दोलखाका शिक्षकहरुले पार्टीगत राजनीति नगर्ने घोषणा

 आवाज संवाददाता     २५ भाद्र २०७३, शनिबार

दोलखा, २५ दोलखा/दोलखाका शिक्षकहरुले पार्टीगत राजनीति नगर्ने सामुहिक घोषणा गरेका छन् । शिक्षक महासंघको आयोजनामा चरिकोटमा भेला भएका शिक्षकहरुले पार्टीका जिल्लास्तरका प्रमुखहरुलाई समेत सामुहिक उपस्थित गराएर आ–आफ्नो पार्टीको कुनै पनि पदमा नरहने भन्दै संयुक्त राजीनामा पत्र बुझाएका छन् ।
चरिकोटमा शनिबार आयोजित संयुक्त राजीनामा घोषणा कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट शिक्षक संगठन आवद्ध शिक्षकहरुले आआफ्ना पार्टी प्रमुखहरुलाई राजीनामा बुझाएका हुन् । शिक्षा ऐन आठौं संशोधन २०७३ को दफा १६ ङ को उपदफा ६ को व्यवस्था अनुसार शिक्षकहरुले पार्टी राजनीति छाड्ने निर्णय गरेका हुन् । शिक्षा ऐनको नयाँ व्यवस्था अनुसार शिक्षकहरुलाई राजनैतिक पार्टीको कुनै पनि कार्यकारी भुमिकामा बस्न रोक लगाएको छ ।
संगठित रुपमा शिक्षकका काँग्रेसको नेपाल शिक्षक संघ र एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनले राजीनामा आआफ्ना पार्टी प्रमुखलाई बुझाएका छन् । माओवादी निकट शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रामबहादुर खड्काले भने पार्टीको जिम्मेवारीमा नरहेको पत्र प्रस्तुत गरेका थिए ।
गत जेठ २२ गते अध्यक्ष प्रचण्डकै उपस्थितिमा माओवादी केन्द्रको जिल्लाको सम्मेलनले ६५ सदस्य जिल्ला कमिटी गठन हुँदा एक दर्जन बढी शिक्षक थिए । तर पार्टी एकताको भाव नभएको भन्दै २ महिनापछि नै जिल्ला कमिटी विघटन भएपछि जिम्मेवारीमा नभएको माओवादी केन्द्रका नेता गोपाल पाण्डेले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
शिक्षकहरु सबैभन्दा बढी पार्टीको जिम्मेवारीमा एमालेमा छन् । एमालेको गाउँ कमिटी, क्षेत्र, जिल्ला कमिटी, भातृ संगठनको केन्द्रीय कमिटीसम्म एक सयभन्दा बढी शिक्षक रहेको एक शिक्षकले जानकारी दिए । नेपाली कांग्रेसको जिल्ला कार्यासमितिमा पनि केही शिक्षकहरु रहेका छन् । गाउँ पार्टीमा १५ जना जति शिक्षक कार्यकारी पदमा छन् । नेकपा माओवादी केन्द्रको गाउँ कमिटी, जिल्ला कमिटी र जनवर्गीय संगठनमा ५ दर्जन बढी भएको माओवादी निकट स्रोतले जानकारी दिए ।
शिक्षकहरुको संयुक्त राजीनामा घोषणा कार्यक्रममा नेपाली काँग्रेसका सभापति रुद्रबहादुर खड्का, नेकपा एमालेका अध्यक्ष ईश्वरचन्द्र पोखरेल र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल पाण्डे उपस्थित थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।