समयमै भवन भाडामा नलगाउँदा लाखौं गुमाउँदै भीमेश्वर नगरपालिका

 आवाज संवाददाता     २५ पुष २०७९, सोमबार

नवराज शिवाकोटी
पुस,२५, चरिकोट
सदरमुकाम स्थित सातदोबाटेमा निर्मित बहुउद्देश्यीय भवन भाडामा लगाउने बारे समयमैं निणर्य गर्न नसक्दा भीमेश्वर नगरपालिकाले लाखौं रकम गुमाई रहेको छ । सदरमुकाम चरिकोटको मुटु सातदोवाटेमा नगरविकास कोषको अनुदान तथा आंशिक ऋणमा निर्मित भवन कुन मोडालिटीमा भाडामा लगाउने भन्ने बारे नगरपालिकाले लामो समय सम्म निणर्य गर्न नसक्दा लाखौं रकम गुमाईरहेको हो ।
भीमेश्वर नगरको गौरवको आयोजनाको रुपमा निर्मित बहुउद्देश्यीय भवन भाडामा लगाउने सम्बन्धमा गत आर्थिक वर्षमा नैं आशय पत्र माग गरिएकोमा आठ वटा आशय पत्र मध्ये सात वटाको प्राविधिक प्रस्ताव स्वीकृत भएको थियो । तर स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधि परिवर्तन भएपछि भवन भाडामा दिने मोडालिटी परिवर्तन गर्ने अथवा पहिलेकै मोडालिटीमा भाडामा लगाउने भन्ने वारेमा नगरपालिकाबाट लामो समयसम्म निणर्य नहुँदा भवन भाडामा लगाउन ढिलाई भएको भिमेश्वर नगरपालिकाका एक कर्मचारीले बताउनुभयो । आशयपत्र पेश गर्ने फम तथा कम्पनीहरु मध्ये छनोट भएका सातबटा प्रस्तावहरुलाई आर्थिक प्रस्ताव पेश गर्न सूचना निकाली सकिएको भीमेश्वर नगरपालिकाका ईञ्जिनीयर सुरेस राउतले बताउनु भयो । आर्थिक प्रस्ताव पेश भएपछि त्यसको मूल्याङ्कन पछि भवन भाडामा लगाईने उहाँको भनाई छ ।
आशय पत्र माग गरिएको लामो समयसम्म पनि भवन भाडामा लगाउन नगरले ढिलाई गर्दा ऋणको सावाँ तथा ब्याजको रकम सर्वसाधारणले तिरेको करबाट भुक्तानी गर्नु पर्ने अवस्थारहेको छ । यही पुस ३० गते बहुउद्देश्यीय भवनको ऋणको किस्ता वापत सावाँ र ब्याजगरी ६ लाख ७३ हजार पाँचसय उनानसाठी रुपैयाँ पचहत्तर पैशा नगरविकास कोषलाई नगरपालिकाले बुझाउनु पर्ने भीमेश्वर नगरपालिकाले बताएको छ ।
नगरपालिकाले आशय पत्र माग्दा दुई तल्ला थप्ने तथा लिफ्ट राख्ने समेत कुरा उल्लेख भएकोमा चोकबाट देखिने गौरिशंकर हिमालको दृष्य अवरोध हुने हुनाले तल्ला थप्ने प्रावधान हटाउन आग्रह गरिएपनि नगरले स्वीकार नगरेको आशय पत्र बुझाएका ब्यावसायीहरुको गुनासो रहेको छ ।
बहुउद्देश्यीय भवन निर्माणमा करिब करिब १२ करोड खर्च भएको इञ्जिनीयर राउतको भनाई छ । अघिल्लो आर्थिक वर्षमा आशयपत्र माग गरी चालु आर्थिक वर्षको छ महिना वित्न लाग्दा समेत भवन भाडामा लगाउन तदारुकता नदेखाई जनताले तिरेको करबाट किस्ता तिरेर बस्नु नहुने चरिकोटका स्थानीयहरुको भनाई रहेको छ । कृषि हाटबजारकालागि निर्माण गरिएको भवन मासेर बनाइएको बहु उद्देश्यीय भवन भुइँ तल्ला सहित ५ तल्ले रहेको छ । चरिकोट बजारमा परेको वर्षाको पानी बग्ने निकास रहेको खोल्सोलाई ह्युम पाइप भित्र बाट बग्ने गरी भवन मुनीबाट छिराई बनाईएको सो भवन निर्माण गर्दा नैं स्थानीयले आलोचना गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।