जुँगू चिहारीडाँडामा चट्याङ पर्दा मलामी गएका एकको ज्यान गयो, ११ जना घाइते

 आवाज संवाददाता     ४ आश्विन २०७३, मंगलवार

दोलखाको जुँगू गाविस वडा नं. ६ चिहारीडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने, एक गम्भिर सहित १० जना घाइते भएको छ । जुँगू २ का अमरबहादुर जिरेलको कालगतिले मृत्यु भएपछि दाहसंस्कारका लागि गएका बेला चट्याङमा मलामीहरु परेका छन् । चट्याङ लागेर गाविस वडा नं। ३ का करिब ३३ वर्षिय मान बहादुर कार्की (भाइकाजी)को घटनास्थलमै मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शी गोविन्द पौडेलले जानकारी दिए । उनका अनुसार जस्तापाताको छानामा बसिरहेका कार्कीको टाउको र जिउ जलेको अवस्था रहेको छ ।
स्थानीयका अनुसार चट्याङ दिउँसो करिब २ बजे परेको थियो । चट्याङ लागि जुँगु गाविस वडा नं. १ का तुलबहादुर जिरेलको अवस्था गम्भिर रहेको छ भने, अन्य गणेश जिरेल, पदम जिरेल, टिका केसी, सोमबहादुर बस्नेत, बद्री खड्का, रामकुमार जिरेल, दिलमाया जिरेल, जुनकिरी जिरेल, अमृत लामा र कुमार जिरेल घाइते भएक छन् ।
घाइतेहरुको घटनास्थल छेउमै रहेको जुँगु स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार समेत गर्ने सामग्रीहरु नभएपछि घाइतेहरुलाई उपचारको लागि सदरमुकाम चरिकोट तर्फ ल्याइँदै गरेको स्थानीयहरुले जनाएका छन् । घटनास्थलतर्फ मैनापोखरीबाट प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF