माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रसारणलाईन व्यवस्थापन अन्तिम चरणमा

 आवाज संवाददाता     १२ असार २०७८, शनिबार

नवराज शिवाकोटी

असार १२, चरिकोट

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रसारणलाईन व्यवस्थापन अन्तिम चरणमा पुगेको छ ।

असार १३ गतेबाट आयोजनाको दोलखा तथा रामेछापमा निर्मित मल्टिसर्किट टावरमा तार तान्ने काम शुरु हुने भएसँगै प्रसारण लाईन व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको हो ।

आइतवारबाट दोलखा तथा रामेछापमा रहेका मल्टिसर्किट टावरमा तार तान्ने काम शुरु हुने माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डाक्टर गणेस प्रसाद न्यौपानेले  बताए ।

मल्टिसर्किट टावरमा तार तान्ने काम सम्पन्न भएपछि आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाईनमा जोडिने प्रवक्ता न्यौपानेको भनाइ छ । लामोसमय जग्गा विवादका कारण मल्टिसर्किट टावरहरुमा तार तान्ने काम सम्पन्न हुन सकेको थिएन ।

मल्टिसर्किट टावरमा तार तान्ने क्रममा असार १३ गतेदेखि १९ गतेसम्म  खिम्ति– लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने नेपाल विद्युत प्राधिकरण प्रणाली विभागले बताएको छ । यस क्रममा ६० मेगावाटको किर्नेटारमा रहेको विद्युत् गृहबाट उत्पादीत विद्युत् प्रसारण लाईनमा पठाउन बन्द हुने भएको छ ।

मल्टिसर्किट टावरमा तार तानिएसँगै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइनको काम पूरा हुने आयोजनाको भनाइ छ । रामेछापको फुलासीमा निर्माणाधीन सबष्टेशनको काम पनि अन्तिम चरणमा पुगेको छ ।

४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अहिले सुरुङ, पेनस्टक, पावर हाउसभित्र रहेका विभिन्न संरचना  र यन्त्र उपकरणहरुको परीक्षणको क्रममा रहेको छ । विभिन्न संरचनाहरुको परीक्षण पश्चात विद्युत् उत्पादन परीक्षणको मिति तोक्न सकिने आयोजनाको भनाइ छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।