भीमेश्वर नगरलाई गिज्याउँदै आँखै अगाडि निर्माणाधिन कभर्ड हल

 आवाज संवाददाता     २२ श्रावण २०७९, आईतवार

नवराज शिवाकोटी
श्रावण,२२
चरिकोट/भीमेश्वर नगरपालिका को ढोकै अगाडि निर्माणाधिन कभर्ड हलले भीमेश्वर नगरपालिकालाई गिज्याई रहेको छ । नगरपालिकाले इन्डोर खेलकालागि निक्कै महत्व साथ अगाडि बढाएको कभर्डहल निर्माणकालागि थपेको म्यादमा पनि सम्पन्न हुन नसकि अलपत्र अवस्थामा पुगेपछि निर्माणाधिन कभर्डहलले भीमेश्वर नगरपालिका लाई गिज्याईरहेको हो ।
६ करोड ७२ लाख रुपैयाँ (भ्याट सहित) लागत अनुमान रहेको कभर्डहल एक वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी श्यामसुन्दर अभिषा जेभीले ६ करोड ४५ लाख ५४ हजार ३५२ रुपैयाँमा एक वर्षमा सक्ने गरी २०७६ साल चैत्र १ गते ठेक्का सम्झौता गरेको भीमेश्वर नगरपालिका इञ्जिनियर नकुल श्रेष्ठले बताए । समयमा काम नसकिने भएपछि २०७८ साल पुष मसान्त सम्म सक्ने गरी म्याद थप भएको इञ्जिनीयर श्रेष्ठको भनाई छ । तर थपिएको म्यादमा पनि ठेकेदारले काम समाप्त गर्ने तर्फ वास्ता नगरी सम्पर्कमा समेत नआएको भीमेश्वर नगरपालिकाले बताएको छ ।
थपिएको म्याद समाप्त भई आर्थिक वर्ष २०७८-७९ समाप्त हुँदा पनि ठेकेदार कम्पनीले ७० प्रतिशत भन्दा बढी भौतिक प्रगति गर्न सकेको छैन । हालसम्म कभर्डहलको भौतिक प्रगति ७० प्रतिशत र वित्तिय प्रगति करिब ५० प्रतिशत मात्र भएको इञ्जिनियर श्रेष्ठले बताए ।
डिपिसी पछिको स्ट्रक्चर विम प्याराफिट, साइटको स्ट्रक्चर, छाना तथा फिनिसिङको कामको जिम्मेवारी लिएको श्यामसुन्दर अभिषा जेभीले हाल सम्म स्ट्रक्चरका अन्तर्गत पिलर, विम, प्यारा फिट बनाउने वाल लगाउने लगायतका काम गरेको छ । तर छानोको काम तथा फिनिसिङको काम गरेको छैन ।
काम किन समयमै सम्पन्न भएन भनी  श्याम सुन्दर निर्माण सेवाका अर्जुन दहाललाई प्रश्न गर्दा पहिले कोभीडका कारण र अहिले फलामको भाउमा अत्यधिक बृद्धि भएका कारण समयमै निर्माण सम्पन्न गर्न नसकेको बताए । फलामको भाउ अहिले घटी रहेको तथा अझै घट्ने आशामा आफू रहेको उनको भनाई छ । फलामको भाउ घटेपछि निर्माण सम्पन्न गर्न सकिने भएकोले जेभीले पूनः म्याद थप्न कारण सहित निवेदन दिई सकेको उनको भनाई छ । तर भीमेश्वर नगरपालिकाले भने हाल सम्म म्याद थप नगरेको भीमेश्वर नगरपालिकाका सूचना अधिकृत जगदिस अर्यालले बताए । प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काको सरुवा भएको तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत भर्खरै आएकोले अब म्याद थपहुने वा नहुने निणर्य हुने उनको भनाई छ ।
११ सय १९ वर्गमिटर क्षेत्रफलमा निर्माणाधिन कभर्डहल पाँचसय दर्शक क्षमताको हुने भीमेश्वर नगरपालिकाले बताएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।