साउन २१ गतेदेखि व्यवसायिक उत्पादन गर्ने तयारीमा माथिल्लो तामाकोशी

 आवाज संवाददाता     १९ श्रावण २०७८, मंगलवार

साउन १९, चरिकोट ।

राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लोे तामाकोशी जलविद्युत् आयोजनाबाट साउन २१ गतेबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन हुने भएको छ ।

परीक्षणको रुपमा चार ओटा युनिटबाट विद्युत् उत्पादन गरिरहेको आयोजनाबाट साउन २१ गतेदेखि ७६ मेगावाट विद्युत्  व्यवसायिक  रुपमा उत्पादन शुरु हुने भएको हो ।

परीक्षण उत्पादन सफल भएकोले पहिलो युनिटबाट उत्पादीत ७६ मेगावाट विजुलीको साउन २१ गतेबाट व्यवसायिक उत्पादन गर्न शुरु गरिने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रबक्ता डाक्टर गणेश प्रसाद न्यौपानेले आर्थिक अभियानलाई बताए । प्रबक्ता न्यौपानेका अनुसार साउन १८ गतेबाट चौथो युनिटबाट पनि परीक्षणको रुपमा विद्युत् उत्पादन  शुरु भएको छ ।

चौथो युनिट सञ्चालनमा आएसँगैै हाल राष्ट्रिय प्रसारण लाईनमा माथिल्लो तामाकोशीबाट ३०४ मेगावाट विजुली प्रबाह भएको छ ।  यसअघि पहिलो युनिट असार २१ गते र दोस्रोबाट असार २९ गते  तेस्रो युनिटबाट साउन ८ गते सञ्चालनमा आएको थियो । भदौ महीनाभित्र सबै छ ओटै युनिट सञ्चालनमा आउने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ ।

आयोजनाबाट उत्पादीत विद्युत् विद्युतगृहदेखि २२० केभी गोंगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म तथा त्यहाँबाट २२० केभी प्रसारण लाइृनबाट खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत ४००/ २२० केभी ढल्केबर सब–स्टेसनसम्म लगिएको छ ।

खिम्ती सब–स्टेशनको काम पनि करीब सकिने अवस्थामा पुगेको प्रबक्ता न्यौपानेको भनाइ छ । ७६ मेगावाट क्षमताका छ ओटा युनिट रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट छ ओटै युनिट सञ्चालन हुँदा ४५६ मेगावाट विद्युत् उत्पादन हुने छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।