“औद्योगिक विकास र रोजगारी सिर्जनामा बजेट केन्द्रित हुनुपर्छ”

 आवाज संवाददाता     ८ असार २०७३, बुधबार
सुन्दर कार्की
अध्यक्ष, दोलखा उद्योग वाणिज्य संघ

अध्यक्ष निर्वाचित भएपछि अहिले के गर्दै हुनुहुन्छ ?
निर्वाचित भएको धेरै समय भएको छैन । सदस्यहरुबाट पदाधिकारी चयन हुन पनि बाँकी छ । तर सबैलाई मिलाएर पदाधिकारी सर्वसम्मत बनाउने पहलमा छु । स्थानीय निकाय र निजी क्षेत्रका सरोकारवाला निकायहरुसँगको समन्वय पनि भइरहेको छ । संघका नियमित गतिविधि भइरहेका छन् ।

केही असन्तुष्ट सदस्यहरुले अझैं सपथ लिएका छैनन् कसरी उनीहरुलाई समाबेश गराएर काम गर्नु हुन्छ ?
निर्वाचनमा प्यानलगत रुपमा निर्वाचन भयो । केही साथीहरु सपथ लिन बाँकी हुनुहुन्छ । वहाँहरु पनि केही दिनमै सपथ लिने तयारी छ । अब निर्वाचित सदस्यहरु सबैलाई मिलाएर सर्वसम्मत पदाधिकारी चयन गरी व्यवसायिक हितका लागि अब मिलेर काम सुरु हुन्छ । हाम्रा केही असन्तुष्टी निर्वाचन सकिएपछि सबै सकिए । अब जिम्मेवारी अनुसारको काम हुन्छ ।

संघमा अहिले तपाईले पहिचान गर्नु भएको समस्या के के हुन् ?
मुख्य त हाम्रो सचिवालय भवन नै भुकम्पले क्षतिग्रस्त छ । त्यसको स्रोत जुटाएर पुर्ननिर्माण गर्ने र सचिवालय व्यवस्थित गर्ने । आर्थिक स्रोत कमजोर छ त्यसलाई भरपर्दो बनाउनु, शाखाको भवन छैनन तिनको भवन बनाएर सचिवालय व्यवस्थित बनाउनु पर्ने । संघका नियमित गतिविधि झल्काउने संयन्त्र छैन त्यसका लागि नियमित बुलेटिन प्रकाशन गर्ने । तिब्र आर्थिक विकासका लागि स्थानीय व्यवसायीहरुलाई संलग्न गराउन सकिएको छैन । प्यान भ्याटका कारण व्यवसायीहरु हैरान छन् । यसलाई सदस्यता हेल्प डेल्प डेक्स सञ्चालन गर्नुपर्छ ।

तपाई अध्यक्ष हुनु भयो, चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न के के गर्नु हुन्छ ?
बजार क्षेत्रमा पुगेर व्यवसायीहरुसँग छलफल गरी वास्तविक समस्या पहिचान गरी ति समस्या समाधानका लागि आवश्यक पहल सुरु गरेको छु । बजार व्यवस्थापनका लागि स्थानीय निकायहरु जिविस, नगरपालिकासँग छलफल सुरु भएको छ । बैंक वित्तीय संस्थाहरुसँग लगानी सहजीकरणका लागि छलफल भएको छ । भुकम्पबाट क्षतिग्रष्त व्यवसायको बीमा भुक्तानी लिन व्यवसायीहरुको बीमा रकम भुक्तानीका लागि आवश्यक पहल सुरु भएको छ ।

दोलखाको आर्थिक विकासका लागि प्राथमिकता केके हुन् ?
खरिढुङ्गामा रहेको बन्द म्याग्ने साइड खानी लामो समयदेखि बन्द छ । त्यो उद्योग एसियाकै दोस्रो ठूलो खानी हो यसको सञ्चालन गर्न सके मुलुकको आर्थिक संवृद्धि र हजारौंलाई रोजगारी सिर्जना गर्न सक्छ । यस्ता बन्द उद्योग पुर्न संचालन गर्नुपर्छ । पहिलो फिल्म सिटी लाँकुरीडाँडामा बन्ने गरी धेरै प्रक्रिया अघि बढेको छ । यो हाम्रो नेपाल उद्योग वाणिज्य संघलले नै प्रस्ताव गरेको हो । यसलाई सफल बनाउनु छ । सबैभन्दा छोटो उत्तर दक्षिण राजमार्ग भारतको सितामढी र चीनको ढिङ्ग्री जोड्ने राजमार्ग लामाबगरदेखि लप्चीसम्म ट्रयाक खोल्न बाँकी छ । यसलाई राष्ट्रिय प्राथमिकताको आयोजनाको रुपमा राख्न नेपाल सरकारलाई अनुरोध गरेका छौं । यो नाका खुलेमा व्यवसायीक विकास पनि हुने र मुलुकको पूर्वाधार विकास पनि हुन्छ । करिब १३ किलोमिटर सडक निर्माण गर्दा तिब्बतको सिमाना पुगिने भएकाले उत्तर जोड्ने छोटो मार्ग यही हुन्छ । यति सडक खुल्दा ऊर्जा संकट झेलि रहेको मुलुकमा थप ३ सय मेगावाटभन्दा बढी पाइपलाइनका जलविद्युत आयोजना तत्काल निर्माण सुरु हुन्छन् ।
तामाकोसी तेस्रो, तामाकोसी पाँचौं लगायतका जलविद्युत आयोजना तत्काल निर्माण सुरु गर्नुपर्छ । दोलखाली उद्यमी व्यवसायीहरुकै नेतृत्वमा कुनै एक जलविद्युत आयोजना निर्माण गर्ने योजना पनि छ । स्थानीय कच्चा पदार्थ प्रयोग गरी जिल्लालाई उद्योग मैत्री वातावरण निर्माण गर्ने ।
अधिकाँश किसानहरु निर्वाहमुखी खेतीमा छन् । त्यसलाई व्यवसायीक बनाई कृषि उद्यमको विकास गरी रोजगारी सिर्जना गर्ने । एक जिल्ला एक उत्पादन कार्यक्रम अन्र्तगत कृषि पर्यटनको विकास गर्ने ।

रकारको बजेट आउँदैछ, कस्ता योजनाहरु प्राथमिकता हुनुपर्छ जस्तो लाग्छ ?
मुलुक अहिले आयतमुखी छ । अब निर्यातमुखी हुने गरी बजेट आउँनु पर्छ । अब सरकारको बजेट ठूला पूर्वाधार विकास, औद्योगिक विकास, जलविद्युत आयोजनाको तिब्र विकास र पर्यटन विकास गरी रोजगारी सिर्जना गर्ने किसिमको योजनामा बजेट केन्द्रीत हुनुपर्छ । दोलखाको सन्दर्भमा बजेटले लामाबगर–लप्ची सडकमार्ग, माथिल्लो तामाकोसीलाई चाँडै पूरा गरी तामाकोसी तेस्रो र तामाकोसी पाँचौं जस्ता जलविद्युत आयोजना सुरु गर्नु पर्छ ।
पर्यटन विकासका लागि प्रस्तावित फिल्म सिटीलाई प्रयाप्त बजेट व्यवस्था गरी आयोजनालाई गति दिनु पर्छ । जिरी विमानस्थल पुर्न सञ्चालन, रोल्वालिङमा हिम आरोहीहरुका लागि तालिम केन्द्र सञ्चालन गर्नु पर्छ । कृषि र वन पैदावार जन्य उद्योग सञ्चालनमा प्राथमिकता दिनुपर्छ ।

धेरै युवाहरु अहिले पनि बैदेशिक रोजगारीमा छन् उनीहरुलाई स्थानीयस्तरमै रोजगारीको ग्यारेण्टी गर्ने योजना के छ ?
वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएका रेमिटेन्स उपयोग गर्ने गरी उद्योग स्थापना गर्ने र वैदेशिक रोजगारीमा गएर विदेशमा सिकेका सीपहरुलाई उपयोग गरी उद्यमम स्थापना गर्न पहल गर्ने र युवाहरुलाई बैदेशिक रोजगारीमा निरुत्साहित गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गराउने योजना छ ।

तपाईको व्यवसायीक हितका लागि थप योजना केके छन् ?
बर्दिबासदेखि खुर्कोसम्मको वीपी राजमार्ग खुलेको छ । यसले सबैलाई खुशीयाली छाएको छ । यो बाटो खुल्दा सबैभन्दा बढी खुशी व्यवसायीहरु र उपभोक्ता थिए । विडम्बना उक्त सडकमा ठूला मालबहाक सवारी साधन सञ्चालनमा रोक लगाउँदा त्यसको मार व्यवसायी र आम उपभोक्ताले भोग्नु परेको छ । त्यसले अहिले पनि बर्दिबास हुँदै सामान ल्याउँदा एक बोरा सिमेन्ट ल्याउँदा ५० रुपैंया सस्तो पथ्र्यो । त्यसको कारण दैनिक ढुवानीमा मात्र लाखौं खर्च भइरहेको छ । त्यो लाखौं बचत गरी उपभोक्ता, आयोजनाहरु र व्यवसायीलाई फाइदा पु¥याउन उक्त सडकबाट ठूला मालबाहाक सवारी सञ्चालनमा दोलखा, रामेछाप र सिन्धुली उद्योग वाणिज्य संघसँग सहकार्य गरिरहेका छौं ।
भुकम्पले क्षतिग्रस्त १४ जिल्लाको उद्योग व्यवसाय पुर्नस्थापनाका लागि व्यवसायिक पुर्नस्थापना प्राधिकरण स्थापनाका लागि सम्बन्धित निकायमा पहल गर्ने । सदस्यहरुको स्वास्थ्य उपचार सजिलो बनाउन सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालन गर्ने । व्यवसाय बीमाका लागि संघले विशेष पहल गर्ने ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF