जिरी पशु विकास फर्मको जग्गा अतिक्रमण

 आवाज संवाददाता     २३ भाद्र २०७३, बिहीबार

दोलखा र रामेछापमा रहेको जिरी पशु विकास फर्मको जग्गा अतिक्रमण भएको छ । जिरी पशु विकास फर्मको नाममा रहेको रामेछापको चुचुरे गाविसको गर्जाङ र दोलखाको श्यामा गाविसको खिम्ती खोला आसपासमा रहेको जग्गा तीब्र रुपमा अतिक्रमण भएको हो ।

जिरी पशु विकास फर्मसँग चुचुरे र श्यामाको खिम्ती खोला वारिपारि १ सय २५ हेक्टर जग्गा छ । तर त्यहाँको गर्जाङ र श्यामाको पुम्पामा बजार विस्तार भएसँगै जग्गा अतिक्रमण भएको हो । दोलखा र रामेछापको बीचमा पर्ने खिम्ती खोलाको दुवैतिर विद्यालय छन् । खिम्ती खोलाबाट गिट्टी बालुवा उत्खनन् भइ रहेको छ ।

पशु फर्मको जग्गामा स्थाीयहरुको घर व्यापक रुपमा बनेका छन् । त्यसलाई स्थानीयहरुले आफ्नै किसिमले व्यवस्थापन गरेका छन् । जलविद्युत आयोजना पनि पशु फर्मको जग्गामा बने तापनि कुनै पनि स्वीकृति लिएको छैन ।

गर्जाङतिर पशु फर्मको जग्गाबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गरे तापनि त्यसको कर स्थानीय संरक्षण क्षेत्रको समितिले लिदैं आएको छ । पशु फर्मले गर्जाङको जग्गा फर्म स्थापना हुँदै थारो र बीऊका बहरहरु पाल्नका लागि लिएको जग्गा हो । २०५७ सालमा माओवादी द्वन्द्वको बेला विद्रोहीहरुको निसानामा परेपछि बन्द भएको फर्म २ वटा बहर राखेर औपचारिकता मात्र दिएको छ ।

स्थानीयहरु चुचुरेको जग्गा पशु फर्मको नाममा नरहेको दाबी गर्छन् । सार्वजनिक जग्गा भएकाले स्थानीयले व्यवस्थापन गरेको बताउँछन् । जिरी पशु विकास फर्मका प्रमुख गण जिरेलले जग्गा संरक्षणका लागि अहिले काम भइरहेको बताए ।

फर्मसँग २००५ र २०१७ सालमा स्थानीय मिजारले दिएको प्रमाण छ । त्यो बेला सरकारी गोठ र खर्कको रुपमा रहेको थियो । त्यो जिरी पशु फर्मकै हो । चुचुरेमा २०३१ सालमा नापी हुँदा तत्कालिन फर्मका कर्मचारी र स्थानीयले बेवास्था गरेकाले अहिले समस्या आएको बताए ।

रामेछापको नापीको फिल्ड बुकमा चुचुरेको ६० हेक्टर जग्गा प्रति जग्गा भन्ने उल्लेख छ । श्यामाको जग्गा भने २०५१ सालमा नापी हुँदा नापी भएको छ । जिरी पशु फर्मले जिरीमा मुख्य फर्म रुपमा गाई पाल्दै आएको छ । जिरीमा ८४ हेक्टर जग्गा छ । फर्म प्रमुख जिरेलले पशु फर्म प्रति स्थानीय र सरकारको पनि बेवास्था गरेको गुनासो गरे ।

जिरीको गाई फाराम एक मात्र सरकारी गाई फारम हो । यहाँ अहिले १ सय २२ वटा सबै किसिमका गाई छन् भने ३८ वटा दुहुना गाई छन् । दैनिक १ सय ६० लिटर दुध फारामबाट उत्पादन हुने उनले जानकारी दिए ।

बि.सं. २०१४ बाट सञ्चालन भएको फारामबाट गाईको अनुसन्धान, बहर र बाच्छी उत्पादन गरी लिलाम हुन्छ । फारामबाट उत्पादन भएको दुध टेण्डर मार्फत बजारमा बिक्री हुन्छ । जिरीका गाई दोलखाका गाउँ सहित छिमेकी जिल्लादेखि सुदुरपश्चिमाञ्चलको दार्चुला, जाजारकोट, बझाङ लगायतका जिल्लासम्म पुगेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF