दोलखामा ९ पालिका सिफारिस, कुनकुन गाविस कता परे ? नामावली सहित

 आवाज संवाददाता     २६ भाद्र २०७३, आईतवार

दोलखा, भदौ २६/दोलखा जिल्लालाई ९ वटा गाउँपालिका/नगरपालिका बनाउने गरी जिल्लास्तरीय प्राविधिक समितिले स्थानीय निकाय पुनर्संरचना आयोगलाई सिफारिस गर्ने भएको छ ।
स्थानीय निकाय पुनर्संरचना आयोगले तोकेको ७ वटा नगरपालिका तथा गाउँपालिकाको संख्यामा राजनैतिक दलहरुको सहमति बन्न नसकेपछि जिल्लास्तरीय प्राविधिक सहयोग समितिले सबैको सहमतिमा ९ संख्या सिफारिस गरेको हो । आयोगले ३ दिनभित्र प्रारम्भिक प्रतिवेदन सिफारिस गर्न गरेको निर्देशन अनुसार आइतबार सरोकारवालाहरुसँग परामर्श गोष्ठी समेत गरेको छ ।
आयोगले देशभर ५६५ पालिका प्रस्ताव गरे अनुसार दोलखालाई ७ वटा पालिका बनाउन प्रस्ताव गरेको थियो । सिफारिस गर्न दलहरुबीच भएको सहमतिमा शैलुङ्गेश्वर र लाँकुरीडाँडा गाविसलाई मात्र कुन गाउँपालिकामा राख्ने भन्ने विवाद कायमै छ । शैलुङ्गेश्वरलाई अधिकांशले पवटीसँग छुट्याउन नहुन सुझाव दिएका छन् । लाँकुरीडाँडालाई वडा विभाजन गरेर भए पनि मिलाउनुपर्ने सुझाव आएको छ ।
सिँगटी बजार आसपासबासीले भने लापिलाङदेखि लामाबगरसम्मको एउटै गाउँपालिका बनाउनुपर्नेमा जोड दिएका थिए । सिँगटीबाट जिविस पूर्वसभापति लालकुमार केसी, माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलबहादुर बुढाथोकी, कांग्रेस नेता लोकराज पाठकको नेतृत्वमा डेलिगेशन समेत आएका थिए ।
स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले सबै विषयमा पूर्ण सहमति नभए तापनि धेरैलाई स्वीकार्य किसिमले प्रारम्भिक प्रतिवेदन पठाउन लागेको बताए । नेपाली कांग्रेस सभापति रुद्रबहादुर खड्काले सबैका विषय मिल्न नसके तापनि धेरैका सहमतिमा सिफारिसका लागि सहमति दिएको बताए ।
नेकपा एमालेका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले तत्काल बाध्यताबस सिफारिस गर्नुपरे तापनि यो अन्तिम रुप नभएको बताए । आयोगले निश्चित संख्या तोकेर आए त्यो पनि ठोस सिफारिस गर्न सक्ने बताए । माओवादी केन्द्रका संयोजक विशाल खड्काले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको सिमाना टुङ्गो लगाउनुपर्ने बताए ।

कुन गाविस कुन पालिकामा परे ?

गौरीशंकर गाउँपालिकाः केन्द्र जामुने वा गुरुम्फी
गाविसहरुः गौरीशंकर, खारे, चंखू, मार्बू, सुरी, झ्याँकू र जुँगू

जिरी गाउँपालिकाः केन्द्र जिरी
गाविसहरुः श्यामा, माली, जिरी र ठूलोपातल

हनुमन्तेश्वर गाउँपालिकाः केन्द्र डाँडागाउँ वा सिम्बारी
गाविसहरुः क्षेत्रपा, काब्रे, नाम्दू, मिर्गे र गैरीमुदी

तामाकोसी गाउँपालिकाः केन्द्र सिम्पाखा मालू
गाविसहरुः भीरकोट, झुले, जफे, मालू, सहरे, च्यामा र हावा

शैलुङ गाउँपालिकाः केन्द्र भञ्याँङ
गाविसहरुः मेलुङ, डाँडाखर्क, भेड्पू, घ्याङसुकाठोकर, पवटी र (शैलुङ्गेश्वर)

चर्नावती वा देउराली गाउँपालिकाः केन्द्र फोक्टे (काटाकुटी)
गाविसहरुः फस्कू, काटाकुटी, मागापौवा, ताम्चेतदुधपोखरी, भुषाफेदा र (लाँकुरीडाँडा)

भीमेश्वर नगरपालिकाः केन्द्र चरिकोट
गाविस/नपाः बोच, भीमेश्वर नगरपालिका, सुस्पाक्षमावती र (लाँकुरीडाँडा)

कालिञ्चोक गाउँपालिकाः केन्द्र आहाले
गाविसहरुः सुन्द्रावती, सुनखानी, लापिलाङ, लामिडाँडा, बाबरे र कालिञ्चोक

लामाबगर गाउँपालिकाः केन्द्र मल्दुङ
गाविसहरुः विगू, आलम्पू, खोपाचागू, चिलंखा, लादुक, बुलुङ, ओराङ र लामाबगर

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।