‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’ को माग सहित प्रधानमन्त्रीलाई नयाँ शक्तिको ज्ञापनपत्र

 आवाज संवाददाता     २ आश्विन २०७३, आईतवार

नयाँ शक्ति पार्टी नेपालले जनताका दैनिक जीवनसँग सम्बन्धित समस्या समाधान गर्न तथा विभिन्न क्षेत्र, पक्ष, समुदायहरुबाट उठेका हक, अधिकारसम्बन्धी जायज माग तुरुन्त सम्बोधन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

नयाँ शक्ति नेपाल दोलखाका संयोजक रविन्द्र कार्की नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी पुष्पराज शाही मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । प्रजिअ शाहीले नयाँ शक्तिको ज्ञापन पत्र तत्कालै प्रधानमन्त्री कार्यालयमा पठाउने बताए ।

पार्टीको केन्द्रीय कार्यालय बबरमहलबाट सह-संयोजक रामचन्द्र झा तथा दुर्गा सोबको नेतृत्वमा गएको टोलीले कार्यबाहक प्रधानमन्त्री एवं उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीलाई ज्ञापन पत्र बुझाएको हो ।

naya-shaki-nepal-1

ज्ञापनपत्रमा मधेसी, जनजाति, थारु आदि समुदायको असन्तुष्टिलाई संविधानले सम्बोधन गर्न नसकेको जनाउँदै ती सबै समुदायको जायज मागको सम्बोधन गरी संविधान कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने नयाँ शक्तिले जनाएको छ ।

देशको जल्दोबल्दो समस्याहरुलाई राजनीतिक पक्ष, आर्थिक सामाजिक पक्ष, भूकम्प पीडितलाई राहत तथा पुननिर्माण-नवनिर्माण, विकास–निर्माणतर्फ, राष्ट्रियता सम्बन्धमा, शान्ति प्रक्रियासँग सम्बन्धित र समसामयिक सवालहरु अन्तर्गत राखेर विस्तृत ज्ञापनपत्र बुझाएको हो ।

naya-shakti-nepal-2

नयाँ शक्तिलेआन्दोलनरत दलहरुको माग सम्बोधन गर्न एक सर्वपक्षीय राजनीतिक संयन्त्र तत्काल गठन गर्न माग गरेको छ । त्यसैगरी, २०७४ साल माघ ७ गतेभन्दा अगावै स्थानीय तह, प्रादेशिक व्यवस्थापिका र संघीय संसदको चुनाव सम्पन्न गर्न सरकारको तर्फबाट गम्भीरता र कार्यतत्परता देखाउनुपर्ने माग गरिएको छ ।

 

प्रत्यक्ष निर्वाचित कार्यकारीको माग

ज्ञापनपत्रमा संविधान संशोधनमार्फत पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न, पहिचानका पाँच र सामार्थ्यका चार साथै समानुपातिक र समावेशीताका आधारमा स्थानीय तहको पुन:संरचना गर्नसमेत माग गरिएको छ ।

आर्थिक विकास र समृद्धिका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन ठोस कार्ययोजना निर्माण गरी काम गर्न सरकारसँग माग गरेको छ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र राष्ट्रिय गौरबका आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउनसमेत माग गरेको छ ।

naya-shakti-nepal-2

सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित बनाउँदै बजारमा व्याप्त कालोबजारी र महंगी नियन्त्रण गर्न देशभर स्पेशल टाक्स फोर्स ‘एसटीएफ’ बनाउन र महिला, दलित, बालबालिका, यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि भइरहेको हिंसा मानवअकिारविरुद्धको गम्भीर अपराध भएकोले तत्काल यसको अन्त्य गर्न कठोर कदम चाल्न नयाँ शक्तिको माग छ ।

यसैबीच, नयाँ शक्ति नेपाल, काठमाडौंले पनि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउनुअघि अनामनगरमा आयोजित कोण सभालाई सम्बोधन गर्दै संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले जनताका दैनिकीसँग सम्बन्धित आफ्ना मागहरुलाई तुरुन्त पूरा नगरे आफूहरु अझ सशक्त आन्दोलनमा उत्रिने बताए । देशका ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको नयाँ शक्ति नेपालले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।