क्षमावती उमावि पूर्व शिक्षक विद्यार्थी समाजको चौथो वार्षिक साधारण सभा

 आवाज संवाददाता     २६ भाद्र २०७३, आईतवार

काठमाडौं/जनकपुर अञ्चलकै सवैभन्दा पुरानो क्षमावती उच्च माध्यमिक विद्यालय पूर्व शिक्षक विद्यार्थी समाजको चौथो वार्षिक साधारण सभा काठमाडौको नयाँवानेश्वरस्थित इन्द्रेणी पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
२०६९ असोज १३ गते गोदावरीमा वृहत् भेलाको आयोजना गरी गठित यस समाजले आफनो लक्ष्य अनुसार विद्यालयको भौतिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ । आगामी वर्ष यसलाई अझ सशक्त वनाइने समाजका अध्यक्ष मिलनराज तुलाधरले जानकारी दिए । २०७२ सालको महाभूकम्प पश्चात् पूर्णरुपमा क्षति भएको विद्यालयको भौतिक संरचनामध्ये समाजको अग्रसरतामा, समाजका प्रमुख आर्किटेक्ट इन्जिनियर रमेश मानन्धरको डिजाइनमा आधारित करिव १ करोड १० लाखको लागतमा विद्यालयको मूल भवन पुननिर्माण भइरहेको छ भने ५० लाखको लागतमा अर्को कक्षा कोठा भवनको निर्माण सुरु गर्न लागिएको छ । करिव ३४ लाखको लागतमा विद्यालयमा नवनिर्मित भवनमा तला थपेर कक्षा सञ्चालन गर्ने प्रकृया अन्तिम चरणमा रहेको जानकारी दिइयो । समाजको सक्रियतामा करिव ६० लाखको लागतमा विद्यालय परिसरमा एक अत्याधुनिक भूकम्प प्रतिरोधी छात्रावासको पनि हालसालै निमाण सम्पन्न भएको छ ।
समाजका संरक्षक तथा तत्कालीन विद्यालयका प्रथम प्रधानाध्यापक सहदेव सिंह थापाको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा यसै वर्ष देहावशान भएका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा समाजसेवीहरु विरध्वज शिवाकोटी तथा रामप्रसाद शिवाकोटीप्रति श्रद्धान्जलीसमेत दिइएको थियो । सो अवसरमा कार्यसमितिका उपाध्यक्ष शंकरराज शिवाकोटी, कोषाध्यक्ष कला प्रसाईं ज्ञवाली, सचिव रामकाजी थामी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त सिंह थामी, पूर्व प्र.अ. रामचन्द्र उपाध्याय, समाजका सल्लाहकार डा. विष्णुराज उप्रेती लगायतले विद्यालयको विकासमा प्रत्यक्ष सरोकारका विभिन्न पक्षहरुलाई समेट्दै आआफनो धारणा राखेका थिए । कार्यक्रम समाजका अध्यक्ष मिलनराज तुलाधरको सभापतित्वमा सम्पन्न भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।