अक्करिलो भीरमा भविष्य खोज्दै आलम्पु वासी

 आवाज संवाददाता     १७ पुष २०७९, आईतवार

नवराज
चरिकोट/ दोलखाको उत्तरी भेगमा पर्ने विगू गाउँपालिका वडा नम्बर ६ आलम्पुका वासिन्दाहरु गाउँभन्दा ठिक माथी रहेको अक्करिलो विशाल भीरमा आफ्नो भविष्य खोजीरहेका छन् । थामी जातिको घना वस्ती रहेको आलम्पुका थामीहरु २०१३ साल देखि यही अक्करिलो भीरमा भविष्य खोजी रहेका हुन् ।
विक्रम संवत २०१३ साल देखि गाउँभन्दा माथि रहेको ठूलो भिरको काखबाट ज्यान नैं जोखिममा पारेर भएपनि आलम्पुका थामीहरुले घर छाउन तथा ओछ्यान अनि घरका गाराहरुमा टाँस्न समेत प्रयोग गरिने स्लेट निकालेर जीवन गुजारा गरिरहेको विगु गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष टहलबहादुर थामीले बताए । भीरबाट निकालेका ढुङ्कालेनै विगतमा यहाँका मानिसको चुलो बल्ने गरेको उनको भनाई छ ।
विकट भीरमा पुगेर पत्रे ढुङ्का निकाल्नकालागि गाउँलेहरुले पहिला ठाउँ भाग लगाउँछन् अनि भाग लगाईएका ठाउँहरुमा समूह बनाएर स्लेट निकाल्ने गर्दछन् । पहिलेदेखि चलिआएको यो परमपरा अहिलेसम्म पनि चलिरहेको आलम्पुका प्रतमान थामीले बताए । आमविनासकारी भुकम्प २०७२ आउनु अघिसम्म यहाँका स्लेटको माग घर छाउन ठूलो मात्रामा रहेको उनको भनाई छ । पहिले आलम्पुको स्लेटले छानो छाएका घरहरु बनाउनु इज्जतको विषय थियो । जस्ता को छानोमा खिया लाग्ने र चाँडै मक्किने भएकोले मानिसहरुको रोजाइमा स्लेटनैं पर्थे । जिल्ला तथा जिल्ला बाहिर समेत आलम्पुका स्लेटको माग ठूलो थियो । यहाँका मानिसहरु रोजगारीको लागि खासै बाहिर नजाने गरेको अर्का स्थानीय पंखलाल थामीले बताए । तर अहिले समय बदलिएको छ । भुकम्पपछि ढुङ्गा खानीको गाउँको रुपमा परिचित आलम्पुका घरहरुमा समेत जस्ताको छाना लगाइएको छ ।


भुकम्प पछिको पूनःर्निमाणको क्रममा प्राविधिकहरुले वजन बढी हुने हुनाले जस्ता लगाउन सल्लाह दिएका कारण गाउँका छाना जस्तामय बन्न पुगेको वडाध्यक्ष टहल थामीले बताए । “प्राविधिकले नैं जस्ताको छाना लगाउन सिफारिस गरेपछि सरकारले घरनिर्माणको लागि दिने राहत नपाइएला भनेर गाउँका सबैले जस्ता लगाए ।” वडाध्यक्ष थामीले भने,“ गाउँनैं कुरुप देखियो । ” खानी भएको गाउँमा जस्ताको छाना देख्दा आफूलाई विरक्त लाग्ने गरेको स्थानीय प्रतमान थामीको दुखेसो छ । यतिहुँदा हुँदै पनि कतिपयले नयाँ बनेको घरको दाँती( छानोको तल्लो हार ) मा भएपनि स्लेटले छाएको उनको भनाई छ ।


अहिले पनि स्थानीयहरु खानीबाट छाना छाउने तथा भुईँमा ओछ्याउने तथा भित्तामा टाँस्न मिल्ने खालका स्लेट सिमिति रुपमा निकालीरहेका छन् । तर गौरिशंकर संरक्षण क्षेत्रले समयमा निकाशी पुर्जी उपलब्ध नगराउँदा स्लेट निकाशी गर्न स्थानीयहरुलाई समस्या भएको वडाध्यक्ष थामीले बताए । गौरिशंकर संरक्षण क्षेत्रले कानुनी झञ्जट उत्पन्न गरेका कारण सिमिति भएपनि आमदानीको स्रोत रहेको स्लेटखानी संचालन हुननसक्दा गाउँका युवाहरु विदेशिने क्रम बढेको उनको भनाई छ ।
“गौरिशंकर संरक्षण क्षेत्रले खानी दर्ता गरी संचालन गर्न भनेको छ । खानी दार्ता प्रकृया ज्यादै झञ्जटिलो रहेछ । ” वडाध्यक्ष थामीले भने,“हामी खानी विभागदेखि अन्य सम्बन्धित निकायहरुमा पनि पुग्यांै । समान्य मानिसकालागि यो असम्भव जस्तै रहेछ ।” कानुनी तथा प्रकृयागत झञ्जटका कारण अहिले खानी पूणर् रुपमा संचालन गर्न नसकिएको कारण युवाहरु गाउँबाट विदेश पलायन भएकोले यस्लाई रोकी रोजगारीका अवसर यहीँ सिर्जना गर्न सरलरुपमा खानी दर्ता गर्ने ब्यवस्था गर्न सरकारले ध्यान दिन आवश्यक रहेको वडाध्यक्ष थामीको भनाई रहेको छ । गौरिशंकर संरक्षण क्षेत्र आयोजनाले भने वातावरणीय प्रभाव मूल्याङ्कन गरी त्यसको रिपोर्ट अनुसार खानी दर्ता गरी संचालन गर्न स्थानीयहरुलाई भन्दै आएको छ ।

खानी भएको स्थानसम्म जानकालागि सामान्य कच्चि सडक स्थानीय निकायले बनाई दिएको छ । विद्युत लाईन पनि खानी नजिक पुगेको छ । सहज ढंगले खानी दर्तागरी संचालन गर्ने ब्यवस्था गरिएमा स्थानीय स्तरमा रोजगारीको सिर्जना भई स्थानीय युवाहरु विदेशिनु पर्ने अवस्थाको अन्त्य हुने स्थानीयहरुको विश्वास छ । खानीबाट निकालिएका स्लेटहरुलाइ आधुनिक प्राविधिको प्रयोगगरी अलिकति फिनिसिङ दिने हो भने यो राजस्थानी मार्वलको विकल्प हुने सम्भावना रहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।