सडक निर्माणमा ठेकेदार कम्पनिको चरम लापरवाही विरुद्ध आम दोलखाली उत्रिए आन्दोलनमा

 आवाज संवाददाता     ४ मंसिर २०७८, शनिबार

नवराज शिवाकोटी
मंशिर,४, दोलखा
लामोसाँघु जिरी सडक खण्ड अन्तर्गत पर्ने करिब ३० किलोमिटर मुडे–चरिकोट सडक, निर्माण सुरु भएको ६ बर्ष बितिसक्दा पनि नबनेकोमा असन्तुष्टी जनाउँदै दोलखाका आम नागरिकहरु चरण बद्ध आन्दोलनमा उत्रिएका छन् । कार्तिक २७ गते देखि उनीहरु नागरिक अगुवाहरुको अगुवाइमा चरणबद्ध आन्दोलन मा उत्रिएका हुन् ।
कार्तिक २७ गते भीमेश्वर नगरपालिका वडानम्बर सातकोे मकैबारीमा काठमाडौंतर्फजाने गाडिमा भौतिक पुर्वधार तथा यातायात मन्त्री रेणुकुमारी यादव,भौतिक पुर्वधार तथा यातायातका सचिव रविन्द्रनाथ श्रेष्ठ तथा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको फोटोसहितको पोस्टर टाँसी सडक निर्माणमा भएको ढिलाईको विरुद्धमा उनीहरुले आन्दोलन शुरु गरेका थिए । आन्दोलनकै क्रममा नागरिक अगुवाहरुले सडक निर्माण आयोजनाको कार्यालयमा तालबन्दी गर्ने तथा जिल्लामा रहेका राजनैतिक दलका नेताहरुसँग सडक निर्माणमा भइरहेको ढिलाइकाबारेमा अन्तक्र्रिया समेत सम्पन्न गरिसकेको मुडे–चरिकोट सडक नागरिक संघर्ष समितिका संयोजक चिरञ्जिवी मास्केले जानकारी दिए ।
आन्दोलनकै क्रममा शनिवार जिल्ला सदरमुकाम चरिकोटमा संघर्ष समितिको आयोजनामा जिल्लाका सांसद तथा नागरिकहरुको विचमा सडक निर्माणमा भइरहेको ढिलाईका बारेमा छलफल कार्यक्रम आयोजना गरेको थियो । छलफलमा जिल्लाबाट प्रतिनिधित्व गर्ने ९ जना सांसद हुँदा पनि सडक निर्माण हुन नसक्नुको कारण बारे आक्रोशित हुँदै सरोकारवालाहरुले सांसदहरुलाई प्रश्न गरेका थिए ।
सरोकारवालाहरुको प्रश्नको जवाफ दिँदै दोलखाबाट संघिय संसद प्रतिनिधिसभाका सांसद तथा पूर्व संचार मंत्री पार्वत गुरुङले आफू सडक निर्माण सम्पन्न गराउन लागिरहेको जवाफ दिएका थिए । सांसद गुरुङले मिटर ब्याजि तथा ठेकेदार कम्पनीमा धेरै मानिसको सहभागीता भएको कारण काममा लापरबाही भएको बताए । अब ठेक्का तोड्न वा तत्काल निर्माण शुरु गराउनआफू लागी पर्ने उनले सरोकारवाला समक्ष छलफलका क्रममा प्रतिवद्धता जाहेर गरेका थिए ।

यस्तै अर्की संघिय सांसद शान्तिमाया पाख्रिनले आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै आवश्यक परे आफूपनि आन्दोलनमा सहभागी हुने बताइन । यस्तै बागमती प्रदेश सभाकी सांसाद रचना खड्का, भीमेश्वर नगरपालिकाका मेयर भरत केसी, शैलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतले पनि ठेकेदारको चरम लापरवाहिका कारण दोलखालीले दुःख पाएकोमा आक्रोस ब्यक्त गर्दै तत्काल सडक निर्माणकालागि सम्बन्धित निकायको ध्यान जानु पर्नेमा जोड दिएका थिए ।
५०१ सदस्यीय नागरिक संघर्ष सममितिले आगामी दिनमा सडक आसपासका प्रत्येक टोल टोलमा संघर्ष समिति गठन गर्ने, सांसदहरुका गाडी जिल्ला छिर्न नदिने , मन्त्रालय तथा सडक विभाग घेराउ गर्ने लगायतका संघर्षका कार्यक्रम बनाएको नागरिक अभियन्ता रमेश खतिवडाले जानकारी दिए ।
भारतीय एक्जिम बैंकको लगानीमा सडक विस्तार तथा स्तरोन्नतिको काम भईरहेको लामोसाँघु–जिरी सडक अन्तर्गतको मुडे–चरिकोट खण्ड ठेकेदारले काम नगरेका कारण ६ वर्ष यता अलपत्र छ । यो सडक खण्डको निर्माणको जिम्मा भारतिय कम्पनी सकिल हैदर—शंकरमालि—सुनौलो खिम्ती जेभीले २०७२ सालमा ठेक्का सम्झौता गरी लिएका थिए । ठेकेदार कम्पनीको लापरबाहीका कारण अहिले सम्म सडक बन्न सकेको छैन ।
वर्षातमा हिलाम्य र हिउँदमा धुलाम्य भएका कारण सडक नजिकका बासिन्दा सबै भन्दा बढी पिडित भएकोले नागरिक आन्दोलनमा आफूहरुको पुर्ण सहयोग र समर्थन रहने भीमेश्वर नगरपालिका वडा नम्बर नौ का वडाध्यक्ष चित्रबहादुर भूजेल, वडा नम्बर आठ का नहकुल केसी, वडा नम्बर सातका कैलास कुमार तामाङ, वडा नम्बर छ का नविन लामा तथा ववडानम्बर तिनका वडा अध्यक्ष हरिशरण शिवाकोटीले बताए ।
अघिल्लो वर्ष पनि दोलखाका स्थानीयहरुले नागरिक अगुवाहरुको नेतृत्वमा ठेकेदारको फोटो सार्वजनिक सवरी साधनहरुमा टाँस्ने, ठेकेदार कम्पनीका विरुद्ध संख फूक्ने लगाएतका कार्यक्रमहरु गर्दै आन्दोलन गर्दै आएका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।