दोलखाका महिलाहरुमा आङ खस्ने समस्या, २६ वर्षकी सोममाया ५० वर्षकी जस्तै

 आवाज संवाददाता     २८ भाद्र २०७३, मंगलवार

 डा. मिना महर्जन

 मार्वू गाविसकी सीता तामाङ १६ वर्षकी भइन् । उनको पनि पाठेघर खसेको छ, किनभने उनले १३ वर्षको उमेरमा बिहे गरिन् र लगत्तै बच्चा जन्माइन्, लामो समय प्रसुती व्यथा सहेर ।

 

 

दाेलखा/कालिन्चोक गाविस बेगुम्पाकी सोममाया थामी अहिले २६ वर्षकी भइन् तर उनी ५० वर्षकी जस्तै देखिन्छिन् । काखको शिशुसहित उनका ४ वटा बच्चाहरु छन् । उनी भन्छिन्, “जम्मा ४ वटा मात्र छन्, अव अरु दुईवटा भएपछि स्थायी परिवार नियोजन गर्छु ।”
बेगुम्पाकै भीममाया थामी अहिले ५२ वर्षकी भइन् । उनी भन्छिन्, “मेरा जम्मा ७ जना मात्रै बच्चा छन् । अब नपाउने ।” उनको पाठेघर झरेको २० वर्ष भयो तर उनलाई आफ्नो समस्या डाक्टरलाई देखाउन लाज लाग्छ ।
चरिकोटबाट ३ घण्टा गाडीको बाटो र १ घण्टाको उकालो हिँडेपछि पुगिने कालिञ्चोक गाविसको बेगुम्पा गाउँसम्म पुग्दा बाटोमा देखिने सुन्दर झरनाहरु र हरियो कोदो झुलीरहेका फाँटहरुले हामीलाई जति खुसी तुल्यायो, त्यहाँका थामी जातिका महिलाहरुको स्वास्थ्य स्थिति र आङ खस्ने समस्याको खबरले हामीलाई त्यति नै दुःखी बनायो ।
कालिञ्चोक गाविसको यो सानो बस्तीमा ८० प्रतिशत थामी महिलाहरुको बाहुल्य छ । उनीहरुमध्ये ९० प्रतिशत महिलाहरुको २० वर्षको उमेर भन्दा अगाडि नै बिबाह भई ७ जनासम्म बच्चा जन्माउने गरेको रहेछन् । यो तथ्याङ्कबाट त्यहाँका महिलाहरु कसरी बाँचिरहेका छन् भन्ने बुझ्न कठिन भएन ।
मार्वू गाविसकी सीता तामाङ १६ वर्षकी भइन् । उनको पनि पाठेघर खसेको छ, किनभने उनले १३ वर्षको उमेरमा बिहे गरिन् र लगत्तै बच्चा जन्माइन्, लामो समय प्रसुती व्यथा सहेर ।
यी त केही प्रतिनिधिमूलक कथाव्यथाहरु हुन्, हामीले देखेका र सुनेका । हामीले नदेखेका र नसुनेका कैयौँ कथा अनि पीडाहरु होलान् । जुन पीडाहरु पाठेघरको समस्या बनेर थुप्रै आमा र दिदीबहिनीहरुलाई सताइरहेछन् ।
‘२० वर्षको उमेर पुगेपछि मात्रै बिबाह गर्नुपर्छ’ भन्ने कुरा यति धेरै प्रचारमा आए पनि गाउँमा अहिले पनि २० वर्ष नपुग्दै २ वटा बच्चा जन्माइसकेका आमाहरु थुप्रै भेटिन्छन् । यसले गर्दा पाठेघर खस्ने समस्या एकदमै बढी छ । कम उमेरमा बिवाह गर्नु, कम उमेरमै बच्चा जन्माउनु, गर्भवती र सुत्केरीको स्याहारमा कमी हुनु, गह्रौँ भारी उचाल्नु, घरैमा बच्चा जन्माउनु आदि थुप्रै कारणहरुले महिलाहरुलाई यो समस्या आउने गर्छ । दोलखाका हकमा कुनै एक मात्र कारण नभई प्रत्येक असाबधानी र असुरक्षा कारण बनेको रहेछ ।
भौगोलिक विकटता, चेतनाको कमी, कमजोर स्वास्थ्य सेवा र संरचना अनि रुढिवादी सोचले गर्दा गाउँका दिदीबहिनीहरुलाई एउटा बन्धनमा पारेको छ र यस्ता पीडादायी समस्या झेल्न बाध्य पारेको छ । यसबाट उनीहरुलाई मुक्ति दिलाउनु हामी सबैको साझा कत्र्यव्य हुन आउँछ नकि कुनै खास संस्था वा व्यक्ति वा स्वास्थ्यकर्मीको ।
महिलाहरुको पाठेघर खस्ने अर्थात आँङ खस्ने समस्या एकदमै पीडादायी तर रोकथाम गर्न सकिने समस्या हो । नेपालमा करिब ६ लाख महिलाहरु यो समस्याबाट पीडित छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या गतिविधि कोषको सन् २०१३ को तथ्याङ्क अनुसार ४ हजार महिलाहरुले यही समस्याका कारण पाठेघर फाल्नुपरेको थियो ।
दोलखा हिमाली जिल्ला भएकाले भौगोलिक जटिलताका कारण यहाँका अधिकांश महिलाहरु यस समस्याबाट पीडित छन् । यही अवस्थालाई दृष्टिगत गरी जिल्ला स्वास्थ्य कार्यालय दोलखा र दीपज्योति समाज सुधार संघद्वारा यहाँका ५ स्वास्थ्य चौकी (लामिडाँडा, बाबरे, कालिञ्चोक, मार्बु र जिरीको माली) मा १ दिने “महिलाहरुको आङ खस्ने समस्याको स्वास्थ्य शिविर” सञ्चालन ग¥यो । सो अवसरमा गरिएको स्थलगत अध्ययनमा यो समस्या दोलखाको जुनसुकै कुनामा रहेको तथा थुप्रै आमा र दिदीबहिनीहरु बषौँदेखि यस समस्याले पीडित रही बिना कुनै समाधान कष्टपूर्ण जीवन बिताउँदै आएको तथ्य हामीले उपचारको क्रममा प्रत्यक्ष रुपले थाहा पायाँै ।
यो स्वास्थ्य शिविरमा करीव ४ सय ५० जना महिलाहरुको पाठेघर झर्ने समस्याको जाँच हुँदा करिब ४० प्रतिशत महिलाहरु एकदमै पीडादायी पाठेघर बोकीरहेका र उपचारबाट विमुख रहेको पाइयो । विशेषगरी कालिञ्चोक गाविसका थामी जातिका महिलाहरु यो समस्याबाट अत्यन्त पीडित रहेको र उनीहरुको स्वास्थ्यस्थिति एकदमै कमजोर रहेको पाइयो ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखा, दीपज्योति समाज सुधार संघ, युएसएड, संयुक्त राष्ट्रसंघीय जनसंख्या गतिविधि कोष लगायत थुप्रै सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको प्रयासमा यस्ता समस्याहरुलाई निदान गर्ने प्रयास भए पनि त्यो तवसम्म सफल हुन सक्दैन, जवसम्म हरेक महिला आफ्नो स्वास्थ्य अवस्था र अधिकारबारे सचेत हुँदैनन् । परिवार नियोजन सेवाको जानकारी, प्राथमिक स्वास्थ्य सेवा हरेक नागरिकको अधिकार हो । त्यसैले दुगर्मता, गरिवी, अशिक्षा जस्ता वाधाहरुलाई हटाएर उनीहरुको जीवनमा ठोस परिवर्तन ल्याउनुमा हामी सबैले व्यक्तिगत र संस्थागत प्रयास गरौं । पाठेघर सम्बन्धी स्वास्थ्य शिविर र परिवार नियोजन सेवा सुबिधा गाँउगाँउमा बिशेषज्ञ टोलीको साथमा समय समयमा पु¥याउन सके यो समस्याबाट ग्रस्त हरेक दुर्गम गाँउलाई निश्चय नै सुगम बनाउन सकिने थियो !

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF