मालपोत कार्यालय दोलखाद्वारा आव २०७७–७८ मा ६ करोड १४ लाख राजश्व संकलन

 आवाज संवाददाता     १० भाद्र २०७८, बिहीबार

भाद्र,१०
नवराज शिवाकोटी/चरिकोट
जिल्ला मालपोत कार्यालय दोलखाले आर्थिक वर्ष २०७७–७८ मा करिब ६ करोड १४ लाख राजश्व संकलन गर्न सफल भएको छ । विभिन्न शीर्षकमा कार्यालयले उक्त आवमा ६ करोड १३ लाख ६३ हजार ९६७ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको हो ।
आब २०७७–७८ मा कार्यालय ६ करोड १३ लाख ६३ हजार ९६७ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख मुरारि दूलालले बताए । गत आबमा सबैभन्दा बढी राजश्व रजिष्ट्रेशन दस्तुर बापत तथा सबैभन्दा कम पूर्जा विक्री वापत उठाएको दूलालको भनाई छ ।
कार्यालयको तथ्याङ्क अनुसार गत आवमा सबैभन्दा बढी रजिष्टेशन शूल्क वापत ३ करोड ६० लाख ८४ हजार ८२२ रुपैयाँ अशुली भएको छ । यसैगरी पूँजिगत लाभकर बापत १ करोड ४१ लाख ६ हजार चालिस, सेवा शुल्क तथा अन्य प्रशासनिक दस्तुर वातप ८० लाख ५८ हजार ९५५ तथा रोक्का दस्तुर वापत ८ लाख ३६ हजार ३०० रुपैयाँ अशुली भएको छ । यस्तै विविध शीर्षकमा २ लाख २१ हजार ९६० र पूर्जा विक्री बाट ५८ हजार २५० राजश्व अशुली भएको कार्यलाय प्रमुख दूलालले बताए ।

संकलित राजश्व मध्ये कानुन बमोजिम राजश्व बाँडफाँड अन्तर्गत प्रदेश तथा स्थानीय तहमा पठाउनु पर्ने रकम ४ करोड ७१ लाख ९९ हजार ६७७ मध्ये वागमती प्रदेशमा ९३ लाख ७५ हजार ४४ रुपैयाँ तथा जिल्लाका नौ वटा स्थानीय तहहरुमा १ करोड ३३ लाख ६९ हजार ९१९ रुपैयाँ पठाइएको जिल्ला मालपोत कार्यालय दोलखाले बताएको छ । प्रदेश तथा स्थानीय तहमा पठाउन बाँकी २ करोड ४४ लाख ५४ हजार ७१४ रुपैयाँ पठाइने क्रममा रहेको कार्यालय प्रमुख दूलालको भनाई छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।