रजातन्त्रमा इन्ट्रीमा एउटा र एक्जिटमा अर्को नियम चल्छ । पचासौँ वर्ष राजनीति गर्दा सामान्य जनता पनि इलाइट बन्दो रहेछ । अन्य मुलुकमा इलाइट पनि डेमोक्रेसीको चालक बन्दा लिडर भएको देख्ने, पढ्ने र सुन्ने म मेरो देशमा एकजना पनि त्यस्तो नदेख्दा यहाँको उत्पादनशीलतामा नै शंका लाग्छ । हामी के रोप्छौ, अनि के फलाउँछौ ? शंका हुन्छ । यो सबै फल्ट लाग्छ । वर्षौअघि रोपेको मेरो प्रजातन्त्र किन हुर्कन पाउँदैन ? किन कलर दिँदैन ? अनि त प्रश्न उठ्छ ‘ह्वाट इज द कलर अफ माई डेमोक्रेसी’ ।
मैले यहाँ आलेखमा प्रजातन्त्रका केही विम्व प्रयोग गर्न खोजेको छु । आफ्नै स्टाइलका । मलाई प्रजातन्त्र सुन्दर फूलको संयोजनबाट बनाइएको ‘बुके’ जस्तो लाग्यो । केही समय मैले त्यही रुपमा प्रजातन्त्रलाई बुझेँ । अरुलाई पनि प्रजातन्त्र यस्तै सुन्दर हुनुपर्छ भन्ने लाग्दो हो झैँ सम्झेँ । बास्तबमा हाम्रो जस्तो देशमा प्रजातन्त्र त्यो ‘बुके’ नै हो जस्तो लाग्यो । कुनै ठुलो अकेजनमा किस्तीमा पस्कने । हेर्दा सुन्दर तर क्षणिक प्रयोगका लागि प्रयुक्त । जरा बिहीन र टिकाउका लागी भन्दा पनि देख्दा सुन्दर । एउटा इलाइट क्लासका लागि प्रयोगमा आउने खालको । तर प्रयोगहीन । चाँडै सुक्ने अनि डेलिकेट र युजलेस । मलाई प्रजातन्त्र त्यस्तै लाग्यो । हाम्रो मानेमा प्रजातन्त्र असाध्यै डेलिकेट र युजलेस ।
यस अर्थमा मेरो जोड सुन्दरतामा मात्र रहेछ । प्रजातन्त्र सुन्दर हुनुपर्छ भन्ने । तर बास्तवमा प्रजातन्त्र टिकाउ सबैका लागि सधैँका लागि हुनुपर्ने रहेछ । प्रजातन्त्रले अगाडि आउन नसकेकालाई अगाडि ल्याउनुपर्ने रहेछ भन्ने चरणमा म पुगेँ । त्यही क्रममा अलि हुर्कदै जाँदा ट्रेनिङ कलेजमा मैले एउटा रिलेटेड टपिक पाए । अध्ययन गर्न र पेपर लेख्न । विषय प्रजातन्त्र नै भए पनि हाम्रोमा विस्तारै सो बेला वकालत सुरु भएको टपिक थियो – संघीयता । यो मेरो कमजोर मानसपटलमा प्रजातन्त्रकै एउटा रुप र अलि फरक स्ट्रक्चरल रुपमा मात्र बुझेको थिएँ । शासन जनताकै र राज्यका स्ट्रक्चरहरु मात्रै फरक । शासनको तरिका र पद्धति मात्र फरक भएको रुपमा ।
मलाई सिद्धान्तकार को हुन भन्नेमा हाल याद छैन । तर एउटा थ्योरीले सधैँ छोयो । प्रजातन्त्रका नाममा, संघीयताका नाममा मलाई त्यो ज्यादै प्रयुक्त लाग्यो । सुरुवातमा मल्टी कल्चरल सोसाइटी कसरी इन्ट्रीगेटेड हुन्छन् भन्ने कल्चरल स्टडिजबाट निर्माण भएको थ्योरी रहेछ । पढ्दै जाँदा अलि बुझेँ । ‘सलाद बउल’ थ्योरी । जसरी सलादको प्लेटमा सलादका इन्ग्रिडेन्ट्स सबै मिलेर एउटा सलाद बउल बन्छ । तर गुण यो छ – एउटै प्लेटमा पनि सलादका भिन्न चिजको भिन्न स्वाद । याने कि एउटै वउलमा काक्राकै स्वाद फरक । मुलाको स्वाद फरक । गाजर-स्याउ-मेवा जे भन्नुहोस् सँगसँगै । तर स्वाद फरक । मलाई संघीयताको उक्त मोडेल खुब मनपर्यो । मलाई नेपाली प्रजातन्त्र, नेपाली संघीयता, हाम्रो त्यति बेला पपुलर्ली चलेको माटो सुहाउँदो संघीयता हुनुपर्छ भन्ने वकालतसँग मिल्दो जस्तो लाग्यो । एउटा टपिक निर्माण गरेँ । ‘द सलाद बउल मोडेल अफ नेप्लिज फेड्रालिजम’ । उक्त पेपरमा मैले फेड्रालिजमलाई प्रजातन्त्रकै रुप र हाम्रो जस्तो मल्टिकल्चरल, मल्टिलिङ्ग्विल र डाइभर्स समाजलाई एउटै बउलमा राखी सबैको आ-आफ्नो टेस्टलाई जीवन्त बन्ने गरी प्रस्तुत गर्न मेरो पेपर तयार गरे । लास्टमा प्रिजेन्टेसनमा तयार भएको रियल सलाद बउल (प्लेट) को फोटो राखेर पुष्ट्याइँ गरेँ । तर त्यो त एउटा नियमित प्रक्रिया न थियो । त्यो तालिम थियो । मेरो मूल्यांकन थियो । मेरो एउटा बाध्यता । अनि त्यही दिन सकियो त्यो मलाई हिट गरी रहने मोडेल । मलाई मन पर्ने सलादरुपी संघीयता । प्रजातन्त्रको रिलेटेडनेस भएकोले मैले कहिल्यै बिर्सिन सकिन ।
विस्तारै नेपालमा संघीयता सुरुवात भयो । कति प्रदेश बनाउने, के नाम राख्ने, राजधानी कहाँ बनाउने लगायतका अनेक बहस चले । संघीयतामा विभिन्न आधार तोकिएर संघीयता निर्माण भयो । अन्तिममा आएर हामीले बुझ्यौँ जम्मा तीन सरकार- केन्द्र, प्रदेश र स्थानीय । त्यसरी नै बन्यो नेपालको संघीयता । हाम्रो नयाँ प्रजा याने कि जनतन्त्र वा गणतन्त्र । मेरो मनलाई हिट गरिरहने ‘द सलाद बउल थ्योरी’ कहीँ हरायो जस्तो लाग्यो । यो बबुरो आस न थियो । फेरि भन्न छाडिएन त – माटो सुहाउँदो संघीयता । हाम्रो माटो सुहाउँदो प्रजातन्त्र । हाम्रो माटो सुहाउँदो गणतन्त्र ।
यी यावत् गफ मेरो हुर्काइमा आएका प्रजातन्त्रका विम्वहरु थिए । खासमा मेरो आलेखमा म प्रजातन्त्र यो वा त्यो भन्न, पुस्ट्याइ गर्न लेखिरहेकै छैन । भनिसकेको छु । म मेरा अवचेतन झैँ बनिसकेका विम्व र प्रजातन्त्रका रिलेसन खोज्दै विषयान्तर पनि भएँ । मेरो मुल आलेख यसको कलरसँग सम्बन्धित हो । थियो । मैले प्रजातन्त्रको कलर छ/छैन, यो हो/होइन भनेर पुस्ट्याई गर्न पनि लम्वेतान गफ दिनुपर्यो । विस्तारै मलाई प्रजातन्त्र एउटा निश्चित र देश अनुसारको आ-आफ्नै कलरको पो हुने हो कि भन्ने पो लाग्न थाल्यो । फेरि देशभित्रै पनि म यो देश, ऊ देश भन्दिन । शासन, समय, ब्यक्ति अनुसार प्रजातन्त्र, संघीयता आदिका बारेमा फरक-फरक विचार आउँदा मलाई झन झस्का पर्यो । प्रजातन्त्र त कहाँ देश अनुसार मात्रै फरक कलरको हो र, ब्यक्ति अनुसार, स्वार्थ अनुसार पनि पो फरक हुने रहेछ । त्यसपछि मलाई लाग्न थाल्यो जसले जे भनोस् प्रजातन्त्रको एउटा कलर चाहिँ हुन्छ-हुन्छ । जो देखियोस् वा भावात्मक सुक्ष्म होस् । मलाई लाग्न थाल्यो, जे होस् यो एउटा फेड कलरमा हुन्छ । यसलाई विस्तारै खुइल्याउँदै लगिन्छ । त्यसको कलर सकिन्छ । अनि आफू अनुकूलको कलरिङ गरिन्छ । मलाई त्यही लाग्यो । प्रजातन्त्रको कलर हुन्छ । आफू सुहाउँदो हुन्छ । आफू अनुकुल हुन्छ ।
पुराना ग्रन्थहरु पढ्दा मैले महान दार्शनिक प्लेटोले पनि प्रजातन्त्रलाई केही अवस्थामा घृणा गरेको भेटे । उनले त्यो बेलाको एथेनियन प्रजातन्त्रको अवस्थालाई मन नपराएको पाएँ । त्यसको कारण कुनै कन्ट्रोलिङ सिस्टम नभएको एनार्की (ब्लबचअजथ) किसिमको समाजमा आन्तरिक र अन्तरनिहित युनिटी नभएको र कमन गुडका लागि भन्दा पनि स्वार्थ केन्द्रित प्रजातन्त्र भएकोले होला प्लेटोको प्रजातन्त्रको बारेमा यो क्रिटिसिज्म आएको । मैले यहाँ मेरो प्रजातन्त्रलाई क्रिटिसाइज गरेको होइन । सुधारिएको प्रजातन्त्र वा गणतन्त्रका बारेमा त्यस्तो, यस्तो र उस्तो भन्न खोजेको पनि होइन । यो मेरो पुरानो प्रजातन्त्र म भन्दा दशकौँ जेठो अनि राणाकाललाई किक आउट गरी पञ्चायतमा चेपिँदै मोनार्कीमा समेत विस्तारै टुसाएको प्रजातन्त्र । एथेनियन रुपमा नहुर्किने । जसले जति खुइल्याउन खोजे पनि नखुइलिने प्रजातन्त्र । सदाबहार प्रजातन्त्र । ‘बुकें’ को रुपमा सुन्दर तर फेड आउट हुने रुपमा मैले अनि हामीले देख्न नपरोस् । झाडी बिचबाट टुसाएर पनि फुलिरहने प्रजातन्त्र । जहाँ जे होस्, मेरो देश र जनताका लागि बाँचिरहने प्रजातन्त्र । कुनै कलरमा नहोस्, स्वाद र गन्दहीन नै किन नहोस्- बाँचिरहोस् मेरो प्रजातन्त्र । हाँसिरहोस् मेरो गणतन्त्र ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।