धादिङको मार्पाकमा बस दुर्घटना, ठूलो संख्यामा हताहतीको आशंका

 आवाज संवाददाता     ११ आश्विन २०७३, मंगलवार

धादिङ, ११ असोज । उत्तरी धादिङको मार्पाक गाउँ विकास समिति वडा नं. ५ जिरो किलो भन्ने स्थानमा केही बेरअघि बस दुर्घटनामा परेको छ ।

धादिङबेसीबाट किन्ताङफेदीतर्फ जाँदै गरेको संयुक्त यातायातको ना ४ ख ३३१८ नम्बरको बस स्थानीय ‘लपाङ चौतारा’ नजिकैबाट करिब २ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा १० जनाको शव फेला परिसकेको स्थानीयले जानकारी दिएपनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी नै छ ।

घटनास्थलमा केही शवहरु देखिएको र घइतेहरुबीच रुवाबासी चलेको स्थानीय राजेन्द्र पन्तले जानकारी दिए । प्रहरी घटनास्थलमा पुगेको छैन ।

बस भिरबाट तलै पुगेकाले ठूलै संख्यामा हताहती भएको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे बिस्तृत जानकारी आउन बाँकी नै छ ।

यता जिल्ला प्रहरी कार्यालय धादिङले भने दुर्घटना भएको भन्ने खबर प्राप्त भए पनि थप जानकारी आउन बाँकी नै रहेको बतायो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।