सिंगटी खोला जलविद्युत् आयोजनाबाट केन्द्रीय विद्युत् प्रणालीमा थपियो २५ मेवा विद्युत्
आवाज संवाददाता ३ श्रावण २०७८, आईतवार
नवराज शिवाकोटी
साउन,३,चरिकोट
सिंगटी–लामोसाँघु प्रसारण लाईनमा सिंगल सर्किट तार तान्ने काम सम्पन्न भएँगै केन्द्रीय विद्युत् प्रणालीमा २५ मेगावाट(मेवा) विद्युत् थप भएको छ ।
दोलखामा निर्मित सिंगटी खोला जलविद्युत् आयोजनाबाट सो प्रसारण लाईनमार्फत शुक्रवारबाट केन्द्रीय विद्युत् प्रणालीमा २५ मेघावाट विद्युत् थप भएको हो ।शुक्रवारबाट सिंगटी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण लाईनमा जोड्ने काम सफलता पूर्वक सम्पन्न भएको सिंगटी–लामोसाँघु प्रसारण लाईन आयोजनाका प्रमुख राजन ढुंगेलले बताए ।
१३२ केभी प्रसारण लाईनबाट सब – स्टेशनमा विद्युत् गृहहरुबाट आउने विद्युत् अब केन्द्रीय प्रसारणमा जोड्न सकिने आयोजना प्रमुख ढुंगेलको भनाइ छ ।
सम्पन्न भइसकेको सिँगटीखोला, सिप्रङ खोला, तल्लो खारेखोला लगाएतका विद्युत आयोजनाबाट उत्पादीत विजुली खेर गइरहेको अबस्थामा सिंगल सर्किटबाट विद्युत् प्रसारण हुने भए पछी नीजि क्षेत्रका उर्जा प्रबर्द्धकहरु खुशी भएका छन् ।
विद्युत् आयोजना सम्पन्न भइसकेपछि पनि प्रसारण लाईन निर्माण नभई विद्युत् खेर फाल्नु पर्ने अवस्था भएकोले प्रसारण लाईन आयोजना बनाउनका लागि आफूहरुले पनि सक्दो सहयोग गरेको सिंगटी खोला जलविद्युत् आयोजनाका पूर्व आयोजना प्रमुख मनहरि सापकोटाले बताए ।
यसैगरी निजी क्षेत्रले प्रासरण लाईन निर्माण गर्न ठूलो सहयोग गरेको सिंगटी–लामोसँघु प्रसारण लाईन आयोजनाका आयोजना प्रमुख राजन ढुंगेलको पनि भनाइ छ । तत्काल १३२ केभी प्रसारण लाइन मार्फत आउने तल्लो खारे खोलाको विद्युत जोड्न समस्या नभएको तर ३३ केभी प्रसारण लाईनबाट आउने साना आयोजनाहरुको विद्युत प्रसारण गर्न भने सिंगटी सब–स्टेशनमा केही उपकरण जडान गर्न बाँकी रहेको आयोजना प्रमुख ढुंगेलको भनाइ छ ।
डबल सर्किट तार तान्नेकाम भने अहिले मध्ये वर्षातको सिजन भएकोले केही समय पछि शुरु हुने उनको भनाइ छ । सब–स्टेशनको काम तथा आयोजनाका अन्य बाँकी काम सम्पन्न गर्न करिब ३ महिना जति लाग्न सक्ने सिँगटी लामोसाँघु प्रसारण लाइन आयोजनाले बताएको छ ।
४० किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाईन निर्माणकालागि नेपाल विद्युत् प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग २ वर्षमा सम्पन्न गर्ने गरी सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौतामा दुई वर्षभित्र प्रसारणलाइन र सिंगटीको सब-स्टेसनसमेत निर्माण गर्ने उल्लेख थियो ।सम्झौताअनुसार सब-स्टेसनका लागि साढे १७ करोड रुपैयाँ र प्रसारण लाइनका लागि करीब ४२ करोड रुपैयाँमा अरावलीले ठेक्का लिएको थियो ।
ठेक्का सम्झौता पश्चात पनि पटक – पटक ठेकेदार कम्पनी सम्पर्क विहिन भएपछि ४० मेगावाटको माथिल्लो खानीखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक ग्रिनलाइफ हाइड्रोपावर कम्पनीले अरावली इन्फ्राको नेपाली प्रतिनिधि बनेर काम गरिरहेको छ । जग्गा विवादका कारण पनि आयोजनाको गति सुस्त बनेको थियो ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।