खिम्तीको बिजुली प्रतियुनिट १३ रुपैयाँ, प्राधिकरणलाई युनिटमा ३ रुपैयाँ १६ पैसा नोक्सान

 आवाज संवाददाता     १८ भाद्र २०७३, शनिबार
काठमाडौं । नर्वेको लगानीमा निर्माण भएको खिम्ती जलविद्युत आयोजनाबाट बिजुली खरिद गर्दा नेपाल विद्युत् प्राधिकरणलाई प्रतियुनिट ३ रुपैयाँ बढी नोक्सान भएको छ ।
खिम्तीको बिजुलीको मूल्य बढेर औसत प्रति युनिट १३ रुपैयाँ (१२ सेन्ट) पुगेको छ । प्राधिकरणले बिजुली बिक्री गरेर औसत ९ रुपैयाँ ८४ पैसा मात्र आम्दानी गर्ने भएपछि प्रति युनिट ३ रुपैयाँ १६ पैसा नोक्सान भएको हो । विद्युत महशुल बढ्दा पनि खिम्तीको बिजुली किनेर बेच्दा प्राधिकरणलाई घाटा छ । खिम्तीको जडित क्षमता ६० मेगावाट छ । प्राधिकरणले खिम्तीको बिजुली किन्दा हिमाल पावर लिमिटेडलाई डलरमा भुक्तानी गर्दे आएको छ । डलर मजवुत भएका कारण भुत्तानीमा असर पर्ने देखिन्छ । हाल १ डलर बराबर १०७ रुपैयाँ छ ।
खिम्ती आयोजनाबाट वार्षिक ३५ करोड युनिट बिजुली उत्पादन हुन्छ । हालको मूल्यलाई हेदा चालु आर्थिक वर्ष प्राधिकरणले हिमाल पावरलाई ४ अर्ब ५५ करोड रुपैयाँ भुत्तानी गर्नुपर्ने हुन्छ । खिम्तीको बिजुली विक्रिबाट प्राधिकरणले औसत ३ अर्ब ४४ करोड ४० लाख रुपैयाँ आम्दानी गर्नेछ । खिम्तीबाट यो वर्ष १ अबै १० करोड ६० लाख रुपैयाँ सिधै घाटा हुने देखिन्छ । असारसम्म बिजुली विक्रीबाट औसत प्रतियुनिट औसत ८ रुपैयाँ २७ पैसा आम्दानी हुने गरेको थियो ।
०५८ देखि व्यवसायिक रुपमा बिजुली उत्पादन गरेको हिमालको प्राधिकरणसँग आउँदो सन् २०२० मा विद्युत खरिदविक्री सम्झौता (पीपीए) को म्याद सकिनुका साथै आधा स्वामित्व प्राधिकरणका आउने छ । सरकारले ५० वर्षका लागि हिमाललाई विद्युत उत्पादन अनुमतिपत्र(लाइसेन्स) दिएको हो ।
यस्तै भारतबाट आयात गर्दा औसत साढे ९ रुपैयाँ, चिलिमेको बिजुली मूल्य प्रतियुनिट ७ रुपैयाँ ४५ पैसा र नेपाली उत्पादकबाट खरिद गर्दा प्रतियुनिट औसत ५ रुपैयाँ ४० पैसा पर्छ ।
साभारः बाह्रखरी

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।