इलाकाहरुलाई नै स्थानीय निकाय बनाउन प्रमुख तीन दल सहमत, यसअनुसार दाेलखामा ११ पालिका हुने
आवाज संवाददाता ९ आश्विन २०७३, आईतवार
९ असोज, काठमाडौं । प्रमुख तीन दल हाल कायम रहेको इलाकाहरुलाई स्थानीय निकाय बनाउन सहमत भएका छन् । यस अनुसार स्थानीय तहको संख्या ९२७ हुनेछ ।
स्थानीय तहबारे साझा धारणा बनाउन प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एमाले र माओवादी नेताहरुको बैठक बोलाएका थिए । बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले जिल्लाहरुमा रहेको इलाकालाई नै स्थानीय तह बनाउन प्रस्ताव गरे । जसमा कांग्रेस र एमाले नेताहरुले सहमति जनाएका छन् ।
स्थानीय निकाय पुनर्संरचनासम्वन्धी आयोगले ५६५ स्थानीय तहको प्रस्ताव गरेको छ । तर, कांग्रेस, माओवादीसहितका दलले यो संख्या कम भयो भन्दै आएका थिए ।
तीन दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रमुख दलहरुले साझा धारणा बनाएर सुझाव दिँदा आयोगलाई पनि सहज हुने र सरकारले पनि संविधान अनुसार टीओआरमा संशोधन गरेर आवश्यक निर्देशन दिने बताए ।
प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने, ‘स्थानीय तह पूनर्संरचना आयोगको काम प्रभावित नहुने गरी विगतका इलाकीय संरचनालाई आधार मानेर स्थानीय तहको संख्या र सीमा निर्धारण गर्ने सैद्धान्तिक सहमति भएको छ । अब सरकारले दलीय सहमति अनुसार आयोगलाई थप निर्देशित गरेर स्थानीय तहको काम टुंगाउनेछ ।’
इलाकालाई नै पालिका बनाउने हो भने दोलखामा ११ वटा पालिका हुने भएको छ। यस अनुसार दोलखामा निम्नानुसारका पालिका हुने भएको छन् ।
दाेलखामा हाल कायम रहेका इलाकाहरु
१ गौरीशंकर, खारे, मार्वु, चंखु र सुरी
२ झ्याँकु, जुँगु, क्षेत्रपा, नाम्दु र काब्रे
३ जिरी, माली, श्यामा र ठूलोपातल
४ गैरीमुदी, मिर्गे, भिरकोट र झूले
५ हाँवा, च्यामा, मालु, शहरे र जफे
६ डाँडाखर्क, मेलुङ, भेडपु, घ्याङसुकाठोकर र पवटी
७ फस्कु, मागापौवा, शैलुङ्केश्वर, काटाकुटी, ताम्चेत र भूषाफेदा
८ लाँकुरीडाँडा, बोच र भिनपाका वडा १ र ५ देखि १३ सम्म
९ सुष्पाक्षमावती, शुन्द्रावती, सुनखानी र भीनपाका वडा २, ३ र ४
१० लापीलाङ, लामीडाँडा, वावरे, खोपाचागु, विगु र कालिञ्चोक
११ आलम्पु, चिलंखा, लादुक, बुलुङ, ओराङ र लामावगर
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।