विवादपछि चरिकोट अस्पतालमा स्वास्थ्यसेवा बन्द

 आवाज संवाददाता     १२ आश्विन २०७३, बुधबार

दोलखा, १२ असोज/उपचारका लागि लगिएका अढाई वर्षे बालकको मृत्युपछिको विवादका कारण प्रस्तावित चरिकोट अस्पतालले दिँदै आएको स्वास्थ्यसेवा बन्द गरेको छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आज एक विज्ञप्ति जारी गर्दै आकस्मिक बाहेकका सबै सेवाहरु बन्द भएको जनाएका छन् । गत शुक्रवार सो अस्पतालमा भीमेश्वर १० घर भएका अढाई वर्षीय बालक महादेव रिजाललाई पेट दुख्ने समस्या भएपछि उपचारका लागि लगिएकोमा उनको मृत्यु भएको थियो ।
मृतकका आफन्तले अस्पताल व्यवस्थापन पक्षसँग घटनाको बारे यथार्थ स्थिति माग गर्दै सबै स्वास्थ्कर्मीहरुलाई स्थानीय प्रशासनसमेतको रोहबरमा माफी माग्न लगाएपछि विवाद भएको हो । मृतकको आफन्तको दवावमा अस्पतालका सबै स्वास्थ्यकर्मी तथा व्यवस्थापकहरुले स्थानीय प्रशासन तथा सुरक्षाकर्मीसमेतका सामु माफी माग्न बाध्य बनाएका थिए । माफी माग्न बाध्य पारिएको भिडियो समेत सामाजिक सञ्चालमार्फत सार्वजनिक भएपछि स्वास्थ्यकर्मीहरु आक्रोसित भई स्वास्थ्य सेवा बन्द गरेका हुन् । भोलि बिहिवारदेखि आकस्मिक सेवासमेत बन्द गरिने स्रोतले बताएको छ ।
बालक रिजालको लापरबाहीका कारण मृत्यु भएको आफन्तहरुको आरोप छ भने लापरबाहीले मृत्यु नभएको दावी स्वास्थ्यकर्मीहरुको छ ।
अस्पतालले उक्त विषयमा आफुहरुको अपमान भएको तथा सुरक्षा प्रत्याभूति नभएको भन्दै आज एक विज्ञप्ति प्रकाशित गरी अस्पताल बन्द गरेको हो । उक्त विषयको छानविनको लागि जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेको संयोजकत्वमा एक समिति समेत गठन भएको थियो । तथापि त्यसको प्रतिवेदन सार्वजनिक हुन नपाउँदै अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गराएका हुन् ।
यही विषयलाई लिएर सरकारी चिकित्सक संघ नेपाल लगायतले प्रस्तावित चरिकोट अस्पतालमा भएको घटनाको भत्र्सना गर्दै चिकित्सकको सुरक्षाको माग गरेको छन् । जिल्लाका स्वास्थ्यसँग सम्बन्धित तथा कर्मचारीहरुसँग सम्बन्धित संघसंस्थाहरुले पनि विज्ञप्ति जारी गर्दै यो विवादलाई अगाडि चाँडो भन्दा चाँडो हल गर्न आग्रह गरेका छन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, दोलखा, नेपाल निजामती कर्मचारी युनियन संघ, दोलखा, नेपाल ट्रेड युनियन कांग्रेस, दोलखा, नेपाल स्वास्थ्यकर्मी युनियन, दोलखा, नेपाल निजामती कर्मचारी संगठन, दोलखा, पेशागत महासंघ नेपाल, दोलखा, नेपाल स्वास्थ्य प्राविधिक संघ, दोलखा, नेपाल राष्ट्रिय कर्मचारी संगठन, दोलखा, आधिकारिक ट्रेड युनियन, (निजामती) दोलखा लगायतले विज्ञप्ति प्रकाशित गरी चाँडो निकास निकाल्न र स्वास्थ्य सेवा पुःन सुरु गर्न आग्रह गरेका छन् ।
यही विषयको जानकारीका लागि जिल्लामा आएको सरकारी चिकित्सक संघको टोलीले स्वाथ्यकर्मीहरुको अपमान भएको भन्दै सबै चिकित्सकहरुलाई उक्त संस्थामा रहेर काम नगर्न आग्रह गरेका छन् । उनीहरुले ती स्वास्थ्यकर्मीहरुलाई काठमाडौँमा आएर घटनाका दोषीलाई कारबाहीको लागि आन्दोलन गर्न आग्रह गर्दै त्यसप्रति संघको ऐक्यबद्धता रहने जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।