नयाँ शक्ति नेपालको प्रस्तावः दोलखामा ३ नगरपालिका र ३ गाउँपालिका

 आवाज संवाददाता     ३ आश्विन २०७३, सोमबार

नयाँ शक्ति नेपाल दोलखाले स्थानीय तह पुनः संरचना आयोगसमक्ष दोलखालाई ३ नगरपालिका र ३ गाउँ पालिका बनाउन सुझाव पेश गरेको छ । आयोगले ७ वटा पालिका बनाउन दिएको म्याण्डेट अनुसार स्थानीय तह पुनः संरचना प्राविधिक समितिमा दलहरुको सिमाङ्कनमा सर्वसम्मत नभएपछि नयाँ शक्तिले ६ वटा बनाउन प्रस्ताव गरेको हो ।naya shaktin

नयाँ शक्तिले विद्यमान २ नगरपालिका र ४८ गाविसलाई ६ वटा पालिकाको ५८ वटा वडा समेत विभाजन गरी नक्सा सहित स्थानीय तह प्राविधिक समिति दोलखालाई सोमबार सुझाव पेश गरेको नयाँ शक्ति नेपाल दोलखा संयोजक रविन्द्र कार्कीले जानकारी दिए । प्राकृतिक स्रोतको बाँडफाँड, प्रशासनिक सहजता, आर्थिक विकास, भविष्यको कृषि, पर्यटनका संभावना समेतलाई विश्लेषण गरेर ६ वटा उपयुक्त हुने देखिएको उनले बताए ।
स्थानीय निकाय पुनः संरचना आयोगले अधिकतम ७ वटा पालिका बनाउन दोलखालाई अनुमति दिए तापनि यस अघि दलहरुको अधिकतम सहमतिका आधारमा ९ वटा प्रस्ताव गरेको थियो । ६ वटा पालिका बनाउँदा तामाकोसीको स्रोतमा सबैको पहुँच पुग्ने, हरेक गाउँ पालिका÷नगरपालिकामा जलविद्युतको संभावित खोला र नदी, पर्यटकीय स्थल खानी समेत हुने गरी उपयुक्त हुने संयोजक कार्कीले बताए ।
त्यसैगरी नेकपा मालेले पनि ७ वटाको नक्सा सहित पेश गरेको छ । मालेका जिल्ला संयोजक बद्रीकुमार चौलागाईले आइतबारको बैठकमै नक्सा सहित प्रस्ताव पेश गरेका थिए । male
९ वटालाई आयोगले अस्वीकार गरेपछि पुनः दलका प्रतिनिधिहरु सहित प्राविधिक समितिले आइतबार साँझसम्म छलफल गरेको थियो । मत मिल्न नसकेपछि दलहरुको सुझाव सहित प्राविधिक समितिले छुट्टै प्रतिवेदन पेश गर्ने गरी तयारी गरिरहेको स्थानीय विकास अधिकारी तथा प्राविधिक समितिका संयोजक विष्णुप्रसाद शर्माले जानकारी दिए । दलहरुको सहमति नजिक पुगेको ९ वटालाई पनि प्राविधिक समितिले विकल्पको रुपमा पेश गर्ने तयारी गरेको छ । तर ९ वटामा सिंगटी क्षेत्र, लाँकुरीडाँडाबासीले विरोध गरेका छन् ।
(नोटः यहाँ यस अघि नेपाली काँग्रेसको प्रस्ताव प्रस्तुत गरिएको थियो । अन्य दलको प्रस्ताव पनि क्रमशः प्रकाशित गर्दै जाने छौं । स.)

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।