जिर्ण भवनमा जोखिम मोलेर बस्न बाध्य छन्, अनाथ बालबालिका

 आवाज संवाददाता     ३२ श्रावण २०७८, सोमबार

श्रावण,३२
चरिकोट÷भीमेश्वर नगरपालिका वडा नम्बर पाँचमा रहेको गौरिशंकर बाल गृहमा आश्रीत बालकहरु जिर्ण भवनमा जोखिम मोलेर बस्छ बाध्य छन् । सरोकारवालाहरुको बेवास्ताका कारण बालगृहमा आश्रीत बालकहरु विकल्प नभएपछि जोखिम मोलेरै बाल गृहमा बस्न बाध्य भएका हुन् ।
२०७२ सालको आम विनाशकारी भुकम्पले चीरा–चीरा पारेको भवन हाल सम्म पनि केन्द्रीय बाल संगठन तथा अन्य सरकारी निकायबाट निर्माणकालागि पहल हुन नसक्दा आश्रीत बालकहरु जोखिममा रहेको नेपाल बाल संगठन जिल्ला कार्य समितिका सभापती रामप्रसाद सापकोटाले बताए । आफू बाल संगठनको जिल्ला सभापती भएपछि पूनर्निर्माण प्राधिकरण तथा संघिय सरकार तथा प्रदेश सरकारका विभिन्न निकायहरुमा पत्राचार गरिरहेको तर कतैबाट पनि भवन निर्माणकालागि आश्वासन भने प्राप्त नभएको उनको भनाई छ ।
स्थानीयहरुको पहलमा करिब ९० रोपनी जग्गाको ब्यवस्थापन गरी २०५३ सालमा नेपाल बाल संगठनले संचालन गर्ने गरी आधुनिक भवनहरु सहित गौरिशंकर बाल गृहको स्थापना गरिएको थियो । भुकम्पले भवनहरु जिर्ण बनेर ढलान तथा भित्ताहरु चर्किएपछि ठूलो पानी पर्दा तथा भुकम्पको सानो धक्का जाँदा पनि आफूहरुको सातो जाने गरेको बालगृहमा आश्रीत रितिक सुनुवारले बताए । खान तथा अन्य सुविधा राम्रै भएपनि आफूहरु जीर्ण भवनको कारण त्रासमा बाँचीरहेको उनको दुःखेसो छ ।
“जिल्लाका जिर्ण सरकारी भवनहरुको पूनर्निर्माण भइरहेका छन् । तर अनाथ बस्ने भवनतर्फ हेर्ने कसैलाई फुर्सद छैन । ” स्थानीय छविन्द्र चाँैलागाईले भने “ अनाथ को संरक्षणमा राज्य यस्तो उदाशिन किन भएको होला ? हामी सर्वसाधारणलाई बुझन गाह्रो भो ।”
केन्द्रीय बाल संगठन अन्तर्गतको बालगृह भएकोले यसको भवन निर्माण गर्ने मुख्य दायित्व संघिय सरकारको भएको भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत केसी ले बताए । नगरपालिकाले बालगृहको हल तथा भन्साघरको रेक्ट्रोफिटिङ गरिदिएको उनको भनाई छ ।
घरको मात्र होइन बालगृह ब्यवस्थापनको पाटो पनि लथालिङ्ग रहेको छ । आश्रीत बालकहरुलाई निजी विद्यालयमा भर्नागरी पढाइकोमा लामो समयसम्म ति विद्यालयको शुल्क नतिरिएको अवस्था पाइएको बालसंगठनका सभापती सापकोटाको भनाई छ । यस्तै लामो समय देखि बाल गृहमा कार्यरत कर्मचारीहरुले तलब समेत पाउन सकेका छैनन् ।
खाद्यान्न,स्टेसनरी, खेलकुदका सामग्रीहरु समय समयमा मनकारी ब्यक्ति तथा संस्थाहरुले बालगृहलाई सहयोग गर्ने गरेका छन् । बाल गृहमा हाल ३० बालकहरु आश्रीत छन् भने तिन जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।