चरिकोटमा ढल निर्माणको प्रगति सुस्त

 आवाज संवाददाता     २३ भाद्र २०७९, बिहीबार

नवराज शिवाकोटी
चरिकोट
भाद्र,२३
दोलखा/सदरमुकाम चरिकोटमा निर्माणाधिन ढल निर्माणको काम सुस्त देखिएको छ । दुई वर्षमा काम समाप्त गर्नेगरी ठेक्का लगाईएको अत्याधुनिक ढल प्रशोधन केन्द्र सहितको ढल निर्माणको भौतिक प्रगति एक वर्ष वित्दा करिब ३० प्रतिशत मात्र रहेका कारण निर्माण कार्य सुस्त देखिएको हो ।
शहरी खानेपानी तथा सरसफाई आयोजना (क्षेत्रगत ) अन्तर्गत निर्माणाधिन ढल निर्माणको अगष्ट अन्तिम सम्मको भौतिक प्रगति २९ दशमलब ५ तथा वित्तिय प्रगति ३४ दशमलब ५ प्रतिशत रहेको आयोजनाको कन्सल्टेन्ट विल्डिङ डिजाइन अथोरिटीका ईञ्जिनीयर सन्तोष भूजेलले जानकारी दिए । मोविलाइजेसन बापतको रकमले गर्दा भौतिक प्रगति भन्दा वित्तिय प्रगति बढी देखिएको उनको भनाई छ ।
ढल प्रशोधन केन्द्र निर्माणकालागि जग्गा प्राप्ति ढिलो भएको तथा जमिन भिरालो भएको कारण कामको गति सुस्त भएको खानेपानी तथा सरसफाई (क्षेत्रगत ) आयोजना अन्तर्गत डिवास चरिकोटका प्रमुख नविन शर्मा लामिछानेले बताए । अब आयोजनाका काम अगाडि बढाउन खासै समस्या नहेकोले काम छिटो अघि बढाउन निर्माण कम्पनीलाई आयोजनाले भनिरहेको उनको भनाई छ ।
७२ करोड लागत अनुमान गरिएको भीमश्वर नगरपालिका वडा नम्बर ३,४ र ६ मा ढल निर्माण गर्न तथा दुई अत्याधुनिक ढल प्रशोधन केन्द्र निर्माण गर्न ५५ करोड ७३ लाख ८३ हजार नौसय आठ रुपैयाँ ( भ्याट सहित ) मा ठेक्का लगाइएको थियो । उक्त रकममा २४ महिना भित्र काम सम्पन्न गर्ने गरी ११ जुलाई २०२१ मा जिवाईईसिएल(चीनियाँ कम्पनी)/भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा(विडिएनटिएस) जेभी सँग सम्झौता भएको थियो ।
सम्झौता अन्तर्गत ठेकेदार कम्पनीले भीमेश्वर नगरपालिका वडा नम्बर ४ को जिलु तथा वडा नम्बर ६ को रामकोटमा आत्याधुनिक ढल प्रशोधन केन्द्र ( पानी प्रशोधन गर्ने प्रयोगशाला सहितको) निर्माण गर्ने तथा चरिकोट बजारमा ह्युम पाईप विछ्याउने लगायतका काम गर्नु पर्ने हुन्छ ।
जग्गा प्राप्तिपछि ढल प्रशोधन केन्द्रहरुको काम द्रुत गतिमा भइरहेको ठेकेदार कम्पनी भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवाका प्रोजेक्ट म्यानेजर दिपक श्रेष्ठले जानकारी दिए । बजार क्षेत्रबाट दुवै फिल्टर ट्याङ सम्म १४ दशमलब ४६ किलोमिटर ह्युप पाईप विच्छ्याउनु पर्नेमा हाल २ दशमलब ५ किलोमिटर ह्युम पाईप विच्छ्याउने काम सकिएको उनको भनाई छ । कार्तिक मंशिरबाट बजारक्षेत्रमा ह्युम पाईप हाल्न शुरु गर्ने उनले बताए । वर्षा याममा चरिकोटमा अत्यधिक पानी पर्ने भएका कारण पनि काम गर्न केही समस्या भएको उनको भनाई छ । जग्गा प्राप्तिमा ढिलाई भएतापनि जग्गा प्राप्तिपछि भने निरन्तर काम भइरहेको म्यानेजर श्रेष्ठको दावी छ ।
प्रशोधन केन्द्र सहितको ढल निर्माणकालागि ठेक्का सम्झौता रकमको ८५ प्रतिशत ( ४७ करोड ३७ लाख ७६ हजार तिनसय एक्काइस रुपैयाँ ) नेपाल सरकार तथा बाँकी १५ प्रतिशत (८ करोड ३६ लाख ७ हजार पाँचसय छयासी रुपैयाँ) भीमेश्वर नगरपालिकाले ब्यहोर्ने छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।