हाब्रेको छालासहित एकजना पक्राउ, बेवारिसे बन्दुक फेला

 आवाज संवाददाता     १७ भाद्र २०७३, शुक्रबार

दोलखा, भदौ १६/जिल्ला प्रहरी कार्यालय दोलखाले रेड पाण्डा अर्थात हाब्रेको छालासहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा बिहिवार दिउँसो चरिकोटको मध्यबजार स्थित एक होटलबाट दोलखा चंखु गाविस ६ का ५२ वर्षीय छोती शेर्पालाई हाब्रेको छालासहित प्रहरीले पक्राउ गरेको हो । संरक्षित जनावर हाब्रेको छाला वर्षादीमा बेरेर झोलामा राखिएको अवस्थामा शेर्पालाई मध्य चरिकोटको शेर्पा होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसको केही समयअघि पनि प्रहरीले चरिबाघ र ध्वाँसे चितुवाको छाला र सालकको खपटा सहित तिनको विक्रीवितरण तथा ओसारपसारमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।
संरक्षित जनावरको आखेटोपहार विक्री वितरण तथा ओसारपसार गरेमा १० वर्षसम्म कैद हुने व्यवस्था छ ।
त्यसैगरी प्रहरी गस्तीको क्रममा दोलखा चंखु गाविस ९ नागदिङमा बेवारिसे अवस्था छोडिएको भरुवा बन्दुक परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । नागदिङ गाउँसँगै बाटोछेउको झाडीमा डोकोमा लुकाइराखेको अवस्थामा प्रहरीले बन्दुक फेला पारेको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF