“प्रत्यक्ष कार्यकारी र थ्रेसहोल्ड राख्ने हो भने संविधान संशोधनमा एमाले जान तयार छ” – एमाले सचिव भट्टराई

 आवाज संवाददाता     १ आश्विन २०७३, शनिबार

दोलखा, १ असोज/नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र ५ प्रतिशत थ्रेसहोल्ड राख्नका लागि एमाले संविधान संशोधन गर्न तयार रहेको बताए । संविधान लेनदेनका आधारमा एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारी छाड्नु परेको बताए ।
निश्चित व्यक्ति र समूहको स्वार्थका लागि अहिले संविधान संशोधन गर्न लागेको भन्दै सचिव भट्टराईले त्यसलाई एमालेले स्वीकार्न नसकिने बताए । एमालेको समर्थन विना संविधान संशोधनका लागि २ तिहाइ पुग्न नसक्ने बताउँदै उनले भने “यहाँ आवश्यकता अनुसार एमालेको समर्थन लिन पहल गर्नुपर्नेमा विदेशमा छलफल गर्नु आपत्तिजनक छ ।”
संविधानको बारेमा तराई मधेशमा भएको असन्तुष्टि केपी ओली नेतृत्वको सरकारकै पहलमा बुझाएपछि स्वीकारोक्ती हुँदै गएको बताए । नेपालले कुनै पनि छिमेकी र विदेशीको आन्तरिक मामिलामा पनि हस्ताक्षप नगर्ने र अरुको हस्तक्षप पनि सहन नसकिने स्पष्ट पारे ।
प्रेस चौतारी नेपाल दोलखा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख समेत रहेको सचिव भट्टराईले एमाले अहिले रचनात्मक प्रतिपक्ष भए तापनि निकट भविष्यकै सत्तारुढ रहेको दाबी गरे । वर्तमान सरकारले समयमा चुनाव गर्न नसकिने र वर्तमान गठबन्धनकै कारण एमाले चाँडै सत्तापक्ष बन्न लागेको बताए ।
सरकारले पुनःनिर्माण प्राधिकरणमा आँखा नलगाउन आग्रह गरे । पुनर्निर्माण प्राधिकरणको प्रमुख फेर्ने लगायतका काम गरे गञ्जागोल हुने र एमाले पनि चुप लागेर नबस्ने बताए । उनले माओवादी लडाकुले २० अर्व लगेको विषयमा छानविन हुनुपर्नेमा जोड दिए ।
“राज्यको ढुकुटीबाट २० अर्ब लिएर पहिलो संविधान सभा निर्वाचनमा एमालेकै ढाड भाँचिएको छ” उनले भने “एकै व्यक्तिले बुझेको हिसावको बारेमा निष्पक्ष छानविन र आधिकारिक लेखापरीक्षण गरी प्रतिवेदन सार्वजनिक हुनुपर्छ ।” उनले लडाकुको रकम हिनामिना राजनैतिक भ्रष्टाचारको संज्ञा दिए ।
सचिव भट्टराईले अघिल्लो सरकारले तय गरेको मंसिरदेखि गर्ने भनिएको निर्वाचनको कार्यतालिका वर्तमान सरकारले वास्ता नगरेको आरोप लगाए । तल्लो तहमा एमालेको राम्रो जनमत भएकाले पनि काँग्रेस र माओवादीले चुनाव गराउन नचाहेको आरोप लगाए । उनले स्थानीय तहको सीमांकन र संख्या असोज भित्रै टुङ्गो लगाउनुपर्ने बताए ।
एमालेले अब चुनाव र बहुमतका लागि अर्जुनदृष्टि लगाउने बताए । आगामी केन्द्रीय कमिटी बैठकबाट स्थानीय तहमा २ तिहाइ, प्रदेश र केन्द्रीय तहको निर्वाचनमा बहुमत हाँसिल गर्ने गरी कार्यक्रम बनाउन लागेको बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।