पार्टीलाई नयाँ उचाईमा पुर्याउन मेरो उम्मेद्वारीः नरबहादुर श्रेष्ठ

 आवाज संवाददाता     २२ पुष २०७८, बिहीबार

नवराज
नेपाल कम्युनिष्ट पार्टी एमाले दोलखाको दशौं अधिवेशन को पूर्व सन्ध्यामा अहिले एमाले दोलखाको आन्तिरिक पार्टिगत राजनीति निक्कै तातेको छ । दोलखा जिल्लाका सबै तहको निर्वाचन प्रायःजित्दै आएको एमालेमा अहिले को पार्टी अध्यक्ष बन्ने भन्ने बारे चियापसल देखि मिडिया सम्म कुराकानीको विषय बनेको छ । दोलखा एमालेमा अहिले निक्कै प्रभावशाली ४ जनप्रतिनिधिहरु अध्यक्षका दावेदारका रुपमा अगाडि आएका छन् । मेलुङ गाउपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठ, भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसी, शैलुङ गाउँपालिकाका अध्यक्ष भरत प्रसाद दुलाल तथा जिसस दोलखाका संयोजक डबल पाण्डेले विभिन्न माध्यमद्वारा एमाले जिल्ला अध्यक्षमा आफ्नो उम्मेद्वारीको दावी प्रस्तुत गरेका छन् । सबै एमालेका हेभिवेट उमेद्वार हुन् । अध्यक्षको दावी गर्ने सबै नकपा एमाले दोलखाका चर्चित हस्तिहरु पनि हुन् ।
संयोगले लेखक सँग सदरमुकाम चरिकोटको एक कफिसपमा एमाले दोलखाको अध्यक्षमा दावी गरिरहेका वर्तमान एमाले दोलखाका उपाध्यक्ष एबं मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठ सँग भेट भयो । उनी एमालेमा नवौं अधिवेशनमा पनि अध्यक्षका प्रतिश्पर्धि थिए । उक्त अधिवेशनमा ईश्वर चन्द्र पोखरेलसँग अध्यक्षमा प्रतिश्पर्धा गर्दा गर्दै सहमतीमा उपाध्यक्ष पदमा रही काम गर्न मञ्जुर गरेका श्रेष्ठ उपाध्यक्ष भइसकेको मानिसले यो पटक अध्यक्षमा दावी गर्नु स्वभाविक भएको बताउँछन् । श्रेष्ठ लेखक सँगको भेटमा निक्कै गफिए भावनात्मक कुरा पनि भयो । कुराकानीकै क्रममा उनले अब आफ्ने ध्येय एमालेलाई अझ उचाईमा पुर्याउनु मात्र रहेको र यसैकालाग अध्क्षमा उम्मेद्वारी दिने तयारी गरेको बताए । एमालेको जिल्ला अध्यक्ष बनेमा आफु कुनै पनि तहको निर्वाचनमा नलड्ने केवल पार्टी का उम्मेद्वारहरुलाई जिताउन मात्र लाग्ने श्रेष्ठको भनाई छ ।
कक्षा ६ मा पढ्दा देखि गाउँ– ठाउँमा भएका अन्याय अत्याचार देखेर तथा त्रिभुवन मावी मेलुङका शिक्षक बैकुन्ठ पौडेलको प्रशिक्षणबाट आफूले कम्युनिष्ट विचार धारा बोकेको बताउने नर श्रेष्ठको राजनैतिक जीवन त्रिभुवन माविबाटै सुरु हुन्छ । पञ्चायतकालको जगजगीको समय भएपनि आफू त्रिभुवन मावि मेलुङको स्ववियु सभापती बनेको स्मरण अझै पनि उनको मनमस्तिष्कमा ताजै छ ।
त्रिभुवन माविबाट सुरु भएको उनको राजनैतिक यात्रा यत्तिमै सिमित भएन उनी अनेरास्ववियु दोलखाको सदस्य, सहसचिव, उपाध्यक्ष हुँदै २०३८ सालमा सालमा जिल्ला अध्यक्ष बन्न पुगे ।
यतिमात्र होइन नरदेवी आयुर्वेदिक क्याम्पसमा स्ववीयु सभापतीको प्रत्यासी समेत बने तर नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको दबदवा रहेको क्याम्पसमा उनी पराजित भए ।
सामान्य आर्थिक हैसियत भएको परिवार भएकोले श्रेष्ठ अध्ययन पछि जागीर गर्न बाध्य भए । जागिर खाँदा पनि बैचारीक आस्थामा विचलन आएन । निजामती कर्मचारी संगठनमा आद्ध भएर विभिन्न जिल्लामा काम गरे तर पञ्चायतको कोपभाजनको शिकार भए । पेन्सन नभइ जागिर छाड्न बाध्य भए अनि पूर्णकालिन राजनीतिमा होमिए ।
पञ्चायतकालमा जनपक्षीय उम्मेद्वार जितवीर लामा तामाङका चुनावी पर्चा बोकेको अभियोगमा थुनामा परेको स्मृति उनको मनमा अझै ताजै छ । पर्चा बोकेकै अभियोगमा उनी पञ्चायत कालमा थुनामा परे । २०४६ को सफल जनआन्दोलन पछि राजनीति खुल्ला भयो । राजनीति गर्न सहज भयो । जिल्लामा प्राविधिक शिक्षा आवश्यक ठानी जिविकोपार्जनका लागि प्राविधिक विद्यालय खोले उनका प्राविधिक विद्यालयका उत्पादनका रुपमा रहेका विद्यार्थीहरु अहिले देशै भरी छरिएर रहेका छन् । यो सम्झँदा उनलाई गर्व लाग्छ । प्राविधिक विद्यालय संचालनका साथै उनले राजनीतिलाई पनि निरन्तरता दिइ रहे ।
माओवादी जनयुद्ध कालमा एमालेमा लागेर जनताका पक्षमा काम गरेवातनै माओवादीले उनको अपरहण गरेर ३,४ दिन बन्धक बनाएको तितो अनुभव उनीसँग छ । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि नयाँ संविधान बन्यो । संविधान बनेपछिको पहिलो स्थानीय तहको निर्वाचनमा उनी मेलुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । श्रेष्ठ मेलुङ गाउँपालिकाको अध्यक्षको रुपमा निर्वाचित हुँदा कहिले विपक्षिको समेत मन जिते अनि कहिले विवादित बने । पार्टीकालागि ४० वर्ष भन्दाबढी निरन्तर योगदान दिइरहेकोले आफूले अध्यक्षमा दावी गर्नु अन्यथा नभएको एमाले नेता श्रेष्ठको बुझाई छ ।

अब आफूलाई एकपटक जिल्लाको पार्टिको नेतृत्व गरी एमाले लाई नयाँ उचाईमा पुर्याउने इच्छा रहेको लेखक सँगको भेटको अवसरमा श्रेष्ठले बताए । अध्यक्षका अरु आकाँक्षिहरुले अन्तिम सम्ममा यस पटक आफूलाई सहयोग गर्ने उनको विश्वास छ । निर्वाचन भएमा पनि आफू विजयी हुने मा उनी ढुक्क देखिन्छन् । यदि कथंकदाचित पराजित भएपनि कार्यकर्ताको निर्णय आफूलाई सहर्ष स्वीकार्य हुने तथा आफू जिल्लामानै रहेर पार्टीले दिउको जिम्मेवारी निभाउने उनले कुराकानीको क्रममा बताए ।
अहिले एमाले बृत्तमा अध्यक्ष बन्ने सूचिमा श्रेष्ठको नाम दोलखा एमाले बृत्तमा सर्वाधिक चर्चामा रहेको छ । तर एमालेको केन्द्रीय अधिवेशमा केपी ओलीलाई नाम प्रस्तावित गर्ने अधिकार दिइएजस्तै जिल्ला अधिवेशमा पनि कुनै अमुक नेताको प्रस्ताव लाई तालिबजाएर समर्थ गर्ने अवस्था नआउला भन्न नसकिने अवस्था रहेको एमाले निकटका बुद्धिजिवीहरुको भनाई रहेको छ । त्यो अवस्थामा को अध्यक्ष बन्छ भन्ने कुरा अहिले अनुमान गर्न नसकिने एमालेका जानकारहरु बताउँछन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।