सांस्कृतिक तथा मुद्रा संग्रहालयको भौतिक प्रगति ६५ प्रतिशत

 आवाज संवाददाता     १० भाद्र २०७९, शुक्रबार

नवराज शिवाकोटी
भाद्र,१०
चरिकोट/भीमेश्वर नगरपालिका वडा नम्बर दुईमा रहेको ऐतिहासिक एवं सांस्कृतिक नगरी दोखलामा निर्माणाधिन सांस्कृृतिक तथा मुद्रा संग्रहालय भवन निमाणर्को भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयको लगानीमा निर्माणाधिन संग्रहालय भवनको भौतिक प्रगति करिब ६५ प्रतिशत पूरा भएको हो ।

४ करोड ५७ लाख ५२ हजार ७२ रुपैयाँ ९६ पैशा लागत अनुमान रहेको संग्रहालय भवनको भौतिक निर्माणको प्रगति करिब ६५ प्रतिशत तथा वित्तिय प्रगति ५२ दशमलब ६१ प्रतिशत पुगेको बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका इञ्जिनियर दिनेश कुवरले जानकारी दिए । भवनको स्ट्रक्चर तथा छानोको काम सम्पन्न भएको तथा फिनिसिङ तथा कम्पाउन्ड लगायतका काम बाँकी रहेको ईञ्जिनियर कुवरको भनाई छ ।

मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनाबाट २०७९ साल जेठ १६ गते काम समाप्त गर्ने गरी ठेक्का प्रकृयाद्वारा ३ करोड ७३ लाख ८६ हजार ३२६ रुपैयाँमा ( भ्याट र पिएस सहित ) तुल्सी/ एरिसा जेभी सूर्य विनायकसँग २०७७ साल पुष २१ गते संग्रहालय निर्माण गर्ने सम्झौता भएको थियो । विविध कारणले निर्धारित समयमा काम समाप्त हुन नसकेपछि २०७९ साल मंशिर १५ गते सम्म म्याद थप गरिएको छ ।
संग्रहालय भवन निर्माण पछि दोलखाका ऐतिहासिक र पुरातात्विक वस्तुहरु संग्रहालयमा सुरक्षित रुपमा प्रदर्शनीमा राख्ने ब्यवस्था हुने संग्रहालय निर्माणका अभियन्ता आत्मकृष्ण श्रेष्ठले जानकारी दिए । संग्रहालय ब्यवस्थित रुपमा संचालन गर्नकालागि कर्मचारी ब्यवस्थापन लगायतका कामको जिम्मेवारी भीमेश्वर नगरपालिकाले लिनु पर्ने श्रेष्ठको भनाई छ । ऐतिहासिक तथा साँस्कृतिक नगरी दोलखाका ऐतिहासिक र पुरातत्विक वस्तुहरु, मुद्रा जस्ता कुराहरु मात्र संग्रहालयमा प्रदर्शनीमा नराखी दोलखा जिल्लाका सबै जातजातिका पुरातात्विक, ऐतिहासिक तथा सांस्कृतिक महत्व झल्काउने सामग्री संग्रहालयमा राखी दोलखा जिल्लाकाकै समग्र पहिचान दिने अध्ययन केन्द्रको रुपमा संग्रहालयकोे विकास गर्नु आवश्यक रहेको अभियन्ता श्रेष्ठको भनाइ छ ।

नेपालमा प्रथम चाँदिको सिक्का प्राचिन अभयपुर भनिने दोलखा राज्यबाटै चलाईएको ऐतिहाँसिक तथ्य छ ।
बेशमेन्ट सहित भवन तिन तल्लाको हुने छ । सांस्कृतिक संगहालय भवन निर्माणका लागि तलेजु भवानी मन्दिर गुठीले जग्गा उपलब्ध गराएको संग्रहालय निर्माणका अभियन्ता आत्मकृष्ण श्रेष्ठले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।