२ करोडभन्दा बढीको लागतमा छात्रावास निर्माण

 आवाज संवाददाता     २५ मंसिर २०७९, आईतवार

नवराज शिवाकोटी

चरिकोट । दोलखाको सदरमुकाम चरीकोटमा २ करोड रुपैयाँभन्दा बढीको लागतमा छात्रावास निर्माण गरिएको छ । हिन्दू स्वयंसेवक संघले सेवा यूके र सेवा
इन्टरनेशनल नेपालसँगको सहकार्यमा छात्रावास भवन निर्माण गरेको हो ।

छात्रावास निर्माणका लागि जग्गा खरीदसहित २ करोडभन्दा बढी खर्च भएको छात्रावास सञ्चालन समितिका उपाध्यक्ष शिव केसीले जानकारी दिए । छात्रावासमा ५० जना विद्यार्थी राख्न सक्ने क्षमता रहेको उनले बताए । तीनतले भवनमा बैठक कक्षसहित ९ कोठा रहेका छन् ।

छात्रावास भवन निर्माणका लागि एक रोपनी पाँच आना जग्गा ५० लाख रुपैयाँमा खरीद गरिएको केसीले बताए । यस्तै भवन निर्माणमा १ करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च भएको जानकारी उनले दिए ।

छात्रावास व्यवस्थापन गर्न कृष्णबहादुर गौतमको अध्यक्षतामा ‘आमाको माया छात्रावास सञ्चालक समिति’ गठन गरिएको छ । स्थानीय रूपमा छात्रावासको रेखदेख तथा सञ्चालन सोही समितिले गर्नेछ ।

छात्रावासको सञ्चालन खर्च व्यवस्थापन जनजाति कल्याण आश्रमले गरिरहेको जनजाति कल्याण आश्रमका केन्द्रीय महासचिव प्रेम थुलुङले जानकारी दिए । उनका अनुसार अहिले चरीकोटको उक्त छात्रवासमा विपन्न तथा अनाथ १८ विद्यार्थी छन् । जनजाति कल्याण आश्रमले दोलखासहित धादिङबेसी, नेपालगञ्ज, वीरगञ्ज, जनकपुरधाम, कागेश्वरी मनहरा, धनगढी, भरतपुर, विराटनगर, विदुर र बिर्तामोडमा छात्रावास सञ्चालन गर्दै आएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।