‘ शिक्षकले राजनीति गर्नुहुँदैन भन्ने मान्यतामा म छैन ‘ -जिशिअ लोप्चन

 आवाज संवाददाता     ८ असार २०७३, बुधबार

दोलखा जिल्लामा भैरहेका विकास गतिविधिहरुप्रति जनताले जिज्ञासा राखिरहेका हुन्छन् । उनीहरुलाई ती विकास गतिविधिहरु कहाँकहाँ, केकसरी भैरहेका छन् भन्ने उत्सुकता हुनु स्वाभाविक पनि हो । त्यसैगरी दोलखा जिल्लामा भएका सरकारी तथा गैरसरकारी कार्यालयहरुले सम्पादन गर्ने कामहरुमा समेत उनीहरुको चासो रहेको हुन्छ । त्यस्ता जिज्ञासा र चासो मेटाउन तथा समसामयिक घटनाक्रमका बारेमा जनताको जिज्ञासा शान्त पार्ने उद्देश्यले जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरुसँगको कुराकानी प्रस्तुत गर्ने गरेका छौँ ।

प्रस्तुत छ – दोलखा जिल्लाको शैक्षिक सुधारको अभीष्टले अनवरत खटिरहने जिल्ला शिक्षा कार्यालय दोलखाका जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनसँग दोलखाको शैक्षिक अवस्थाको बारेमा गरिएको कुराकानी –

जिल्ला शिक्षा अधिकारीको रुपमा दोलखा जिल्लामा कार्यरत हुनुहुन्छ । समग्र शिक्षा क्षेत्रमा तपाईँको योजना के छ ?

मैले शिक्षा क्षेत्रमा धेरै वर्ष काम गरेँ । १६ वर्ष शिक्षण पेशामा संलग्न रहेको र त्यसपछि २०६६ साल यता शिक्षा सेवाको निजामती सेवामा उपसचिव र अधिकृत एउटैमा रहेर काम गरेको छु ।

शैक्षिक सुधारको प्रसङ्गमा मैले पाँचथर जिल्ला शिक्षा कार्यालयबाट नै सिकाइ उपलब्धी बृद्धिको प्रतिवद्धता घोषण गरेर शुरु गरेँ, त्यहाँ सुरु गरेर ओखलढुङ्गामा त्यसको प्रयोग र परीक्षण सफल भयो ।

दोलखामा पनि सिकाइ उपलब्धिलाई मैले निरन्तरता दिएको छु, यहाँ पनि हामी शैक्षिक गुणस्तरमा सुधार अभियान, सिकाइ उपलब्धि बृद्धि अभियानलाई थाल्यौँ, त्यसको सुरुमा हामी दोलखा शैक्षिक सुधार गन्तव्य प्रारुप घोषणा ग¥यौँ र त्यसको स्रोतकेन्द्र मार्फत स्कुल, शिक्षक संघ र विद्यार्थीसम्म सिकाइ बृद्धिको योजना बनाउने र प्रत्येक वर्ष पाँच प्रतिशतले बढाउँदै जाने भनेर हामी अगाढि बढेका छौँ ।

तपाईँले दोलखाको २ वर्ष बसाइको अवधिमा के उपलब्धि देख्नुभएको छ ?

स्कुलहरुको सिकाइ उपलब्धि मूल्याङ्कनले अहिले ५ प्रतिशत सिकाइ उपलब्धि बढेको देखाएको छ । केही स्कुलहरु नमुना बनिसकेको अवस्था छ, उदाहरणका लागि चनौटे निमावि चनौटे र भीम उमाविले राम्रो काम गरेको छ त्यसैगरी २७ वटा विद्यालय नमुना घोषित भएर सिकाइ उपलब्धि बृद्धि गर्ने योजना र कदमहरु चालिरहेका छन् । समग्रमा जिल्ला व्यापी रुपमा सिकाइ उपलब्धि वृद्धि गर्नुपर्छ प्रत्येक शिक्षकलाई उपचाराङ्क शिक्षा गर्नुपर्छ ।

नमुना अभियानवाट विद्यालयमा फरक ढङ्गले जानुपर्छ सिकाइ उपलब्धि बृद्धिको लागि त्यो विद्यालयको मुहार फेरिनुपर्छ र त्यसले नतिजा दिनुपर्छ भन्ने हिसावले हामी अघि बढिरहेका छौँ ।

सामुदायिक विद्यालयको दाँजोमा निजी विद्यालयको नतिजा किन राम्रो आउँछ ?

गुणस्तर मापन गर्ने मापदण्ड फरक हुन्छ एउटा कुरा त निजीले ल्याउने नतिजा अङ्कमा गणिने गरिन्छ, सरकारी स्कुलहरुमा अङ्कमा कम भए पनि उसले जीवनका सीपहरु ज्ञानहरुमा सामुदायिक विद्यालयहरु अगाडि छन् । बढी सिकेको अवस्था हो त्यसैले परीक्षाको आधारमा र नतिजाकै आधारमा हेर्दा निजी अगाडि देखिन्छ नै ।

राजनितिक दलको भागमा राखेर राम्रा काम गरेका शिक्षकहरु भनेर कांग्रेस, एमाले र माओवादीको भागमा यति भनेर भागबण्डामा पुरष्कृत गरिन्छ, त्यसलाई तपाईँ कसरी लिनुहुन्छ ।

त्यो विगतको ट्रेन होला, तर यो वर्षको प्राक्टिस के हो भने उहाँहरुको नतिजा कति छ, स्रोत केन्द्र र प्रधानाध्यापकहरुको मिटिङबाट पास गरेर कस्को सिकाइ उपलब्धि बढी छ, उहाँहरुले नै निर्णय गरेर पठाउने र त्यो आधारमा प्रत्येक स्रोत केन्द्रका उत्कृष्ठ विषय शिक्षकहरुलाई हामीले पुरष्कृत गर्ने गरेका छौँ । विगतमा चाहिँ त्यस्तो राष्ट्रिय पुरष्कार दिँदा चाहिँ भागबण्डा लाउने चलन थियो त्यो गलत कुरा हो र त्यसले नतिजा सुधार, शैक्षिक सुधार गुणस्तर सुधारको कुरा हुँदैन ।

यो हामीले पनि तपाईँसँग अपेक्षा गर्ने विषय हो । हिजोको दिनमा जो स्कुल नगई शिक्षा कार्यालय वरिपरि बस्छन्, तपाईँका आरपी हुन् या शिक्षक, त्यस्ता व्यक्ति पुरष्कृत भएको त हो नि  १

हिजो त्यस्तो थियोे होला । तर हामीले त्यसलाई ब्रेक ग¥यौँ जस्तो लाग्छ । अव राजनितिक विचार हुँदैन भन्ने पनि होइन । राजनिति शिक्षकले गर्नुहुँदैन भन्ने मान्यतामा म छैन । आफ्नो स्कुल बनाउन, विकास गर्न शिक्षाको विकास गर्नको लागि राजनिति चाहिने हो तर अहिले आफ्नो मूल पेशा छोडेर पेशालाई लत्याउँदै राजनिति गर्नु चाहिँ त्यो शैक्षिक अपराध हो र मैले यहाँ पनि केही कदम चालेँ । त्यसको केही स्टेपहरु अगाडि बढेको अवस्था थियो । अहिले चाहिँ स्थगित भएको अवस्था छ ।

शिक्षकले केके गर्न पाइन्छ भन्ने कुरा आचारसंहिता र ऐनमा उल्लेख छ । शिक्षक आफैँ पार्टीको जिल्ला कमिटीमा बस्ने र गाउँमा त पार्टी सभापति नै बनेको रेकर्ड छ । त्यो हिसाबले विभाग र मन्त्रालयले दिएको निर्देशन हामीले कार्यान्वयन गर्ने कि नगर्ने, त्यो तपाईँको जिम्मेवारीभित्र पर्छ कि पर्दैन ?

त्यो कार्यान्वयन जिम्मेवारीमा पर्छ । हामीले सक्नेसम्म हामी.गर्छाैँ । अराजक हुने स्थिति हामी गर्न दिँदैनाँै, मेरो आफ्नो सन्दर्भ भन्ने हो भने यहाँ पनि मैले चालेर कति चाहिँ सहकारीमा काम गरेकाले राजीनामा दिएको अवस्था छ । कोही देखिएको छैन, एक चोटि अख्तियारको फारम भर्न सम्म हामी पुगेका थियौँ । त्यसपछि ठुलै विवाद भईसकेपछि त्यो अभियान बीचमा रोकेर हामी गुणस्तरतिर डाइभर्ट भयौँ । गुणस्तरमा सम्झौता हुन सक्दैन भन्नेमा पेसागत रुपमा सहमति भएको छ ।

साक्षर दोलखा जिल्ला घोषण गर्ने लक्ष्य तपाईँको कहाँ पुग्यो ? यसको विषयमा थप प्रष्ट पार्दिनुस् न ।

यो नेपाल र नेपालीहरुको लागि सानको कुरा पनि हो र स्वाभिमानको कुरा पनि हो । कुनै पनि व्यक्तिले अशिक्षाबाट टाढा हुनुपर्छ र राष्ट्रले त्यो ज्ञारेन्टी दिनुपर्छ भन्ने दायित्वलाई २०६५ सालबाट सुरु भएको यो अभियान २०७२ सालमा सकिएको छ र पूरै नेपाललाई घोषणा गर्ने अभियान थियो  । हाम्रो डाटाअनुसार चाहिँ साक्षर भैसकेको अवस्थामा पूर्ण साक्षर जिल्ला घोषणा गर्न सकिन्छ र हाम्रो कार्यक्रम पनि निरन्तर छ ।

पूर्ण साक्षर भन्छौँ तर कार्यक्रममा सहभागीले चाहिँ ल्याप्चे लगाउँछन् भन्ने कुरा आउँछ । त्यो चाहिँ के हो त ?

त्यो ल्याप्चे चाहिँ कस्तो हुन सक्छ भन्दा हाम्रो चाहिँ अहिले १५÷६० उमेर समूहको लाई मात्रै पूर्ण साक्षर कार्यक्रम हो । १५÷६० भन्दा माथिको र तलको पाँच प्रतिशतलाई चाहिँ पूर्ण साक्षर घोषणा भइसकेपछि पनि पूर्ण साक्षर बनाउँछौँ भनेर घोषणा गर्ने हो ।

त्यसो भए यो अभियान चाहिँ कहिलेसम्म चल्छ ?

यो चाहिँ हाम्रो एक वर्षभित्र अर्थात यही असार १० गते दोलखालाई पूर्ण साक्षर जिल्लाको रुपमा घोषणा गछौँ र घोषणा भईसकेपछि बाँकी रहेको भन्नाले १५÷६० को मूल ट्रान्जिट ग्रुप भए जुन बाँकी रहेको हामी डाटा पनि लिँदैछौँ । त्यो स्कुलले सञ्चालन गर्ने अभियान छ । बाँकी रहेकालाई चाहिँ १५÷७० अथावा ८० जति छन् ल्याप्चे लगाउने त्यसलाई पनि समाजको दायित्व हो ।

अन्त्यमा दोलखाको सामुदायिक विद्यालयहरुमा पुस्तक पहुँचकको अवस्था कस्तो छ ?

पुस्तकहरु हामीले अनुगमन गरेका छौँ । संयुक्त पुस्तक बिक्री डिपो छ, डिपोमा हेर्दा सवै स्कुलहरुले पुस्तक लगेको देखिन्छ । केही ऐच्छिक विषयहरु र कक्षा ९ र १० को कोर्ष फेरिएको विषयहरु १५ दिन अगाडिसम्म केही अपुग थियो र अहिले त्यस सम्बन्धी जिल्ला शिक्षामा केही गुनासो नआएकोले किताव अभाव दोलखामा अझै छ भनेर भन्न सकिन्न ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।