पुनर्निर्माण पछि बौद्ध दर्शनको  प्राचीन थलो पुनर्जिवित

 आवाज संवाददाता     २७ असार २०७८, आईतवार

नवराज शिवाकोटी
असार,२७, चरिकोट

यस जिल्लाको भीमेश्वर नगरपालिका-  ८ बोचमा १ करोड ३५ लाख ९० हजार २२२ रुपैयाँको लागतमा लप्चे गुम्बाको पुनर्निर्माण सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा गुम्बा व्यवस्थापन समितिको सहयोगमा गुम्बा पुनर्निर्माण सम्पन्न भएको हो । गुम्बा पूनर्निर्माणकालागि प्रधिकरणबाट ९५ लाख ११ हजार रुपैयाँ उपलब्ध गराईएको तथा स्थानीय गुम्बा व्यवस्थापन समितिबाट ४० लाख ७६ हजार ९१४ व्यहोरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार कार्यालय दोलखाका प्रमुख रामप्रसाद पोखरेलले बताए ।

निरन्तर कार्यालयको अनुगमन तथा व्यवस्थापन  समितिको सक्रियताका कारण नमूना योग्य आकर्षक गुम्बा निर्माण भएको प्रमुख पोखरेलको भनाइ छ । गुम्बा निर्माण लगभग सम्पन्न भइसकेको र केही सामान्य काम मात्र बाँँकी रहेको पुनर्निर्माण प्राधिकरण दोलखाले बताएको छ ।

गुम्बा निर्माणको लागि चालू आर्थिक वर्षको  मंसिर ३० गते सम्झौता भएको थियो । भीमेश्वर नगरपालिका बोचको चनौटे डाँडामा रहेका प्राचीन लप्चे गुम्बा २०७२ सालको विनाशकारी भुकम्पले ध्वस्त भएको थियो ।

ध्वस्त गुम्बको पुनर्निर्माण गर्न स्थानीयहरुले आ–आफ्नो तर्फबाट श्रमदानलगायत क्षमता अनुसार आर्थिका सहयोग गरेकोले पुनर्निर्माण सम्भव भएको लप्चे गम्बाका प्रमुख लामा गणेश बहादुर लामाले बताए ।

३०० वर्षभन्दा पुरानो गुम्बा भुकम्पले ध्वस्त भएपछि चिन्तित स्थानीय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट गुम्बाको पुनर्निर्माण हुनुले बौद्ध दर्शनको  प्राचीन थलो पुनर्जिवित भएको स्थानीयहरुको भनाइ छ ।

गुम्बाको निर्माणबाट यो क्षेत्रको पर्यटनको विकासमा समेत योगदान पुग्ने स्थानीयहरुको विश्वास छ । आगामी दिनमा यो गुम्बालाई बौद्ध दर्शन अध्ययनको थलो बनाइने तर्फ काम भइरहको बौद्ध दर्शनका अध्येता स्थानीय सोनाम छेम्बुले बताए ।

लुम्विनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा  बौद्ध दर्शनको अध्ययन केन्द्रको रुपमा लप्चे गुम्बालाई विकास गर्न आफूहरु लागिरहेको बौद्ध दर्शनको लामो समय अध्ययन गरेका  उनको भनाइ छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।