माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको परीक्षण उत्पादनको प्रधानमन्त्री ओलीले भोली उद्घाटन गर्ने

 आवाज संवाददाता     २० असार २०७८, आईतवार
नवराज/चरिकोट

असार २०

बहुचर्चित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको परीक्षण विद्युत उत्पादनको सोमवार उद्घाटन हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आयोजनाको विद्युत् उत्पादन परीक्षणको उद्घाटन गर्नु हुने छ ।

अपरान्ह चार बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट आयोजनाको परीक्षण उत्पादन शुरुवात गर्ने कार्यको उद्घाटन गर्ने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश प्रसाद न्यौपानेले  बताए ।

प्रधानमन्त्रीले उद्घाटन गरे पश्चात आयोजनाका छ ओटा युनिट मध्ये एक युनिटबाट ७६ मेघावाट विद्युतको परीक्षण उत्पादन शुरु हुने छ ।

आइतवार नै खिम्ति सबस्टेशनदेखि गोंगरसम्मको  ४७ दशमलव २ किलोमिटर लामो विद्युत् प्रसारण लाईन चार्जिङ गर्ने काम सम्पन्न भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ ।

२०६७ सालमा मुख्य सिभिल निर्माण कार्यको शुरुवात गरिएको आयोजनाको  विसं २०६८ जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए । त्यसको करिव ११ बर्षपछि तामाकोशीको पहिलो युनिटवाट विद्युत् उत्पादन हुन लागेको छ ।

आयोजनाका अन्य अरु पाँच ओटा युनिटबाट विद्युत् उत्पादन गर्नकालागि आवश्यक परीक्षणहरु भइरहेको आयोजनाले बताएको छ । छ ओटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदा आयोजनाबाट ४५६ मेगावाट विद्युत् उत्पादन हुने छ ।

सुख्खा यामका लागि रोलवालिङ डाइभर्सनबाट पानी ल्याउन आवश्यक रहेकोले डाइभर्सन बनाउनको लागि आवश्यक टेन्डर प्रक्रिया चलिरहेको आयोजनाको भनाइ छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।