दुईजना प्राविधिकको भरमा डिभिजन कार्यालय सय भन्दा बढी आयोजना प्रभावित

 आवाज संवाददाता     १४ पुष २०७९, बिहीबार

नवराज शिवाकोटी
चरिकोट/जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखा अहिले दुई जना प्राविधिक कर्मचारीको भरमा संचालन भइरहेको छ । बाग्मती प्रदेश खानेपानी, उर्जा तथा सिंचाई मन्त्रायले कार्यालय प्रमुख तथा अन्य प्राविधिक कर्मचारी नपठाउँदा दुई जना प्राविधिक कर्मचारीको भरमा कार्यालय चलाउनु पर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको हो ।
कार्यालय प्रमुख सरुवा भएको ६ महिना वितिसक्दा पनि मन्त्रालयले कार्यालय प्रमुख पठाउन सकेको छैन । विभिन्न तहका ६ जना प्राविधिक कर्मचारीको दरवन्दी रहेको सो कार्यालयमा अहिले निमित्त कार्यालय प्रमुख ईञ्जिनीयर कुश बुढाथोकी तथा एक जना सब-ईञ्जिनीयर मात्र प्राविधिक कर्मचारी रहेका छन् । ६ जना प्राविधिकको दरवन्दी कार्यालयमा रहेकोमा अहिले आफू र एक सब ईञ्जिनीयर मात्र रहेको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखाका निमित्त कार्यालय प्रमुख कुश बुढाथोकीले बताए । दुई जना मात्रै प्राविधिक कर्मचारी भए पनि आफूहरुले भ्याएसम्म काम गरिरहेको उनको भनाई छ । तर दरबन्दी अनुसार कर्मचारी अभावहुँदा कार्यालयको काम अगाडि बढाउन समस्या भएको उनको भनाई छ ।
बाग्मती प्रदेशको गौरवको आयोजना जिरी कृतिम ताल, सिञ्चाई , ममर्त लगायत साना ठूला १०५ आयोजना कार्यालय मार्फत कार्यन्वयन गर्न बजेट विनियोजन भएको कार्यालयको भनाई छ । डिभिजन प्रमुख नहुँदा कतिपय फाइलहरु लिएर हेटौडा धाउनु पर्ने बाध्यता कार्यालयको रहेको छ । आर्थिक वर्ष सुरु भएको ६ महिना वित्न लागेको छ । कुुल ४४ करोड बजेटका आयोजनाहरु कार्यालय प्रमुख तथा कर्मचारी अभावका कारण प्रभावित हुने सम्भावना रहेको कार्यालय सम्बद्ध कर्मचारीहरुले बताए ।
प्रदेश गौरवको आयोजना भनी चालु आबमा १५ करोड बजेट विनियोजन गरिएको जिरी कृतिम तालको भने वातावरण परीक्षण मूल्याङ्गनको तयारी भइरहेको निमित्त कार्यालय प्रमुख बुढाथोकीले बताए ।
कार्यालय प्रमुख तथा आवश्यक दरवन्दीको ब्यवस्था कहिले हुन्छ भनी बागमती प्रदेश खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्रालयका सूचना अधिकारी विजयकुमार यादवलाई प्रश्न गर्दा लोक सेवा आयोगले बढुवाको नतिजा प्रकाशन नगरेसम्म डिभिजन प्रमुख पठाउन सकिने अवस्था नरहेको जानकारी दिए । समायोजन भएका पुराना कर्मचारीहरु रिटायर्ड भएकोले डिभिजन प्रमुख पाउन बढुवाको नतिजा कुर्नु पर्ने अवस्था रहेको उनको भनाई छ । यसै गरी अन्य प्राविधिक कर्मचारीको पनि अहिले प्रदेश भरी नै अभाव भएकोले लोकसेवा आयोगमा लेखिपठाएको उनले बताए । कार्यालयले दरवन्दी अनुसार कर्मचारी पाउन लोकसेवा आयोगको नतिजानै कुर्नु पर्ने अवस्था रहेको मन्त्रालयको भनाई रहेको छ ।
दोलखाका स्थानीय नागरिकहरु भने जिल्लाकालागि आएका आयोजनाहरुको बजेट कर्मचारी अभावकै कारण फ्रिज भएर जानेहोकी भनी चीन्तित रहेको छन् । केन्द्रबाट कार्यालय प्रमुख तथा अन्य प्राविधिक कर्मचारीहरुको काज सरुवा गरेर भएपनि आयोजना सिघ्र कार्यन्वयन गर्नु पर्ने उनीहरुको माग रहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।