उच्च अदालत गठनको बाटो खुल्यो, न्यायसम्बन्धी तीन विधेयक पारित
आवाज संवाददाता २६ भाद्र २०७३, आईतवार
२६ भदौ, काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘न्याय सेवा आयोग विधेयक, २०७३’, ‘न्याय परिषद् विधेयक २०७३’ र ‘न्याय प्रशासन विधेयक, २०७३’ लाई पारित गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रस्तुत गर्नुभएका ती विधेयकलाई बहुमतले पारित गरिएको हो ।
ती तीन विधेयक गत शुक्रबार नै पारित गर्ने कार्यसूची रहेको भएपनि सदनमा सांसदहरुको न्यून उपस्थितिका कारण आइतबारको कार्यसूचीमा राखिएको हो ।
ती विधेयक पारित भएपछि सरकारलाई नेपालको संविधानअनुसार उच्च अदालत गठनको बाटो खुलेको हो ।
संविधान घोषणा भएको एक वर्षभित्र उच्च अदालत गठन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
नयाँ व्यवस्थापछि विद्यमान १६ पुनरावेदन अदालत सातवटा उच्च अदालतमा परिणत हुनेछन् ।
अनलाइनखबरबाट
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।