जनयुद्ध देखि शैलुङ गाउँपालिकाको अध्यक्ष सम्मको यात्रा रिमालबाबु श्रेष्ठको

 आवाज संवाददाता     २७ असार २०७९, सोमबार

दोस्रो स्थानीयतहको निर्वाचनबाट निर्वाचित स्थानीय तहका प्रमुख मध्ये शैलुङ गाउँपालिकामा माओवादी केन्द्रका तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष रिमाल बाबु .श्रेष्ठको विजय लाई धेरैले एउटा इमानदार नेताले पाएको सफलताको रुपमा लिए । जनयुद्ध कालमा आफ्नो एउटा हात गुमाएका श्रेष्ठ एक इमानदार छविका नेता अनि खासै चर्चामा आउन नचाहने नेताका रुपमा चिनिन्छन् ।

२०३५ साल माघ ११ गते हालको शैलुङ गाउँपालिका वडा नम्बर ३ को मागापौवामा जन्मिएका श्रेष्ठले स्थानीय दुर्गा माध्यमिक विद्यालयबाट २०५६ सालमा एसएलसी उत्तिर्ण गरे । सानैदेखि बामपन्थी विचारधाराबाट प्रभावित श्रेष्ठ माओवादीले जनयुद्ध सुरु गरेपछि विद्यार्थी राजनीतिमा सक्रिय भए । समयक्रमसँगै भूमिगत भएर पार्टी राजनीतिमा होमिए ।

जनयुद्ध उत्कर्षतिर पुग्दै थियो २०६० साल असोज महिनामा माओवादीलले ३ दिने एकतर्फि युद्ध विराम गरेको थियो । सोही समय असोज १५ गते मागापौवामा अचानक सेनासँग जम्का भेट भयो । गोली चल्यो सहकर्मी कमला बस्नेत(वर्षा) को गोली लागेर मृत्यु भयो । उनलाई पनि देब्रे पाखुरामा गोली लाग्यो । उनी बाल–बाल बाँचेर भागे । त्यसपछि गोली लागेको पखुरा कपडाले कसकास पारेर पैदल काठमाडौं पुगे । मोडल अस्पत्तालमा उपाचर गराउन खोज्दा पुलिस केस भनी अस्पत्तालले उपचार गर्न मानेन । क्यापिटल अस्पत्तालले बल्लतल्ल प्राथमिक उपचार गरिदियो ।

बल्ल–तल्ल विएन्डबी अस्पत्तालले अप्रेसन गरिदियो । जब अप्रेसन सकियो उनी होसमा आउँदा सिंगो अस्पत्ताल सेनाले घेरी सकेको थियो । त्यहीँबाट सेनाले गिरफ्तार गरिहाल्यो । सेनाले पक्राउ गरेपछि विना उपचार दुई महिना हिरासतमा राखियो । दुई महिनासम्म विना ड्रेसिङ राख्दा घाउ पाकेर किरानै परेको कटु अनुभव उनको छ । घाउ गन्हाएर अरुलाई पनि समस्या भएपछि उनलाई मरे मरोस भनी शौचालयमा राखियो । उपाय केही थिएन । उनले सानैमा सुनेका थिए आफ्नै पिसाबले पनि घाउ निकोपार्न सकिन्छ । उनी घाउ आफ्नै पिसावले सफा गर्न लागे । अचम्म ! उनको घाउ ठिक हुँदै गयो । सेनाले हातको अप्रेसन गर्न मानेन । ६० सालकै पुष महिनातिर उनलाई चरिकोट ब्यारेकमा ल्याइयो । दाई हेमबहादुर श्रेष्ठ सेनामा थिए । पछि बल्लतल्ल उनलाई सेनामै कार्यरत दाई हेमबहादुरको जिम्मा लगाई मुक्त गरियो ।

थुना मुक्त भएपछि उनी पूनः काठमाडौंमा उपचार गर्न गए । केही समय उपचार पनि गरे तर हात पूर्ण रुपमा काम गर्ने भएन । राजनीतिमा लागेको मानिस त्यसै बस्न त उपचारमा गए पनि कहाँ सक्थेर ? पार्टीको सम्पर्कमा त थिए नैं । उपचारको क्रममा पूनः २०६१ सालमा गिरफ्तार भए । ३ महिना जेल बसेपछि बन्दिप्रत्यक्षीकरण अन्तर्गत सर्वोच्च अदालतको आदेशमा रिहा भए ।

जनआन्दोलन भयो संसद पूनस्र्थापना भयो । शान्ति सम्झौता भयो । माओवादी शान्तिपुण राजनीतिमा आयो । उनी पार्टीका गतिविधिमा सक्रीय भए । विभिन्न समयमा उनले क्रान्तिकारी विद्यार्थी संगठनको जिल्ला अध्यक्ष, नेकपा माओवादीको जिल्लाकमिटी सदस्य, सचिवालय सदस्य, शैलुङ गाउँपालिका सेक्रेटरी, ईञ्चार्ज लगाएतका जिम्मेवारी सम्हाली सकेका छन् ।

स्थानीय तहको दोस्रो निर्वाचनमा गठबन्धनको तर्फबाट उनी शैलुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । जनतासँग आफू सुखदुःखमा भिजेको कारण नै शैलुङका जनताले आफू लाई माया गरेको उनको ठम्याई छ । जुन वर्गकालागि ज्यानको परवाह नगरी जनयुद्ध लडियो त्यसैको हितमा काम गर्नकालागि सत्तामा पुग्नु अनिवार्य भएकोले आफूले निर्वाचन लडेको उनको भनाई छ । निर्वाचन सकिएपछि सबै जनप्रतिनिधिले दलभन्दा माथि उठेर साझा जनप्रतिनिधिको रुपमा काम गर्नु पर्ने भएकोले आगामी दिनमा एक भएर शैलुङको विकासका लागि काम गर्नु पर्ने आफ्नो मान्यता रहेको उनी बताउँछन् ।

प्राकृतिक स्रोतका दृष्टिले भरिपूर्ण भएर पनि ठेकेदारको लापरबाहीले सडक निर्माण सम्पन्न नहुनु नै शैलुङको विकासको प्रमुख बाधक तत्व भएको उनको ठम्याई छ । अगामी दिनमा सडक स्तरोन्नति, कृषि, पर्यटन, शिक्षा, खानेपानी लगायतका क्षेत्रमा कार्य गर्नु आफ्नो प्राथमिकतामा पर्ने अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ ।

( शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठसँग आवाज अनलाईन का कार्यकारी सम्पादक नवराज शिवाकोटी ले गरेको कुराकानीमा आधारित । )

 

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।