News Update दोलखाको लामाबगरमा पहिरोमा परी दुईको मृत्यु, पाँच बेपत्ता

 आवाज संवाददाता     १६ भाद्र २०७३, बिहीबार

दोलखा, भदौ १६/अविरल वर्षाका कारण दोलखाको लामाबगर गाविस वडा नम्बर ४ छ्योतछ्योतमा बुधवार राति गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएको छ ।
बुधवार राति करिब १० बजेतिर आएको पहिरोका कारण २१ वर्षीय बडुले तामाङ र पेममाया तामाङको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताए । भिरमाथिबाट आएको बाढी र पहिरोले दुई घर बगाएको छ भने दुई घरलाई पहिरोले थिचेको छ ।
बिहिवार बिहान लामाबगर प्रहरी चौकीका प्रहरी, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक खेमबहादुर मगर, नेपाली सेनाका सेनानी अमित लामा तथा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्कीको टोली पुगेपछि पीडितहरुको उद्धार गरेका थिए । उनीहरुले पहिरोमा थिचिएको घरबाट दुई जनाको शव निकालेका हुन् ।

IMG_20160902_124849
पहिरोमा परी ४५ वर्षका मङ्गले तामाङ, ४० वर्षका श्रीमती पातमाया तामाङ, २ वर्षका छ्योसाङ तामाङ, २५ वर्षका त्रिसी तामाङ र ७० वर्षका सतमाई तामाङ हराइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । पहिरोमा परी स्थानीय मिनबहादुर ठकुरी घाइते भएका छन् । राति अबेर पहिरो गएकोले विहिवार विहानबाटमात्र उद्धार कार्य सुरु गरिएको थियो ।
राति खोलामा बाढी आएको र पहिरो गएको थाहा पाएपछि लालमाया तामाङले ३ वर्षीया छोरी लक्ष्मी तामाङलाई लिएर ओढारमा गई ज्यान जोगाएकी छिन् । छिमेकी वारिपट्टिका विषबहादुर तामाङले बाढी पहिरोपछि मध्यरातमा उद्धार गर्न निकै प्रयास गरेको र चौथो पटकको प्रयासमा राति करिब ३ बजे ओढारमा बसीरहेकी लालमाया तामाङ र ३ वर्षकी लक्ष्मी तामाङको उद्धार गरेको उनले बताए ।
सदरमुकामबाट पुगेको टोलीले पहिरोमा परेकाहरुको उद्धार गर्नुको साथै अस्थायी आवास निर्माण गरी राहत सामग्री वितरण गरको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF