ग्रिन इनर्जी उत्पादन गरी जीवास्म इन्धन विस्थापित गर्न सकिनेः प्रधानमन्त्री देउवा

 आवाज संवाददाता     ६ चैत्र २०७८, आईतवार

नवराज शिवाकोटी
चैत्र,५,दोलखा
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा ग्रीन/क्लिन इनर्जी ( जलविद्युत) को उत्पादन गरी जीवास्म इन्धनलाई विस्थापितगर्ने सम्भावना गरहेको बताएका छन् । शनिवार माथिल्लो तामाकोशी जलविद्युत आयोजना अन्तर्गत निर्माण सम्पन्न २२०/१३२ केभीको नयाँ खिम्ति सब स्टेशनको उद्घाटन पश्चात आयोजनाको विद्युत्गृह रहेको स्थान गोंगर खोलामा आयोजित सब–स्टेशन उद्घाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान मन्त्री देउवाले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तामाकोशी जलविद्युत आयोजनाले नेपालको विद्युत आपूर्ति प्रणालिमा ठूलो सहयोग पुर्याएको बताए । आगामी दिनमा दुधकोशी, पश्चिम सेती लगायतका जलासय युक्त आयोजनाहरु बनाउन सरकारले प्राथामिकता दिनृ उनको भनाई छ । जलविद्युत उत्पादन गर्न लाइसेन्स लिने अनि काम नगर्ने “झोलामा खोला राख्ने” प्रबृत्तिलाई निरुत्साहित गरिने पनि उनले उक्त अवसरमा बताए ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उर्जामन्त्री पम्फा भुषालले स्थानीय आयोजनाको पहिलो लाभ स्थानीय वासिन्दाले पाउनु पर्नेमा जोड दिँदै अब बन्ने ठूला आयोजनाहरु पनि तामाकोशी मोडलमा नै बन्ने बताइन । पेट्रोलियम पदार्थको भरपर्दो विकल्प जलविद्युत हुने भएकोले सरकार जलविद्युत विकासमा लागीरहेको उनको भनाई थियो ।
यसै गरी बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले उत्तरी दोलखाको भाग्यसँग जोडिएको परियोजना भएकोले द्वन्द्वकालमा समेत तत्कालिन माओवादीले आयोजना निर्माणमा अवरोध नगरेको बताए । तर दोलखालीले अपेक्षाकृत लाभ आयाजनाबाट पाउन नसकेको गुनासो गरे । आयोजनाको लागत कसरी बढ्यो भन्ने सम्बन्धमा जनतालाई चित्त बुझ्दोगरी सार्वजनिक सुनुवाई गर्न समेत आग्रह गरे ।
कम शेयर परेका कारण सर्व साधारण दोलखालीलाई मर्का परेको भन्दै उर्जा सचिव देवेन्द्र कार्कीले यो गुनासो सम्बोधनकालागि स्थानीय दोलखावासीकालागि राईट शेयर दिन सकिने बताए ।
कार्यक्रमको सभापतित्व गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना सफल पार्न आम दोलखालीले सहयोग गरेकोको मा धन्यवाद दिएका थिए । साथै आयोजनाका लगाढी बढ्नुको विस्तृत विरण दिन आयोजना तयार रहेको उनले बताए ।
कार्यक्रमलाई प्रतिनिधिसभा सदस्य द्वय पार्वत गरुङ तथा जिपछिरिङ लामा लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रमका अवसरमा आयोजना सफल बनाउन सहयोग गर्ने दर्जन भन्दा बढी ब्यक्ति तथा संस्थाहरुलाई सम्मानित गरिएको थियो ।
शनिवार विहान रामेछाप जिल्लाको फुलासीमा रहेको सब–स्टेशनको उद्घाटन पछि गोंगरमा आयोजित समारोहलाई सम्बोधन गर्न उर्जा मन्त्री पम्फा भुषाल सहित देउवा हेलीकप्टरबाट कार्यक्रम स्थलमा पुगेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।