तामाकोशी गाउँपालिकामा १५ करोडको लागतमा अस्पत्ताल निर्माण हुने

 आवाज संवाददाता     ४ माघ २०७८, मंगलवार

नवराज शिवाकोटी
चरिकोट
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु जामुने मा १५ करोडको लागतमा १० शैयाको अस्पत्ताल निर्माण हुने भएको छ । संघिय सरकारको लगानीमा अस्पत्ताल भवनको निर्माण हुने भएको हो ।
वडा नम्बर ४ को मालु,जामुनेमा अस्पत्ताल निर्माणकालागि केन्द्र सरकारबाट टेन्डर स्वीकृत भइसकेको र अव चाँडै निर्माणको तालनी हुने तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले बताए । अस्पत्ताल निर्माणकालागि वडा नम्बर चारका स्थानीय वासिन्दाहरुले ९ रोपनी जग्गा दान दिएको अध्यक्ष पोखरेलको भनाई छ ।
वडा नम्बर चारका स्थानीय वासिहरु परशुराम पोखरेल, राजन पोखरेल, पदमबहादुर खत्री थीर कुमारी पोेखरेल तथा जनार्दन पोखरेलले अस्पत्ताल निर्माणकालागि निःशुल्क जग्गा प्रदान गरेको वडा नम्बर ४ का वडाध्यक्ष होम बहादुर श्रेष्ठले बताए । आफूहरुले दानगरेको जग्गामा समयमै अस्पत्ताल भवन निर्माण भई संचालनमा आएको हेर्ने आफूहरुको चाहना भएको जग्गादाताहरुको भनाई छ ।
पालिकाको स्रोतसाधनले भ्याएसम्म आफ्ना नागरिकहरुलाई सुलभ रुपमा स्वास्थ्य सेवा पुर्याइरहेको तामाकोशी गाउँपालिकामा अस्पत्ताल संचालनमा आएपछि स्थानीयहरुलाई अझै सुविधा पुग्ने गाउँपालिकाका अध्यक्ष पोखरेलको विश्वास छ । सात वटा वडा रहेको गाउँपालिकामा अहिले आठ वटा २४ घण्टे बर्थिङ सेन्टर संचालनमा रहेका छन् । सात वटै वडाहरुमा स्वास्थ्य चौकिहरुले सेवा दिइ रहेका छन् । यसैगरी स्वास्थ्य चौकीबाट अपायक स्थानमा रहेका स्थानीयको लागि विभिन्न पाँच स्थानमा सामूदायिक स्वास्थ्य इकाईको ब्यवस्थागरी जनशक्ति र औषधिको ब्यवस्थापन गरिएको गाउँपालिकाको भनाई छ । यसका साथै गाउँपालिका भित्र एक नागरिक आरोग्य केन्द्र पनि संचालमा रहेको अध्यक्ष पोखलेलले बताए ।
गाउँपालिकाले प्रेसर र सुगरका रोगीहरुलाई निःशुल्क औषधि वितरण गर्ने ब्यवस्था मिलाएको अध्यक्ष पोखरेलको भनाई छ । यस्ते नेपाल सरकारले तोकेका गम्भिर प्रकृतिका रोग लागेका रोगीहरुलाई केन्द्र सरकारले दिने उपचार खर्चमा २० हजार गाउँपालिकाले थप सहयोग प्रदान गर्ने गरेको तामाकोशी गाउँपालिकाका मुख्य प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिए । कोभिड १९ बाट संक्रमित विरामीहरुलाई उपचारकालागि पालिकाबाट बाहिर लैजान तथा उपचार पछि घर फर्काउन निःशुल्क एम्बुलेन्स सेवा गाउँपालिकाले प्रदान गर्दै आएको छ । आफ्नै दुईवटा एम्बुलेन्स बाट अन्य रोगलागेका गाउँपालिका भित्रका निवासीलाई उपचार गर्नकालागि बाहिर लैजान तथा ल्याउन समेत एम्बुलेन्स भाडामा ३३ प्रतिशत छुट दिने गरिएको तामाकोशी गाउँपालिकाले बताएको छ ।
दश शैयाको अस्पत्तालको निर्माण पछि जटिल प्रकृतिका रोगहरुको पनि उचार स्थानीय स्तरमै हुने स्थानीयहरुको आशा छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।