सामुदायिक विद्यालय सुधार गर्ने उपायहरु

-कमल दहाल

 आवाज संवाददाता     १५ असार २०७९, बुधबार

पथ प्रदर्शकले जस्तो वाटो देखायो हिड्नेले त्यस्तै त्यस्तै वाटो हिड्छ । एऊटा निष्ठावान शिक्षकले अरुलाई वाटो देखाऊँदा निष्ठा नखल्बलियोस् भनेर हरदम सचेत रहनु पर्दछ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा सरोकारवालाले विद्यालयको सिकाई प्रकृया सुधार नगरी सामुदायिक विद्यालयको परिवर्तन प्रायःअसम्भव छ । भौतिक संरचनामा विद्यालय अव्वल वन्दै गएका छन तर क्रमश कक्षाकोठा खाली हुने अवस्था पनि संगै आईरहेको छ । यो समस्याको मुक्तिकालागि सामुदायिक विद्यालयका शिक्षकले केहि परिवर्तन ल्याऊन कोशिस गर्नै पर्ने हुन्छ ।

हाम्रा सामुदायिक विद्यालय सुधार्ने हो भने आम मानिसले वर्षौं देखि भनिआएका केही कुरा लाई गलत सावित गर्न सक्नुपर्दछ । उदाहरणार्थ सामुदायिक विद्यालयमा राम्रो पढाइ हुँदैन, राजनीति बढी हुन्छ । शिक्षकहरूगफ गरेर नै दिन बिताउँछन्, नियमित रूपमा कक्षामा उपस्थित हुँदैनन् र जति तालिम पाएका भए पनि विद्यार्थीलाई राम्रो संग सिकाउँदैनन् । आफु संस्थागत विद्यालयमा लगानी गर्छन् र आफ्ना छोराछोरीलाई पनि त्यतै भर्ना गर्छन् । सामुदायिक विद्यालय भनेको त सामान्य जनताका छोराछोरीले मात्र पढ्ने ठाउँ हो भन्ने आरोपलाई गलत सावित गराउने इच्छा, जाँगर र प्रतिबद्धता शिक्षकहरुमा भएन भने सामुदायिक विद्यालयको अवस्था सुधार को कुरा नगरे पनि हुन्छ ।

सरोकारवालाहरुले सामुदायिक विद्यालयको अवस्था सुधार गर्नै पर्छ, किनभने त्यहाँ पर्याप्त मात्रामा तालिमप्राप्त योग्य शिक्षकहरू छन् । भौतिक संरचना उपयुक्त छ । विशेषगरी शिक्षकहरु तथा अन्य सरोकारवालाहरुले सामुदायिक विद्यालय सुधार्न प्रयास गरेन भने मुलुकले दशकौंसम्म खर्च गरेको स्रोतसाधन खेर जानसक्छ । यो अवस्थामा विद्यार्थीहरुलार्ई राम्रो सँग सिकाऊन सकिएन भने यो पुस्ता मात्र होइन र अर्को पुस्ता पनि गरीबी ,बेरोजगरीको कुचक्रमा फस्न सक्छ । त्यसैले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सम्पूणर् सरोकारवालाहरू जुट्नुको विकल्प छैन ।
यहाँ सामुदायिक विद्यालयको सुधारका लागि शिक्षक, विद्यार्थी, अभिभावक, प्रधानाध्यापक विद्यालय व्यवस्थापन समिति, स्थानीय निकाय का पदाधिकारी कस्तो हुनुपर्छ ? के गर्दा गुणस्तर बढ्छ ? कस्तो गरे ?के गरे ? सामुदायिक विद्यालयको सुधार गर्न सकिन्छभन्ने विषयमा सरोकारवालाहरुले ध्यान दिन जरुरी छ ।

शिक्षकः
शिक्षक स्वयं समाज को उदाहरणीय पात्र बन्न सक्नुपर्छ । सामाजमा शिक्षक भनेको अगुवा वुद्दिजिवी सामाजिक अभियन्ता हो भन्ने विश्वास हिजो पनि थियो आज पनि छ त्यसैले शिक्षक प्रविधिलाई पछ्याउन सक्ने, विषयगत समुह निर्माण गर्ने, प्रश्न पत्र तयारी गर्ने ,सक्ने मात्र होइन ,ऊतरकुञ्जीका तयारी गर्ने,समुहमा काम गर्ने ,विद्यार्थीलाई मैले के सिकाए ,मैले सिकाएको वुझेको छ, तपाईहरुले आज के सिक्नु भयो ? हिजो र आजमा तपाईमा के फरक आएको छ ? आज तपाईले जानेको कुरा के हो? तपाईहरुले अव के गर्नु पर्छ ? भनेर सवै कक्षामा सधै भन्ने शिक्षक हुनुपर्छ । कार्यक्षमता, कार्यकौशलता, सिकाइ उपलब्धि र प्रविधिको प्रयोग कसरी गरेको छु भन्ने कुरा सधै स्वमूल्याकन गर्ने शिक्षक हुनुपर्दछ । सहयोगी असल ,योग्य, दक्ष, सक्षम र बालबालिका-अनुकूल व्यवहार गर्न सक्ने व्यक्ति शिक्षक हुनुपर्छ ।
विद्यार्थीः
विद्यालयका प्राण विद्यार्थी नै हुन् । विद्यार्थी अनुशासित, जीज्ञासु ,परिश्रमी, लगनशील र नियमित भए भने उनीहरूको भविष्य उज्यालो हुन्छ । तर उनीहरूलाई अनुशासित, परिश्रमी, लगनशील बनाउने कसरी भन्ने प्रश्नको जवाफ भने सजिलो छैन ।
हामीलाई व्यवहारोपयोगी शिक्षा चाहिन्छ । शिक्षा परीक्षामा पास र फेलका लागी मात्र होइन जीबन वदल्ने साधन वन्नु पर्छ ।परीक्षामा विभिन्न विषयमा धेरै नम्बर ल्याएर मात्र पुग्दैन, त्यसै अनुसारका व्यवहार र सीप पनि जान्नुपर्छ । काम र उद्यमशीलताप्रति आस्था र सम्मान गर्ने , जिज्ञासु र अध्ययनशील विद्यार्थी वनाऊनु पर्दछ । सवैभन्दा पहिला विद्यार्थीलाई पढ्ने पास र फेलका लागी होइन ।जीवन वदल्नका लागी पढ्ने हो भन्ने भावना विद्यार्थीको मानस्पटल मा घुसाऊनु नै आजको प्रमुख आवश्यकता हो ।
अभिभावकः
विद्यालयमा विद्यार्थी (छोराछोरी) पठाइदिंदैमा आफ्नो सम्पूणर् दायित्व पूरा भएको महसूस गर्ने अभिभावक हुनुहुँदैन । कम्तीमा पनि विद्यालयमा आफ्ना बच्चाको लागि आवश्यक सामग्री छन्/छैनन् ? आफ्ना छोराछोरीहरू नियमित विद्यालय जान्छन , जादैन्न ?कुन बेला, कसरी घर आउँछन् ? साथी संगती कस्तो छ र को हो?? गृह कार्य गर्छन् वा गर्दैनन् ? विद्यालयमा नियमित छन्/छैनन् ? संगत कस्तो छ ? कतिबेला सुत्छन् ? कतिबेला उठ्छन् ? घरमा के गरेर समय विताऊछन , मिहिनेत गर्छन्, गर्दैनन् ? जस्ता सामान्यः कुरा हरूको समेत ख्याल गर्ने अभिभावक हुनुपर्दछ । समय समयमा विद्यालय जाने र आफ्ना बच्चाको अवस्था के कस्तो छ भनेर शिक्षकसँग बुझनुपर्दछ । बालबच्चाको अगाडि अभिभावकले कहिल्यै पनि अरुको आलोचना नगर्ने, अरुको कुरा नकाट्ने ,धूम्रपान, मद्यपान, सूर्ती जन्य वस्तु सेवन नगर्ने हुनुपर्दछ ।
विद्यालय व्यवस्थापन समिति :
पहिलो कुरो विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, गाउँ शिक्षा समितिमा रहने सम्पूणर् पदाधिकारीका छोराछोरी सामुदायिक विद्यालयमा नै पढाउनु पर्छ । समितिका पदाधिकारीले बेलाबेलामा विद्यालयमा आएर निरीक्षण अनुगमनका साथै विद्यालयको व्यवस्थापन कार्यमा मद्दत गर्नु पर्छ । समितिको छनोट गर्दा राजनीतिक दृष्टिले नभई योग्य, दक्ष, सक्षम र क्षमतावान व्यक्तिको खोजी गरि छनौट गर्नुपर्छ । शिक्षक अभिभावकको सम्वन्ध प्रगाढ हुनुपर्दछ न्यानो हुनुपर्दछ एऊटै परिवारको घर जस्तो सन्वन्ध हुनु आवश्यक छ
प्रधानाध्यापकः
विद्यालय एउटा विमान हो भने त्यसको पाइलट भनेको प्रधानाध्यापक हो । प्रधानाध्यापक निष्पक्ष, निस्वार्थी, निडर र कुशल नेतृत्वदायी क्षमता भएको, प्रविधिमैत्री ,खोज अनुसन्धानकर्ता व्यक्ति हुनुपर्छ । प्रअ नेता मात्र होईन कि योजनाकार पनि हुनु पर्दछ । पूणर् जिम्मेवारी सहितको प्रधानाध्यापकलाई कक्षा लिन नपर्ने र प्रशासनिक कार्य तथा शैक्षिक प्रगतिका लागी मात्रै तल्लीन रहने व्यवस्था हुनुपर्दछ ।

स्थानीय तहः
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्थानीय तह एवं प्रतिनिधिहरू प्रतिबद्ध हुनुपर्छ । शिक्षक तथा विद्यालयलाई सूचनाप्रविधि मैत्री वनाऊने विद्यालयमा बालअनुकूल र व्यवहारोपयोगी तालिम का लागी योजना वनाऊने । शिक्षक का लागी अभिभावक समन्वय शिक्षा सञ्चालन को योजना वनाऊने । शैक्षिक योजना तथा रणनीति बनाई कार्यान्वयन गर्ने योजना वनाऊनु पर्दछ । विद्यालयमा अहस्तक्षेपकारी तर सहयोगी र सहजीकरण कर्ताको भूमिका निर्वाह गरी विद्यालय व्यवस्थापन समितिलाई सक्रिय बनाउने रणनीतिक योजना बनाऊनुपर्दछ। । विद्यालयको आर्थिक, भौतिक एवं शैक्षिक तथा अन्य आवश्यक पूर्वाधार विकास का लागि सक्रिय भूमिका निर्वाह गर्ने कर्तव्यनिष्ठ पदाधिकारी हुनु आवश्यक छ ।

विद्यालयको भौतिक वातावरणः
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयका भवन , विद्यार्थी वस्ने कक्षाकोठा ,शौचालय, खानेपानी, उमेर अनुसारको फर्निचर,खेल मैदान, खेलकुद सामग्ग्री ,भौतिक वस्तुहरू बाल तथा अपाङ्ग मैत्री अनुकूल हुनुपर्दछ । इमेल, इन्टरनेट, मल्टिमिडिया प्रोजेक्टर, स्मार्ट बोर्ड, स्मार्ट टिभि ,विद्युतीय हाजिरी तथा सिसी क्यामेरा सहितको कक्षाकोठा व्यवस्थापनहुनुपर्दछ ।कक्षाकोठामा वुक कर्नर, जव चार्ट, वर्थडे क्यालेन्डर,लभ जार, शिक्षण सामार्ग्री प्रदर्शन गर्ने डिस्प्ले वोर्ड , वसाई व्यवस्थापन जस्ता कुराहरु कक्षा कोठा भित्र नै हुनुपर्दछ । अबको विद्यालय भनेको प्रमाणपत्र दिने विद्यालय होईन, व्यावहारिक सीप र शिक्षा दिने विद्यालयको रूपमा विकास गरेर लैजानुपर्दछ । यो अभियान र प्रतिवद्दताका साथ सरोकारवाला लागी परे सामुदायिक विद्यालय सुधार गर्न सकिन्छ । त्यसका लागी सबै सरोकारवालाले पहिले आफैंबाट परिवर्तन शुरू गर्नु पर्छ । सुधारिएपछि सामुदायिक विद्यालयको महत्व बढ्छ । शिक्षकको सम्मान,प्रतिष्ठा ,स्वाभिमान र ईज्जत पनि उच्च हुन्छ । अनि सामुदायिक विद्यालयका कक्षा कोठा विद्यार्थीले भरिभराऊ हुने छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।