दोलखामा भब्यरुपमा मनाईयो पृथ्वी जयन्ती
आवाज संवाददाता २७ पुष २०७९, बुधबार
पुस,२७, चरिकोट/सदरमुकाम चरिकोटमा ३०१ औं पृृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्यरुपमा मनाईएको छ । विहिवार राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्य रुपमा मनाईएको हो । नगरपरिक्रमा पछि स्थानीय सातदोवाटो चोकमा विशेष समारोहको आयोजना गरिएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सह-महामन्त्री तथा संगठन विभाग प्रमुख प्रकाश रिमालको प्रमुख आतिथ्यता तथा सहायक महामन्त्री विजय खड्काको विशेष आतिथ्यतामा सम्पनन विशेष समारोहको अध्यक्षता राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष राजनबहादुर शिवाकोटीले गर्नु भएको थियो ।
विशेष समारोहलाई सम्बोधन गर्दै केन्द्रीय सह-महामन्त्री रिमालले पूर्वीय संस्कृतिको केन्द्र तथा ऋषि-मुनीको साधना स्थल नेपाललाई विदेशीको आर्थिक प्रभावमा परेर देशका मुख्य भनिएका राजनैतिक दलहरुले धर्मनिरपेक्ष राज्य बनाएको आरोप लगाउनु भयो । लेनिन र माओको फोटोमा पूजा गर्नेहरु राष्ट्रनिर्माताको तस्वीरमा माल्यार्पण गर्न डराउने अवस्था हुनु दुर्भाग्यपूणर् रहेको उहाँको भनाई थियो । अहिले देशमा विदेशी हस्तक्षेप र चलखेल रहेको सन्दर्भमा पृथ्वीनारायण शाहको दिब्योपदेशलाई विदेशनीतिको अधार बनाएर अगाडि बढेमा त्यो समस्या हलहुने रिमालले बताउनु भयो । राप्रपाले आगामी दिनमा सडक, सदन तथा सरकारमा रहेर हिन्दुराष्ट्र र राजसंस्था स्थापना तथा संघियता खारेजीको मुद्दा उठाउने उहाँको भनाई थियो । संसदमा आफ्नो दलको दर्वीलो उपस्थितिका कारणनै पुस २७ गते पृथ्वी जयन्तीको उपलक्ष्यमा सार्वजनिक विदा दिन सरकार बाध्यभएको सहमहामन्त्री रिमालले बताउनु भयो ।
यस्तै विशिष्ट अतिथि राप्रपाका केन्द्रीय सहायक महामन्त्री विजय खड्काले नेपालको सन्दर्भमा पृथ्वीनारायण् शाहको योगदानको चर्चा गर्दै राप्रपाका एजेन्डाहरुमा आमनेपाली सहमत हुँदै गएको प्रमाण यो पटकको निर्वाचनमा राप्रपाले हाँसिल गरेको सफलताले दिएको बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ दोलखाका सभापती दिपशंकर चौलागाईंले नेपाल राष्ट्रको एकिकरण गरी नेपाल र नेपालीलाई विश्वमा चिनाउने पृथ्वीनारायण शाहको योगदान नेपालको इतिहासमा अतुलनीय रहेको बताउनु भएको थियो ।
कार्यक्रमका सभापती राप्रपा दोलखाका अध्यक्ष राजनबहादुर शिवाकोटीले राप्रपाका एजेन्डा सर्वस्वीकार्य हुँदैगएकोले हिन्दुराज्य, संघियता खारेजी र राजसंस्थाको स्थापनाकालागि राप्रपालाई मदतान गर्नुको विकल्प नभएको बताउनुभयो । हालै सम्पन्न निर्वाचन पछि राप्रपाको गर्विलो उपस्थिति संसदमा भएकोले अब आमदोलखालीका समस्या संसदमा पुर्याइने उहाँको भनाई थियो । यो पटक पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन केही अलमल भएजस्तो देखिएको भन्दै अर्को वर्ष देखि सम्पुणर् शैक्षिकसंस्थाहरुलाई पनि निर्धक्क भएका विशेष कार्यक्रमकासाथ पृथ्वी जयन्ती मनाउन आग्रहगर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्ने अन्य बक्ताहरुले पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै राजसंस्था तथा हिन्दुराज्य स्थापना र संघियता खारेजिको माग गरेका थिए । समारोहमा कलाकारहरुले देशप्रेमले भरिएका राष्ट्रिय गितहरुमा नृत्य प्रस्तुत गरेको थिए ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।