आयोजना प्रमुख नहुँदा बाहिरी चक्रपथ अन्योलमा

 आवाज संवाददाता     २५ भाद्र २०७३, शनिबार

२५ भदौ, काठमाडौं । निर्माण सुरु गर्ने समयमा बाहिरी चक्रपथ आयोजनामा प्रमुख नियुक्ति हुन नसक्दा अन्योल उत्पन्न भएको छ । बाहिरी चक्रपथ आयोजना दुई महिनादेखि प्रमुखविहीन भएको हो । आयोजना प्रमुखविहीन हुँदा बाहिरी चक्रपथ निर्माणको काम थाल्न समस्या भएको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

बाहिर चक्रपथ आयोजनाको प्रमुख रमामाया मानन्धरलाई सरकारले शहरी विकास मन्त्रालयमा बोलाएपछि आयोजनाको प्रमुख पद खाली भएको हो । पद रिक्त भएसँगै स्थानीयले बाली थन्काउन साथ ट्रयाक खोल्न सुरु गर्ने तयारी अन्योलमा परेको प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले अनलाइनखबरलाई जानकारी दिए ।

पहिलो चरणमा सतुंगलदेखि गम्चा हुँदै चोभरसम्म नयाँ ट्रयाक खोल्ने तयारी छ । मानन्धरलाई मन्त्रालयले काम गर्न नसकेको भन्दै साउन १ गतेबाट मन्त्रालयमै फिर्ता बोलाएको थियो । त्यसपछि सरकारले अहिलेसम्म आयोजना प्रमुख तोक्न सकेको छैन ।

सरकारले आयोजना प्रमुख नियुक्ति गर्ने नसक्दा आयोजना समेत स्वीकृत हुन नसकेको तिवारीले बताए । आयोजना प्रमुख पदका लागि पहिलो तहको अर्थात सह-सचिव स्तरको कर्मचारी माग गरको उनले बताए । व्यवस्थापन समितिले यसअघि पनि आयोजनाका प्रमुख पदमा सह-सचिव स्तरकै कर्मचारीलाई पठाउने गरिएको थियो ।

समितिका अध्यक्ष तिवारीले भने, ‘दोस्रो तहका कर्मचारी आउँदा काम गर्ने नसकेको अनुभव सरकारलाई नै छ । पुनः सोही तहका कर्मचारी आयोजना प्रमुखमा पठाउनु भनेको काम नगराउनेे लक्षण हो ।’

आयोजनामा प्रमुख विहीन भएको २ महिनासम्म सरकारी पक्षको ध्यान परेको छैन् । कर्मचारीको दरबन्दी व्यवस्थापनकै लागि अहिलेसम्म अर्थ र सामान्य प्रशासन मन्त्रालयमा कुनै छलफल हुन सकेको छैन ।

काम थाल्न बाटो खुला

प्रमुखविहीन बनेर आयोजनाको काम अगाडि नबढे पनि प्रभावित स्थानीयबाट भने काम अगाडि बढाउन बाटो खुला भइसकेको छ । आयोजनाले असार १७ गते जनताको गुनासो धारणा बुझन ३५ दिन सूचना समेत निकालेको थियो ।

काम रोक्न प्रभावित क्षेत्रका स्थानीयहरु मध्येबाट ५१ प्रतिशतको असहमती दर्ता हुनुपर्ने हुन्छ । आयोजनाबाट करिब ५ हजार घरधुरी प्रभावित हुन छन् । यसैको आधारमा करिब २५ सय स्थानीयको असहमती आएको अवस्थामा मात्रै काम अगाडि बढन सक्दैन । आयोजनको काम रोक्न करिब १ सय वटा मात्र असहमति परेको थियो ।

कसरी बन्छ बाहिरी चक्रपथ ?

यसअघि ७२ किमीको लम्बाइको हुने गरी प्रस्ताव गरिएको बाहिरी चक्रपथ अब पहिलेभन्दा केही परिवर्तन हनुेछ । पहिले परिरकल्पना गरिएभन्दा अब बन्ने चक्रपथ केही छोटो दुरीको हुनेछ । यसअघि काठमाडौंमा ३५.०८ किमी, ललितपुरमा १५.८० किमी र भक्तपुरमा २१.०५ किमी रहने गरी आयोजना प्रस्ताव गरिएपनि अब विभिन्न क्षेत्रलाई कटाएर चक्रपथ अझ वैज्ञानिक तवरले बनाउने सोचमा प्राधिकरण छ ।

बाहिरी चक्रपथ आठ लेनको हुनेछ । सडकका दुबै भागमा साइकल ट्रयाक रहनेछ भने ग्रीनरी बेल्ट सहित सडक किनारामा फुटपाथ पनि विकास गरिनेछ । सडक, फुटपाथ र साइकल ट्रयाकका लागि ५० मिटर फराकिलो जमिन प्रयोग हुनेछ ।

जग्गा विकास आयोजनाका शाखा अधिकृत ध्रुब सापकोटाका अनुसार चक्रपथको दायाँबायाँ २५०/२५० मिटर जग्गा एकीकरण गरिनेछ । यसलाई व्यवस्थित वस्तीका रुपमा विकास गर्न सडक आसपासका ५ सय मिटर क्षेत्रफलमा विभिन्न पुर्वाधारहरु आयोजनाले बनाइदिनेछ । यसरी सडक आसपास जग्गा विकास गर्दा अहिले २ लाख रुपैयाँ आना पर्ने सडक क्षेत्रमा पर्ने जग्गाको मोल उच्च हुने र यसबाट स्थानीयलाई बढी फाइदा हुने उनले बताए ।

सडक आसपासमा आयोजनाले सडक, विद्युत, खानेपानी, सार्वजनिक पार्क, खुला स्थान, मनोरञ्जन स्थललगायत पूर्वाधारको व्यवस्थित बस्ती विकास गर्ने योजना बनाएको छ । निर्माण अवधिभर जग्गा आयोजनाले रोक्का गरेर निर्माणपछि सम्बन्धित धनीलाई जग्गामा वस्ती विकासको पूूर्वाधारसहित हस्तान्तरण गर्नेछ ।

बाहिरी चक्रपथ निर्माण क्षेत्रमा पर्ने स्थानीयहरुले आयोजनाले अधिग्रहण गरेको जग्गा सडक निर्माणपछि पूर्वधारसहित पाउनेछन् । तर स्थानीयले रकम भने पाउने छैन् । कतिपय स्थानीयको जग्गा ५० मिटर भित्रनै सबै परेको अवस्थामा मुआब्जा समेत पाउने छन् । यसरी पाउने मुआब्जा भने सरकारी दर रेटअनुसार हुने आयोजनाले स्पष्ट पारेको छ ।

बाहिरी चक्रपथ चोभार, गम्चा, सतुंगल, नैकाप-पुरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखागाउँ, चपली, चुनिखेल, गोर्कर्णेश्वर हुँदै थलीडाँछी क्षेत्रमा पुग्नेछ । रिङरोड दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णडोल, हरिसिद्धी, धापाखेल बुङ्मती भएर चोभारमै पुग्नेछ । भुक्तपुरमा यसअघि प्रस्ताव गरेर अहिलेको नक्सामा छुटेका जागति सुँडाल, खरिपाटी लगायतका क्षेत्रमा जग्गा विकासका लागि काम गर्ने सोचमा प्राधिकरण छ ।

साभारः अनलाइन खवरबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।