दोलखामा पहिलो पटक हाई अल्टिच्युड रिङ रेस्लिङ च्याम्पियनसिप प्रतियोगिता हुँदै

 आवाज संवाददाता     ३१ आश्विन २०७८, आईतवार

नवराज शिवाकोटी
चरिकोट, असोज ३१

दोलखा जिल्लामा हाई अल्टिच्युड रिङ रेस्लिङ च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ ।

नेपाल रिङ रेस्लिङ  संघ तथा प्रदेश खेलकूद विकास परिषद, बाग्मती प्रदेशको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

आइतवार आयोजित पत्रकार सम्मेलनमा नेपाल रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले  प्रदेश सरकारको साहसिक तथा पर्यटकीय खेलकुद प्रतियोगिता गर्ने कार्यक्रम अन्तर्गत सदरमुकाम नजिकै रहेको भ्युटावरस्थित फुटवल मैदानमा कात्तिक १३ गते प्रथम हाइअल्टिच्युड रिङ चयाम्पियनसिप २०२१ को आयोजना गरिने बताइन् । दोलखाको पर्यटन विकासका लागि यो प्रतियोगिता सहायक सिद्ध हुने पनि उनको भनाइ थियो ।

प्रतियोगितामा नुवाकोटे टाइगर,थागु, डेभिड, साइन, टुपी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, सिजे, एससी, जोनलगायत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा हेभी वेट च्याम्पियनले, १ लाख ५० हजार रुपैयाँ, हार्डकोर च्याम्पियनले १ लाख २० हजार रुपैयाँ, मिडल वेट च्याम्पियनले ८५ हजार रुपैयाँ, ट्याग टिम च्याम्पिएनले ७५ हजार रुपैयाँ, लाईटवेट च्याम्पियनले ५० हजार रुपैयाँ र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार रुपैयाँ पुरस्कारका साथ मेडल र प्रमाणपत्र पाउने आयोजकले बताएको छ ।

प्रतियोगितामा प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनीले रेफ्रीको भूमिका निर्वाह गर्ने छन् । प्रतियोगितामा करीब २९ लाख रुपैयाँ खर्च हुने आयोजको भनाइ छ ।

बाग्मती प्रदेशको विशेष गरी हिमाली जिल्लामा पर्यटन प्रवर्द्धन गर्नका लागि साहसिक खेलकूद आयोजना गर्ने प्रदेश सरकारको नीति अनुरुप दोलखा जिल्लामा पहिलो पटक रेस्लिङ च्याम्पियनसिपको आयोजना गरिएको प्रदेश खेलकूद विकास परिषदका सदस्य–सचिव सूर्यलाल भण्डारीले पत्रकार सम्मेलनमा बताए ।

प्रत्यक्ष रुपमा हिमाल देख्न सक्ने गरी खुल्ला स्थानमा आयोजना गरिएको यो रेस्लिङ सम्भबतः विश्वकै पहिलो हुन सक्ने उनको भनाइ छ । प्रतियोगिता सञ्चालनको लागि प्रदेश खेलकुद विकास परिषदले १० लाख रुपैयाँ सहयोग गरेको  छ ।

यो वर्ष प्रदेश खेलकूद परिषदले राष्ट्रिय स्तरको रेस्लिङ च्याम्पियनसिप दोलखामा आयोजना गरेको तथा आगामी वर्षदेखि विश्वका चर्चित रेस्लरहरु ल्याएर अन्तरराष्ट्रिय रेस्लिङको आयोजना गर्न प्रयत्न भइरहेको सदस्य–सचिव भण्डारीले बताए । यस्ता खालका प्रतियोगिताको आयोजनाले पर्यटन उद्योग उकास्न मद्धत पुग्ने स्थानीय व्यवसायी सुन्दर कार्कीको विश्वास छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।