धर्म परिवर्तनका आरोपीहरु छुटे

 आवाज संवाददाता     ८ असार २०७३, बुधबार
दोलखा, असार ४/निजी स्कुलका छात्रछात्रालाई जवर्जस्ती धर्म परिवर्तन गराएको आरोपमा पक्राउ परेका क्रिश्चियनहरुलाई दोलखा जिल्ला अदालतले धरौटीमा थुनामुक्त गरेको छ ।
शुक्रवार भएको थुनछेक बहसपछि दोलखा जिल्ला अदलतले पक्राउ परेकामध्ये ५ जनालाई जनही १० हजार धरौटीमा र तीनजनालाई साधारण तारिखमा थुनामुक्त गरेको दोलखा जिल्ला अदालतका श्रेष्तेदार कूलप्रसाद दाहालले बताए । उनीहरु गत जेठ २७ गते सदरमुकाम चरिकोटस्थित मोडर्न नेपाल अङ्ग्रेजी स्कुलमा क्रिश्चियन धर्म प्रचार गर्दैगर्दा पक्राउ परेका थिए ।
टिच नेपाल काठमाडौँमा कार्यरत काठमाडौं टङ्गाल निवासी वर्ष ४४ का बनिता डंगोल, मकवानपुर राईगाउँ गाविस ३ का ३७ वर्षीय बालकृष्ण राई, गोरखा मिरकोटका फिलिप तामाङ, दोलखा मिर्गे गाविस ५ का किरण दाहाल र चरिकोट क्रिश्चियन चर्चका पाष्टर मिर्गे २ का शक्ति पाख्रिन जनही १० हजार धरौटीमा छुटेका हुन् । तर माउण्ट भ्याली एकेडेमीका प्रिन्सिपल प्रकाश प्रधान, मोडर्न नेपाल अङग्रेजी स्कुलका प्रिन्सिपल विमल शाही र टिच नेपालमा कार्यरत चालक भीमबहादुर तिवारी साधारण तारिखमा छुटेका छन् ।
उनीहरु थुनामुक्त भएलगत्तै इशाइ समाज दोलखा र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई स्वागत गरेका थियो । उनीहरु तारिखमा छुट्ने कुरा निश्चित भएकोले होला दिउँसो ३ बजे नै पत्रकार सम्मेलन राखिएको थियो । तर छुट्ने क्रम ढिलो भएकोले साँढे ३ घण्टापछि मात्रै पत्रकार सम्मेलन सुरु भएको थियो । क्षमायाचनाका लागि आयोजना गरिएको भनिएको पत्रकार सम्मेलनमा संस्थाका महासचिव र पदाधिकारी लगायतले घटनाप्रति क्षमायाचना गर्दै आइन्दा एकअर्काको धर्ममा आँच आउने क्रियाकलाप नगर्ने प्रतिवद्धता व्यक्त गरे । ‘घटनाले धार्मिक आस्थामा चोट लागेको भए क्षमायाचना गर्न चाहन्छौँ ।’ राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका महासचिव सीबी गहतराजले भने, ‘सबैले आआफ्नो धर्म मान्न पाउनुपर्छ । जवर्जस्ती कसैको धर्म परिवर्तन गराउन पाइँदैन ।’ त्यसैगरी ‘ख्रीष्टियन समुदायलाई आफ्नो धार्मिक अभ्यास गर्ने क्रममा सामाजिक सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा सचेत रहन आग्रह गर्दछौँ ।’ राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । तर उनले आफूहरुले जवर्जस्ती धर्म परिवर्तन नगराएको दावी गर्दै आफ्नो धर्मको बारेमा बताउन कसैले रोकेर नरोकिने जिकिर गरे । उनले टिच नेपालले संस्थाको उद्देश्य अनुरुप नै काम गरेको बताए ।
निराधार कुरामा धरपकड र थुनामा राख्ने कामले धार्मिक सहिष्णुतामा खलल आउने महासचिव गहतराजको चेतावनी थियो । उनीहरुले धरपकड र थुनाको घटनाबाट जिल्लाका १ सय चर्च र १५ हजार ख्रीष्टहरुलाई चोट पुगेको दुखेसो गरे । महासंघका महासचिवले भने, ‘आज धर्म प्रचारको आरोपमा थुनिएकाहरु थुनामुक्त नभएको भए संसारको २६ देशका ख्रीष्टियनहरु आन्दोलित हुने थिए ।’
छोटो रुपमा मुद्दा अघि बढाएकोमा उनीहरुले दोलखा जिल्ला प्रहरीलाई धन्यवाद दिए भने प्रक्रिया छोटो बनाइदिएकोमा अदालतलाई पनि धन्यवाद दिए । पत्रकार, नागरिक समाज, राजनीतिक दलहरुलाई पनि सहयोगका लागि धन्यवाद दिए । तर महासचिवले भने, ‘न्याय गर्ने प्रहरी, अदालतले हैन, परमेश्वरले गर्ने हो । परमेश्वरले हामीलाई न्याय गर्नुभयो ।’
प्रहरीले अभियुक्तहरुलाई नेपालको संविधान २०७२ को धारा २६ को धार्मिक स्वतन्त्रताको हकको उपधारा ३ र मुलुकी ऐनको अदलको महल १ अनुसार कारवाहीको माग दावीसहित मुद्दा चलाएको छ । यो मुद्दामा अभियोग प्रमाणित भएमा ६ वर्षसम्म कैद सजाय हुने र उद्योग गरेको प्रमाणित भएमा ३ वर्षसम्मको कैद सजाय हुने जिल्ला न्यायाधिवक्ता प्रकाश दाहालले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।